अर्थ

अपार्टमेन्टले भुक्तान पाएनन् ४ अर्ब १० करोड बिमा दाबी

हरि लामिछाने

काठमाडौं—भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ। 

प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन्। काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्‍याएको थियो। 

बिमा समितिका अनुसार निर्जीवनतर्फ रु १६ अर्ब ८२ करोडको दाबी परेकामा रु १२ अर्ब ७२ करोड भुक्तानी भएको छ। यो सबै व्यक्तिगत दाबी हो। बहुतले (अपार्टमेन्ट) घरमा बस्दै आएका व्यक्तिले भने पाएका छैनन्। अझै रु चार अर्ब १० करोड भुक्तानी हुन बाँकी छ। 

बिमा समितिले विपत्तिमा परेका अपार्टमेन्टको बिमा भुक्तानी दिन नसकिएको स्वीकार गरेको छ। बिमा कम्पनी र बिमितबीचको सहमति महत्वपूर्ण भएको बिमा समितिका पूर्व अध्यक्ष प्राडा फत्तबहादुर केसी बताउँछन्।

सनराइज टावर धोवीघाट अपार्टमेन्टमा बस्ने नेपालको पहिलो हेयर स्टाइलिस्ट नीलडेबिट कटुवाल भुइँचालोपछि आफ्नै घर बनाएर सरेका छन्। 'त्यो विपद्को समयमा मलाई धेरै त्रास भयो, त्यसपछि मेरो छोरा अपार्टमेन्टमा जान मानेन', उनले भने।

बसुन्धराको पार्क भ्यू होराइजन, डिल्ली बजारको अपार्टमेन्ट, सानेपाको स्टाटस इन भिलेज, झम्सिखेलको अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, ओरियन्टललगायतका अपार्टमेन्टमा भुइँचालोले क्षति पुर्‍याएको छ। 

तीमध्ये केही मर्मत भइसकेका छन् भने केहीले पुनःसञ्चालनको अनुमति लिएका छन्। एउटै अपार्टमेन्टले फरक फरक बिमा कम्पनीसँग बिमा गरेको पाइएको र बिमा कम्पनीअनुसार फरक नीति हुने भएकाले पनि भुक्तानीमा समस्या देखिएको हो। 

बिमित भुक्तानी पाउन नसक्नुमा कम्पनी र बिमितबीचमा केही अप्ठ्यारा रहेको बताउँछन् पूर्व अध्यक्ष केसी। उनीहरुबीच सहमति भएपछि सबै समस्याको समाधान हुन्छ। निर्जीवनतर्फको व्यक्तिगत सबै दाबीको भुक्तानी भइसकेको तर अपार्टमेन्टका केही जटिलता देखिएको हो। 

विशालनगर पार्क भ्यूको शिखर इन्स्योरेन्सले बिमा गरेको थियो। भुइँचालोमा क्षति भएको उक्त अपार्टमेन्टको बिमा दाबी शिखरले सबै भुक्तानी गरिसकेको जनाएको छ। भुइँचालोबाट भएको क्षतिको भुक्तानीको युनाइटेड इन्स्योरेन्स कम्पनीबाट भने चुक्ता हुन बाँकी छ। निर्जीवन बिमा गर्ने १७ मध्ये अधिकांशले कुनै न कुनै अपार्टमेन्टको बिमा गरेका छन्। 

सरकारले भुइँचालोपछि रातो र हरियो स्टिकर टाँस्दाका बखत ध्यान नपुग्दा पनि समस्या भएको हो। अपार्टमेन्टको बिमा गर्दा एक भाग एक कम्पनी र अर्को भाग अर्को कम्पनीसँग गर्ने गरेकाले पनि त्यसमा समस्या आएको हो । त्यसलाई सुल्झाउन आवश्यक छ। 

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार बिमा समितिले विपत्तिको समयमा भएका क्षतिका भुक्तानीलाई प्राथमिकता दिँदैआएको छ। सोहीअनुसार अधिकांश बिमितले भुक्तानी पाइसकेका छन्। निर्जीवन बिमालाई ग्रामीण जनता र भौतिक संरचनासम्म पुर्‍याउनु पर्ने उनले बताए। 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भुइँचालोबाट क्षति भएका सबै दाबीको भुक्तानी भइसकेको जानकारी दिए। उक्त कम्पनीमा ४६ वटा दाबी परेको थियो। दाबीको रु दुई करोड ४३ लाख भुक्तानी भइसकेको छ। 

बिमा क्षेत्र यतिका धेरै हुँदा पनि बिमक बढ्न नसक्नुका कारणबारे झा भन्छन्, 'बिमाका विषयमा आमजनतालाई बुझाउन सकिएन।' हाल नौवटा जीवन बिमा कम्पनी र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा रहेका छन्। मुलुकको कुल जीवन बिमाको सात प्रतिशत र निर्जीवन बिमाको विविधीकरण हुन सकेको छैन। 

भुइँचालोसँग सम्बन्धित ३८० वटा बिमा दाबी परेको थियो। ती सबैले भुक्तानी पाइसकेका छन्। जीवन बिमा गर्नेको सङ्ख्या नै न्यून हुनु अहिलेको समस्या हो। बिमासम्बन्धी जनचेतना विस्तार गर्न नसकिएका कारण पनि यस क्षेत्रको विस्तार हुन सकेको छैन। 

सनराइज टावर धोवीघाट अपार्टमेन्टमा बस्ने नेपालको पहिलो हेयर स्टाइलिस्ट नीलडेबिट कटुवाल भुइँचालोपछि आफ्नै घर बनाएर सरेका छन्। 'त्यो विपद्को समयमा मलाई धेरै त्रास भयो, त्यसपछि मेरो छोरा अपार्टमेन्टमा जान मानेन', उनले भने। भुइँचालोपछि अपार्टमेन्टको प्रयोगमा कमी आएको छ।

प्रकाशित: २६ माघ २०७३ ११:०८ बुधबार

अपार्टमेन्टले भुक्तान पाएनन् अर्ब १० करोड बिमा दाबी