अर्थ

जलाशय आयोजनाको प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

काठमाडौं- सरकारले जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको बिजुली खरिद दर तयार पारेको छ। ऊर्जा मन्त्रालयले जलाशय आयोजनाको प्रकृति हेरेर सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकेको छ। सरकारले सोमबार सार्वजनिक गर्ने तयारी गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिले जलाशय आयोजनालाई मंसिर १५ देखि जेठ १६ सम्मका लागि प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १५ सम्मका लागि प्रतियुनिट ७ रुपैयाँ १० पैसा निधारण गरेको छ।

समितिले ६/६ महिनाका लागि आधार मानेर जलाशयको बिजुली खरिद–बिक्री दर तोकेको छ। मंसिर १५ देखि जेठ १६ सम्म ६ महिनालाई सुक्खा याममा बढी पिपिए दर तय गरिएको छ।

यस्तै जेठ १६ देखि मंसिर १५ सम्मलाई वर्षाद मानेर कम दर तय गरिएको छ। समितिले अर्धजलाशय  आयोजनाको पिकिङ ऊर्जाको मूल्य पनि तोकेको छ। जसअनुसार मंसिर १५ देखि जेठ १६ सम्म प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र जेठ १६ देखि मंसिर १५ सम्मका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा तोकिएको छ।

 

प्रकाशित: २५ पुस २०७३ ०४:०३ सोमबार

जलाशय आयोजनाको प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म