अर्थ

सच्चिँदै सेयर बजार

काठमाडौं– गत साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से आइतबार घटेर १५२२.८० बिन्दुमा आइपुगेको छ । पछिल्लो करिब साढे चार महिनामा नेप्सेमा ३५८.६५ बिन्दुले गिरावट आएको छ । दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला ? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन् ।
नयाँ रेकर्ड बनाउँदै अघि बढेको सेयर बजार मापक नेप्से घट्दै जानुलाई लगानीकर्ता ‘करेक्सन’को लय भन्छन् ।
सेयर बजार उकालो लाग्नुपर्ने कारण नभएकाले पनि बजार निरन्तर घट्दै गएको नेपाल मर्चेन्ट बैंकर्स सघंका अध्यक्ष प्रवीणरमण पराजुलीले आइतबार नागरिकलाई बताए । ‘आर्थिक सूचक सकारात्मक नभएको, राजनीतिक दलबीच संविधान संशोधनका विषयलाई लिएर द्वन्द्व बढेको र बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को कमी भएकाले पनि सेयर बजार घट्न पुगेको हो,’ उनले भने, ‘बजारलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम छैनन्, त्यसैले पनि बजारमा निरन्तर गिरावट आएको हुनुपर्छ ।’
बजार अझै तल आउने अनुमान विश्लेषकले गरेका छन् । ‘सेयर बजार करेक्सन मोडमै छ,’ पराजुलीले भने, ‘बजार ओर्लिंदो क्रममा छ । तर, कुन तहसम्म बजार तल आउँछ । त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।’
साताको पहिलो दिन आइतबार नेप्से २१.८८ बिन्दुले घट्यो । परिसूचकसँगै करोबार रकममा पनि आधाले कमी आएको छ । गत साता दैनिक सरदर ८० करोडको कारोबार हुँदै आएकोमा यस साताको पहिलो दिन आइतबार ४० करोड ५५ लाखको मात्रै कारोबार भएको छ ।
‘अघिल्लो साताभन्दा यो साताको पहिलो दिन करोबार रकममा पनि ५० प्रतिशतले कमी आएको छ,’ उनले भने, ‘कारोबारको रकम अत्यधिक कम भएकाले पनि सेयर बजारमा लगानीकर्ता निरुत्साहित हुन पुगेका छन् ।’
सेयर बजारमा करोबार रकम अत्यधिक घट्नुलाई राम्रो संकेतका रुपमा लिइँदैन । ‘कारोबार रकममा कमी आउनुलाई  शुभ संकेत मानिँदैन,’ पराजुलीले भने, ‘भोलि (सोमबार) को कारोबारलाई हेरेरमात्र अब बजार कता जान्छ भन्न सकिन्छ ।’
आइतबार सेयर बजार खुलेको २ घन्टामा १० करोडको मात्र कारोबार भएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बताए । ‘गत साता एक घन्टामा सरदर २०–२५ करोड करोबार भएको थियो,’ उनले भने, ‘यो साताको पहिलो दिन आइतबार त्यो रकममा ५० प्रतिशत कमी आएर प्रतिघन्टा सरदर १० करोडको कारोबार मात्र भएको थियो ।’ नेप्सेसँगै कारोबारमा कमी आउनुलाई सेयर बजार करेक्सनकै मोडमा रहेको मान्नुपर्ने पौडेलको भनाइ छ ।
हकप्रद सेयर भर्न रकमको जोहो, नाफा सुरक्षित गर्ने प्रवृत्ति, बजारमा थपिँदो सेयर संख्या लगायत कारणले बिक्रीमा चाप पर्दा नेप्से र कारोबार रकम केही दिनयता लगातार घटिरहेको छ । सेयर किनबेचमा लगानीकर्ताको खासै उत्साह नदेखिनुमा मनोविज्ञानले पनि काम गरेको हुन सक्ने आँकलन गरिएको छ ।
बजारमा निश्चित नाफा गरिसकेकाले तत्काल सेयर बेचेर नाफा सुरक्षित गर्न थालेका छन् । यसले बजार घट्न मद्दत पु¥याएको छ ।
केही दिनअघिसम्म कहिले घट्ने र कहिले बढ्ने गरेको नेप्से गत साता निरन्तर घट्यो । निरन्तर घट्न थालेपछि मनोवैज्ञानिक रुपमा लगानीकर्तामा त्रास पैदा भएको छ । उनीहरुमा नेप्सेमा अझै ठूलो गिरावट आउने हो कि ? भन्ने आशंका देखिन्छ ।
केही लगानीकर्ताले हकप्रद सेयर र एफपिओमा लगानी गर्नका लागि खर्चको जोहो गर्न सेयर बिक्री गर्दा सामान्य गिरावट आएको तर्क गर्दैछन् । केहीले भने सेयर बजारमा ‘अफ सिजन’ सुरु भएको भन्न थालेका छन् ।
पछिल्लो १४ वर्षको तथ्यांकलाई हेर्ने हो भने उक्त अवधिमध्ये १२ वर्ष वैशाखदेखि भदौसम्म उच्चतम रेकर्ड बनाएको देखिन्छ । सेयर बजारका खेलाडी वैशाखदेखि खरिद गर्न थाल्ने र असोेजमा निस्कने गरेको ब्रोकर बताउँछन् ।
सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ । उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार करेक्सन हुन थालेको बताइन्छ ।
बजारमा तरलता कम हुँदैछ । आगामी दिनमा थप तरलता बढ्ने सम्भावना छैन । बैंकको ब्याज दर उकालो लाग्दै गएको छ ।
ब्याज दरमा परिवर्तन आएर क्रमशः बढ्दै गएको छ । सेयरमा भन्दा कम जोखिममा बैंकबाट बढी ब्याज पाउन थालेपछि सेयर बजारको लगानी घटेर निक्षेप बढ्न पुग्ने देखिन्छ ।
‘लगानीकर्ता प्रोफिट बुकिङतिर लागे,’ एक ब्रोकरले भने, ‘ब्याज दर बढेकाले पनि त्यसको पनि असर देखिएको हो ।’ कारोबार रकम पनि विस्तारै झर्न थाल्नुले भने बजारका लगानीकर्तालाई केही निराश बनाएको छ ।
राजनीतिक अन्योल, बढ्दो बैंक ब्याजदर, बोनस र हकप्रद सेयरको बाढी, अन्योलग्रस्त राजनीतिक आदि कारणले बजार अझै घट्छ कि भन्ने त्रासका कारण लगानीकर्ताले सेयर खरिद गर्न सकिरहेका छैनन् ।

बजार घट्दो क्रममा रहेकाले पनि लगानीकर्ता सेयर किनिहाल्न डराएको विश्लेषकको भनाइ छ । आगामी दिनमा बजार कुन हदसम्म तल जान्छ भन्ने ठोस अनुमान लगाउन पनि कठिन भएको तर्क उनीहरु राख्छन् ।

प्रकाशित: २७ मंसिर २०७३ ०५:३८ सोमबार

सच्चिँदै सेयर बजार