अर्थ

अर्बौंका राष्ट्रिय गौरव सिँचाइ आयोजनामा ढिलासुस्ती

काठमाडौं- अर्बौं रुपैयाँमा निर्माण अघि बढेका राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न नहुँदा हजारौँ हेक्टर जमिनमा सिँचाइ हुन सकेको छैन। खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्‍याई कृषि उत्पादन बढाउन विभिन्न जिल्लामा निर्माण सुरु भएका ठूला सिँचाइ आयोजनामा लक्ष्य अनुसार काम नहुँदा किसान मर्कामा परेका हुन्।

सरकारले उच्च प्राथमिकतामा राखेर बबई, सिक्टा, रानी जमरा कुलरिया र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरव घोषणा गरे पनि ती योजना निर्माण सुस्त छन्।

३६ हजार हेक्टर सिँचाइका लागि आव ०४५/४६ मा बबई आयोजना सुरु भएको थियो, साढे दुई दशकसम्म २५ हजार हेक्टरमा मात्र सिँचाइ पुगेको छ।

आव ०७०/७१ मा निर्माण सक्ने लक्ष्यका साथ सिक्टा सिँचाइ आयोजना अघि बढे पनि लागत दोब्बर हुँदासम्म योजना पूरा भएको छैन। सो आयोजनाको लागत १२ अर्ब ८० करोड रुपैयाँबाट २५ अर्ब दुई करोड रुपैयाँ पुगिसकेको छ। यसको अहिलेसम्मको भौतिक निर्माण करिब ५० प्रतिशत छ।

यो बाँके जिल्लाका ३४ गाविस र नेपालगन्ज नगरपालिकाको ३५ हजार पाँच सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने योजना हो। निर्धारित समयमा काम पूरा नभएपछि पुनः आव ०७६/७७ मा सम्पन्न गर्ने लक्ष्यसहित सिक्टा योजनालाई अघि बढाइएको छ।

सरकारले यो आयोजनाका लागि चालू आवमा एक अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छ।

सिक्टामा अहिलेसम्म अगैयास्थित राप्ती नदीमा हेडवर्क्सको काम सकिएको छ। अगैयादेखि चटारसम्म ३५ किलोमिटर मूल नहर निर्माण गरिएको छ।

यो वर्ष मूल नहर निर्माण सम्पन्न गर्ने सिक्टा सिँचाइ आयोजना प्रमुख रमेश बस्नेतले बताए। 'अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको छ,' बस्नेतले भने, 'परियोजनाका लागि गर्नुपर्ने सबै कामको पूर्वतयारी सम्पन्न गरेकाले अब निर्माणले गति लिन्छ।' ढिलाइ हुनुमा ठेक्कापट्टाको प्रक्रियामा कमजोरी रहेको उनले बताए। 'बर्खामा काम गर्न कठिन हुन्छ,' उनले भने, 'कतिपय ठाउँमा ठेकेदारका कारण पनि ढिलाइ भएको छ।'

त्यसैगरी, बबई नदीमा बाँध बनाई बर्दिया जिल्लाको बबईपूर्व र पश्चिमतर्फ ३६ हजार हेक्टर सिँचाइ गर्ने योजना थियो। करिब सात अर्ब सात करोड रुपैयाँको यो योजना आगामी आव ०७४/७५ मा पूरा गर्ने लक्ष्य लिए पनि पश्चिम मूल नहर निर्माण विस्तार गर्ने, शाखा नहर निर्माण, बाढीबाट क्षतिग्रस्त संरचना निर्माण बाँकी छ। सो आयोजना आव ०४५/४६ मा सुरु भएको थियो। आयोजना निर्माण सुरु भएको साढे दुई दशक पूरा हुँदासम्म २५ हजार हेक्टरमा मात्र सिँचाइ छ।

कैलाली जिल्लामा करिब १२ अर्ब ६३ करोड रुपैयाँ लागतमा निर्माणाधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अवस्था पनि उस्तै छ। कैलालीका आठ गाविस र एक नगरपालिकाको ११ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने योजनासहित आव ०६६/७७ मा निर्माण सुरु भएको यो परियोजनाको अहिलेसम्म इन्टेक र मूल नहर निर्माणको ६७ प्रतिशत काम सम्पन्न भएको छ। आव ०७५/७६ मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना विश्व बैंक र सरकारको लगानीमा निर्माणाधीन छ। चालू आवमा एक अर्ब ४१ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको आयोजनामा मूल नहर हाइड्रोेपावर संरचनाको १२ प्रतिशत मात्र काम भएको छ।

पछिल्लो समय निर्माणले गति लिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख सुशील आचार्यले बताए। 'अहिलेसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ,' आचार्यले भने।

फिडर क्यानल निर्माण सम्पन्न भएर लेन क्यानल, इन्टेकमा ग्ोटको डिजाइन, हाइड्रोपावरको काम भइरहेको आचार्यले बताए।

चालू आवमा सम्पन्न गर्ने लक्ष्यसाथ सुरु भएको भेरी–बबई डाइभर्सन परियोजनाको पनि निर्माण समय लम्बिएको छ। सुर्खेत जिल्लाको लेखफर्सा र रामघाट गाविसमा बाँध बाँधेर भेरी नदीमा एक सय १४ मिटर लामो ब्यारेजसहित १२ किलोमिटर सुरुङ निर्माण गरी ४८ मेगावाटको विद्युत् निकाल्ने र बर्दिया, बाँके जिल्लामा करिब ६० हजार हेक्टर सिँचाइ गर्ने योजना हो। सरकारले यो आयोजनामा चालू आवमा ८६ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ।

सिँचाइ आयोजना निर्धारित समयमा सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरे पनि विभिन्न अवरोधका कारण विलम्ब भएको सिँचाइ विभागले जनाएको छ। 'गत वर्षको भूकम्प, नाकाबन्दीले पनि आयोजना प्रभावित भए,' सिँचाइ विभाग प्रवक्ता अशोक सिंहले भने, 'ठेकेदार, निर्माण सामग्रीका कारण पनि आयोजना प्रभावित छन्।'

प्रकाशित: २९ माघ २०७३ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App