अर्थ

विद्युत् आयोजना र स्थानीयबीच सहमति

इलाम– माबु गाउँमा सञ्चालित अप्पर माई जलविद्युत् आयोजनाले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले आन्दोलनको चेतावनी दिएपछि बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको छ ।

जिल्ला प्रशासन कार्यालयका बिहीबार बसेको छलफलमा आयोजनाले पूर्वसर्तअनुसार स्थानीय जनजाति समुदायको संस्कृति उत्थान र विकासका लागि ६ लाख र गाउँमा विद्युत् विस्तारका लागि ३ लाख रुपैयाँ दिने सहमति भएको छ । आयोजनाले गाउँमा चलिरहेको ‘आइपिसी’ परियोजनाका लागि ५० हजार र गाउँघर स्वास्थ्य क्लिनिकलाई पनि २० हजार रुपैयाँ सहयोग गर्ने सहमति भएको स्थानीय सिद्धि गुरुङले बताए । ‘स्थानीयले २१ बुँदामा आफ्ना माग राखेका छन्,’ उनले भने, ‘अन्य मागमा विस्तारै छलफल हुने भएपनि तत्काललाई सहमति जुटेको हो ।’ गाविस सचिव यामबहादुर बस्नेतले तत्कालका लागि मोटामोटी सहमति जुटेकाले आयोजनाको काममा अवरोध नगर्ने स्थानीयले जनाएको बताए ।

आयोजना प्रवर्धक कम्पनी पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष प्रधानले स्थानीयका सबैजसो माग पूरा भइसकेको बताए । ‘उहाँहरूका माग सबै पूरा भएका छन्,’ प्रधानले भने, ‘अब स्थानीयले हामीलाई आयोजनाको काममा कुनै असहयोग गर्नुहुने छैन ।’  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजना प्रवद्र्धकले पूर्वसहमति पालना नगरेको भन्दै गत मंसिर तेस्रो साता निर्माणाधीन ‘क्यासकेड’ आयोजनाको काम बन्द गर्ने चेतावनी दिएका थिए । पटक–पटक भएका वार्ता र छलफलमा सहमति कार्यान्वयनको प्रतिबद्धता जनाइएपनि कुनै काम नभएको भन्दै स्थानीयले आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए । स्थानीयस्तरमा गठन भएको स्वतन्त्र पूर्वसुुसूचित सहमति सञ्जालले आयोजनासँग राखेका आफ्ना मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थियो । ज्ञापनपत्रमा गत फागुनमा उत्पादन थालेको अप्पर माईले विगतका सहमति पालना नगरेको र निर्माणाधीन अप्परमाई–सी आयोजनाले आयोजनाबारे स्थानीयलाई जानकारी नै नदिएको उल्लेख थियो ।

९.९८ मेगावाटको अप्पर माई जलविद्युत् आयोजनाको उत्पादन जेठदेखि केन्द्रीय प्रसारणमा जोडिएको छ । निर्माणकर्ता पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले ३ वर्षअघि निर्माण सुरु आयोजनाको विद्युत् इलामकै गोदकस्थित सबस्टेसनमा जोडिएको हो । १ अर्ब ९२ करोड रुपैयाँको लागतमा बनेको आयोजनामा नबिल, नेपाल बैंक, एभरेस्ट, एनएमबी र ग्लोबल आइएमई बैंकले ७५ प्रतिशत लगानी गरेका छन् ।

योजनाअन्तर्गत अप्पर माई सी क्यासकेड आयोजना पनि निर्माणाधीन छ । ९० करोड रुपैयाँ लगानीको क्यासकेड ६.१ मेगावाटको हो । दुवैबाट वर्षमा ५ करोड युनिट बिजुली उत्पादन हुने अनुमान पञ्चकन्याको छ ।

प्रकाशित: १४ पुस २०७३ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App