अर्थ

'फ्रुटी' को ब्रान्ड एम्बेसेडरमा उपासना र 'एप्पि फिज' कोमा प्रियङ्का

भारतीय पेय पदार्थ कम्पनी 'पार्ले एग्रो' ले तीन वर्षपछि नेपाली बजारमा 'फ्रुटी' पुनः प्रस्तुत गरेको छ।

नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागूपछि पार्ले एग्रोले नेपालमै पहिलोपटक फ्रुटीको ब्रान्ड एम्बेसेडर पनि तोकेको छ।

अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित छिन्।

उपासना सिंह भन्छिन्, 'सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु। यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ। हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ। नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ।'

फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पीइटी बोटलमा उपलब्ध छ। त्यसै गरी पार्ले एग्रोले चर्चामा आइसकेको स्याउको कार्बोनेटेड पेय – एप्पि फिज पनि बजारमा प्रस्तुत गरेको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ हो – जसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको छ। एप्पि फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन्।

प्रियङ्का कार्की भन्छिन्, 'एप्पि फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु, र मेरो यो उत्साहलाई सबै नेपालीहरूसामू फैलाउन पनि चाहन्छु। एप्पि फिज अरू ड्रिङ्कहरूभन्दा फरक छ, यसको स्वाद पृथक् छ, नौलो छ। ताजापनका लागि कुनै ड्रिङ्क खानुहुन्छ भने म एप्पि फिज नै खानुहोस् भन्छु।'

एप्पि फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको पीइटी बोटलमा उपलब्ध छ। फ्रुटी र एप्पि फिजलाई नेपालको हरेक कुनासम्म पुर्‍याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ। विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पि फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ।

पाले एग्रोकी सह-प्रबन्ध निर्देशक नादिया चौहान भन्छिन्, 'नेपाल अपार सम्भावना बोकेको बजार हो। फ्रुटीलाई फिर्ता ल्याएर, हामीले देशको पेय पदार्थ उद्योगमा सो सम्भावनालाई चरितार्थ गर्ने प्रतिबद्धता गरेका छौं। हाम्रो लक्ष्य फ्रुटी र एप्पि फिजलाई हरेकको रोजाइमा पार्नु हो र नेपाली उपभोक्तासँग गहिरो सम्बन्ध बनाउनु हो। फ्रुटीसँग पहिले नै देशमा बलियो ब्रान्ड सम्बन्ध छ, र हामी विकास र सफलताको लागि ठूलो अवसर देख्छौं । त्यस्तै सम्भावना एप्पि फिजले पनि बोकेकै छ।'

साउथ एसियन बेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवाल भन्छन्, 'हामी भारतको अग्रणी पेय पदार्थ निर्माता पार्ले एग्रोसँग साझेदारी गर्न पाउँदा र फ्रुटिलाई नेपाली उपभोक्ताको प्राथमिकतामा पार्न तथा एप्पि फिजसँगको नयाँ सम्बन्ध सिर्जना गर्न पाउँदा गर्व महसुस गर्छौं। हामीसँग एफएमसीजी मा धेरै अनुभव भएको बलियो सेल्स टोली छ र हामीसँग २५ वर्ष भन्दा बढीको एफएमसीजी वितरणको अनुभव छ जसले पक्कै पनि अबको केही वर्षमा हामीलाई श्रेणीमा अगुवा बनाउने छ।'

प्रकाशित: ११ वैशाख २०८० ०६:५६ सोमबार

पार्ले एग्रो फ्रुटी एप्पि फिज