अर्थ

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव

इटहरी- सुनसरी सोनापुरको अरिहन्ट मल्टिफाइबर्स उद्योगमा अहिले सीप सिकेर पोख्त भएका ७ सय कामदारको अभाव छ। उद्योगले मेसिन चलाउन सक्ने कामदार अभाव खेप्दै आएको छ।

उद्योगले दक्ष कामदारबाहेक अन्यलाई समेत सवारी साधनमार्फत पूर्वका सहरी क्षेत्र र ग्रामीण क्षेत्रबाट ओसार्ने गरेको  छ। उद्योगले बसमार्फत विराटनगरको रानी, सुनसरी धरान, हरिनगरा र चिमडीलगायत स्थानसम्म मजदुर लाने–ल्याउने काम गर्छ। उद्योगले आवास सुविधा दिएर झन्डै ६ सय कामदार राखेको छ। अरु भने स्थानीय कामदार छन्।

कामदार अभावले गर्दा तीन वर्षअघि पश्चिमको कैलालीबाट सेवा–सुविधा दिएर तीन सय मजदुर ल्याएकोमा अहिले ५० जनामात्र कार्यरत छन्। त्यतिबेला उद्योगले मजदुर अभाव पूरा गर्न कैलालीको हसुलिया गाविसबाट कामदार ल्याएको थियो।

प्रशासकीय अधिकृत गोविन्द बजगाईका अनुसार पूर्वका पुरुष प्रायः विदेश गएकाले गर्दा काम गर्ने कम्ती हुने गर्छन्, महिलालाई राख्दा घरायसी काम भ्याएर काम गर्न समस्या पर्छ। 'जुट उद्योगमा दैनिक तीन सिफ्ट काम चल्छ अनि महिलालाई घरमा पनि भ्याउनुपर्ने हुँदा बिहान र रातिको सिफ्टमा काम गर्न समस्या हुने गर्छ,' उनले भने, 'अतिरिक्त समयमा काम गर्ने बढी आउने गर्छन्। उनीहरु कुन दिन काम छाड्छन् टुंगो हुँदैन्।'

पूर्वका पुरुष विदेश गए पनि पश्चिमका पुरुष भने कमैमात्र विदेश जाने गरेकाले तिनीहरुलाई पूर्वका उद्योगले मिलेर आकर्षित गर्न सकेमा लाभ पुग्ने बजगाई बताउँछन्। 'पश्चिमका जिल्लाका पुरुष बेरोजगार छन्। तिनीहरुलाई यहाँका उद्योगमा ल्याएर काम लगाउन सकिन्छ,' उनले भने, 'भौगोलिक रुपले दुरी भएकैले गर्दा आउन इच्छुक हुदैनन्। तर, तिनीहरुलाई ल्याएर काम लगाउन सके राम्रो हुन्छ।'

अरिहन्तमा अहिले चार हजार पाँच सय कामदार छन्, जसमा ४० प्रतिशत महिला कामदार छन्।

दक्ष कामदार इटहरी क्षेत्रकै खनारमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्स उद्योगले समेत  झेलिरहेको छ। रिलायन्समा पनि पाँच सय दक्ष कामदार अभाव छ। 'नयाँ मान्छेलाई काम सिकायो कि पछि अन्तै गइदिन्छन्,' उद्योगका प्रशासकीय अधिकृत महेष पोखरेलले भने, 'पहिला पहिला भारतबाट दक्ष कामदार आउँथे। अहिले त्यहाँबाट नगन्य मात्र कामदार आउँदा सीप सकेका कामदार पूरै अभाव हुने गरेको हो।' रिलायन्स उद्योगमा अहिले चार हजार कामदार छन्।

मोरङस्थित रघुपति जुट मिलका व्यवस्थापक मोहनचन्द्र घिमिरेका अनुसार उद्योगले सीप सिकेका दक्ष कामदारको सधै अभाव झेल्नुपरेको छ। 'अहिले तत्कालै रघुपति जुट मिलमा सामान्य कामदार अभाव भने छैन। तर, दक्ष कामदारको सधै अभाव छ,' उनले भने। दक्ष मजदुर अभावसँगै अन्य विभिन्न समस्याले सुनसरी–मोरङका ११ वटा जुट मिलमध्ये अहिले चारवटा मात्र सञ्चालनमा छन्। प्रायः बढी मात्रामा जुट उद्योगलाई नै बढी र दक्ष मजदुर चाहिने गर्छ।

नैतिक वन्धन र पूरै समय व्यवस्थापन गर्नुपर्ने हुँदा कतिपय मजदुर उद्योगबाहेक अन्यत्र काम गर्दा पनि समस्या भएको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालले बताए। 'सिस्टममा रहेर काम गर्ने हरेकको संस्कार नहुँनाले पनि समस्या भएको हो,' उनले भने, 'उद्योगले मजदुर राख्दा अनिवार्य प्रशिक्षण दिएर मात्र राख्नुपर्छ।'

सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा मात्र ५० हजार र अन्य साना उद्योगमा सहित गरी एक लाख बढी मजदुर कार्यरत छन्। 'पुरुष कामदार विदेश गएकाले गर्दा उद्योगमा काम गर्ने महिला मजदुरको संख्या बढे पनि जहाँ तीन सिफ्ट उद्योग सञ्चालन हुन्छन्, त्यस्ता उद्योगमा भने सामान्य मजदुरको पनि अभाव हुने गरेको छ,' मोरङ व्यापार संघका कार्यकारी सचिव श्याम भण्डारीले भने। सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पाँच सयभन्दा बढी साना तथा ठुला उद्योग सञ्चालनमा छन्।

प्रकाशित: २४ मंसिर २०७३ ०४:३८ शुक्रबार

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव