अर्थ

बिमा रकम उपलब्ध गराउन आइएमई इन्स्योरेन्सलाई आग्रह

इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमई जनरल इन्स्योरेन्स कम्पनी काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना संक्रमित सञ्चारकर्मीहरूको कोरोना बिमा बापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले कूल ४८ मध्ये ३० जनाको एक लाखका दरले बिमा बापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरे।

ध्यानाकर्षण पत्र बुझ्दै कार्कीले हालसम्म सुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्ता बसेर भुक्तानी दिइने प्रतिबद्वता व्यक्त गरे। अहिले बिमा कम्पनीको हातमा भुक्तानी दिन नमिल्ने भए पनि सरकारसँग वार्ता बसेर समाधान गरिने कार्कीको भनाइ छ।

यसअघि युनियनले कोभिड महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बिमा गरेको थियो। जसमध्ये ४८ जना संक्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी समेत पाइसकेका छन्। अधिकारीले अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाएकोमा चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास भएको बताएका छन्।  

प्रकाशित: ३० चैत्र २०७९ ०२:३६ बिहीबार

नेपाल प्रेस युनियन इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरू आइएमई इन्स्योरेन्स