अर्थ

सुनको मूल्य निरन्तर ओरालो

काठमाडौं- धेरै खपत हुने विहेको मौसम सुरु भएसँगै घट्न थालेको सुनको मूल्य ओरालो लाग्ने क्रम अझै जारी छ। विश्व बजारमा मूल्य घट्दाको प्रभाव नेपाली बजारमा परेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छ। मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य निरन्तर घटेर शुक्रबार यस वर्षकै सबैभन्दा कम बिन्दुमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

महासंघमा पूर्वअध्यक्ष तेजरत्न शाक्यले शुक्रबार यस वर्षकै सबैभन्दा कम मूल्यमा सुन किनबेच भएको बताए। 'प्रतितोला ५३ हजार भनेको यस वर्षको सबैभन्दा कम मूल्य हो,' शाक्यले भने, सप्लाई बढी र डिमान्ड कम हँुदा मूल्यमा निरन्तर गिरावट आइरहेको छ।'

अब सुनको मूल्य कतिसम्म घट्ला भन्ने यकिन भन्न नसकिए पनि अझै केही घट्ने अनुमान विश्लेषकहरुको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार १ सय ५० डलरसम्म झर्ने विश्लेषण भइरहेको शाक्य बताउँछन्। 'यसको मतलब हाम्रो बजारमा ५२ हजार ५ सय रुपैयाँसम्म झर्ने अनुमान गर्न सकिन्छ,' शाक्यले भने, 'ग्राहक प्रतितोला ५० हजारसम्म झर्न सक्ने भनेर पर्खिरहेका छन् तर ५० हजारमा झर्न गाह्रो छ।'

सुनको भाउ निरन्तर घट्दै गएकाले नेपाली उपभोक्ता अझै घट्ने आसमा पर्खेर बसेको शाक्य बताउँछन्। 'भाउ घटिरहेकाले उपभोक्ता पर्ख र हेर अवस्थामा रहेको देखिन्छ,' शाक्यले भने,' यसले गर्दा पनि सिजनका बेला जति सुन बिक्री हुनुपर्ने हो त्यति भएको छैन।'

यसअघि २०७२ चैत २२ र २३ गते छापावाल सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको अभिलेख महासंघसँग छ। गत साउनमा भने १० महिनाकै सबैभन्दा धेरै ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ। सुनको माग धेरै हुने समयमा पनि भाउ घट्नुमा अन्तर्राष्ट्रिय बजारको असर रहेको शाक्य बताउँछन्।

सुनको भाउमा प्रत्यक्ष सम्बन्ध राख्ने डलर र अन्तर्राष्ट्रिय सेयर बजार बलियो बन्दै गएपछि सुनको भाउ घट्दै गएको विश्लेषकको भनाइ छ। पछिल्लो समय विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै गएको छ। सेयर बजार उकालो लागेको छ भने रोजगारी र अन्य क्षेत्रमा पनि सुधार हँुदै गएकाले सुनका लगानीकर्ता अन्यन्त्र मोडिएको शाक्य बताउँछन्। 

त्यस्तै, अमेरिकी केन्›ीय बैंकले ब्याजदर बढाउने घोषणा गरेकाले विश्व बजारमा सेयर कारोबार बलियो बन्दै गएको विश्लेषण गरिएको छ। शाक्यका अनुसार केही दिनभित्रै ब्याजदर बढ्ने भएकाले लगानीकर्ता त्यतातिर तानिएका छन्।

विश्व बजारमा सुनको मूल्य घट्नुमा सुनको प्रमुख बजारमध्येको एक भारतमा सरकारले घोषणा गरेको १ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध हो। जसका कारण विश्वकै उच्च सुनको माग हुने बजारमा सुनको कारोबार ठप्पप्रायः छ। विहेको मौसममा पनि त्यहाँ सुन किन्ने उपभोक्ता नै नभएको शाक्य बताउँछन्। 'विश्व बजारमा सुनको मागभन्दा आपूर्ति बढी भइरहको छ,' शाक्यले भने, 'यसले गर्दा मूल्य घट्दै गएको हो।'

मूल्य निरन्तर घटिरहेकाले विगतमा जस्तो सुन बिक्री छैन। शाक्यका अनुसार यस सिजनमा विगतमा प्रतिदिन ४० देखि ५० किलो सुन बिक्री हुन्थ्यो। यसपालि प्रतिदिन ३० किलोमात्र उपभोग भइरहेको उनको भनाइ छ। विहेको महिना सुनको माग उच्च हुन्छ।

विनाशकारी भूकम्पका कारण गत वर्षको दसैं–तिहारमा सुनको कारोबार राम्रो हुन सकेको थिएन। यस वर्ष भने तिहारका बेला गत सालभन्दा २५ प्रतिशत बढी कारोबार भएको शाक्यको भनाइ छ।

अघिल्लो वर्षको अन्तिम महिना चैतमा ५३ हजार ८ सयसम्म झरेको सुन त्यसपछि भने क्रमशः बढ्दै गएका थियो। वैशाखमा ५७ हजार, जेठमा ५६ हजार ६ सय र असार, साउन, भदौ र असोज महिनामा उच्च मूल्यमा पुग्दै ५९ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भएको महासंघको अभिलेखमा छ। कात्तिकमा सबैभन्दा धेरै ५८ हजार २ सय रुपैयाँसम्म पुगेको थियो। मंसिर लागेदेखि भने क्रमशः घटिरहेको छ।

प्रकाशित: २६ मंसिर २०७३ ०३:१८ आइतबार

सुनको ओरालो