अर्थ

नेपालमै पहिलोपटक पाटा शीखर सम्मेलन गरिँदै

पोखरामा सम्मेलन हुने

पोखरामा गरिने पाटा शीखर सम्मेलनबारे जानकारी दिँदै आयोजक। तस्बिरः नागरिक

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ। आगामि मे २९ देखि जुन १ सम्म कार्यक्रम पोखरामा हुनेछ।  

पाटाको शीखर सम्मेलन पहिलोपटक नेपालमा हुन लागेको छ भने पोखराले त्यो सम्मेलन गर्ने अवसर पाएको सरोकारवालाले बताएका छन्। कोभिड–१९ का कारण खस्किएको नेपालको पर्यटन क्षेत्रले यो कार्यक्रमका कारण लाभ पाउने अपेक्षा व्यवसायीको छ।  

सरकार र पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने यस कार्यक्रमको पोखरा पर्यटन परिषद् (पिटिसी)ले संयोजन गर्नेछ भने अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्नेछ। कोभिडले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि यो गतिलो अवसर रहेको व्यवसायीले बताएका छन्।

पाटाका महासचिव सुमन पाण्डेले शीखर सम्मेलनमा करिब १५ वटा मुलुकका गन्तव्य प्रमुख सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्य समेत कार्यक्रममा सहभागि हुने बताए। त्यस्तै एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब तीनसय अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने पनि उनले जानकारी दिए। अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा आयोजना हुने कन्फरेन्समा सहभागिता जनाउनेछन भने विज्ञ, व्यवसायी र संचारकर्मीमाझ गहन छलफल तथा प्रस्तुतिकरण गरिने पनि उनले बताए।  

कोरोना महामारीले सुस्ताएको पर्यटन क्षेत्रलाई उठाउनका लागि यो शीखर सम्मेलन महत्वपूर्ण हुने उनले बताए। २०७२ को भूकम्पछि खस्किएको नेपाली पर्यटन बजारको रिकभर गर्न पनि पाटाले त्यो बेला विभिन्न योजना ल्याएको पाण्डेले बताए। ‘पाटा लगायतका संस्थाको सहयोगमा रिकभर योजना ल्याउँदा भूकम्पपछि नेपालको पर्यटन बजारको छिटो गति लिएको थियो। अब हामी यो कार्यक्रम पछि त्यस्तै रिकभरी हुनेमा आशावादी छौ,’ उनले भने।  

शीखर सम्मेलन विभिन्न देशका पर्यटन व्यावसायी सहभागि हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुुभव साटासाट गर्न पाइने उनले बताए। ‘पोखराका लागि यो निकै नै महत्वपूर्ण अवसर हो। धेरै मुलुकका पर्यटन व्यवसायीलाई पोखराले एकैपटक पाउँदैछ, एकै थलोमा भेला गराउँदा पर्यटन सम्बन्धित पर्याप्त छलफल गर्ने अवसर जुट्नेछ,’ उनले भने।  

कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला गराउने र काम गर्ने अवसर जुट्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले बताए। शीखर सम्मेलनको त्यो अवधिमा विशेष व्यापार–व्यवसाय सत्र पनि सञ्चालन हुने रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कार्यक्रममा कार्यशाला र बिटुबी (बिजनेस टु बिजनेस) मार्ट पनि संचालन हुनेछ।  

नेपालले पहिलोपटक आयोजना गर्न लागेको  यो सम्मेलन पर्यटन क्षेत्रका लागि प्रतिष्ठित कार्यक्रम रहेको बोर्डका प्रमुख रेग्मील्े बताए। पाटा वार्षिक शिखर सम्मेलन २०२३ ले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित बनाउने अपेक्षा गरिएकोे उनले बताए। ‘नेपालले तेस्रोपटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा वार्षिक शीखर सम्मेलन आयोजना गर्न लागेको छ,’ उनले भने, ‘नेपालमा यो कार्यक्रम आयोजना गर्न पाउँदा समग्र पर्यटन क्षेत्र खुसी र उत्साही छ। हामीले पर्यटनमा थप माइलेज बढने समेत अपेक्षा गरेका छौ।’  

नेपालले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय कार्यक्रममले आगामि दिनमा नेपालमा विदेशी पर्यटक आगमनमा समेत बृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन क्षेत्र कोभिड–१९ पूर्वको अवस्थामा फर्किने अपेक्षा गरिएको उनले बताए।

गत जनवरी देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको अवस्थामा पोखरामा हुन थालेको यो कार्यक्रमले पोखराको पर्यटन क्षेत्र अझै चलायमान हुने अपेक्षा व्यवसायीको छ। परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्रका लागि यो सम्मेलन निकै नै महत्वपूर्ण रहेको बताए। सम्मेलनमा सहभागि हुन आउने अन्तर्राष्ट्रिय टुर अपरेटर्सलाई पोखरामा पर्यटक पठाउन थप उत्साही बनाउने अपेक्षा व्यवसायीको रहेको उनले बताए।  

सम्मेलनमा सहभागि ती पाहुनालाई पोखरा क्षेत्रका साहसिक गतिविधिमा समेत संलग्न गराउँदा उनीहरुलाई नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा बेच्नका लागि थप सहयोग हुने सिग्देलले बताए। पोखराको पर्यटनलाई चलायमान बनाउन यो सम्मेलनको भूमिका रहने उनले बताए।  

आयोजकका अनुसार सम्मेलनमा विश्वप्रख्यात ब्लगरहरु समेत सहभागि रहनेछन्। पोखरापछि ती पाहुनालाई लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका अन्य गन्तव्यमा पनि भ्रमण गराउने कार्यक्रम रहेको आयोजकले बताएको छ। नेपालले पाटा इन्टरनेशनलको सदस्यता सन् १९७५ मा लिएको थियो।

प्रकाशित: ८ चैत्र २०७९ ०९:१८ बुधबार

पाटा शीखर सम्मेलन पोखरा