अर्थ

नक्कली मोबाइलमा सक्कली नम्बर हालिने

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले हाल प्रयोगमा रहेका आइएमइआई नम्बर (इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर) नभएका मोबाइल सेटलाई पनि दर्ता गर्ने भएको छ। आयातित मोबाइलको आइएमइआई नम्बर दर्ता सुरु गरिसकेको प्राधिकरणले हाल देशभर प्रयोगमा रहेका र सक्कली नम्बर नभएका मोबाइललाई एकपटक मौका दिएर दर्ता गराउन खोजेको हो।

प्राधिकरणले प्रयोगमा रहेका तर नक्कली आइएमइआई नम्बर भएका मोबाइल सेटलाई एकपटक मौका दिएर नयाँ नम्बर हाल्ने तयारी गरेको हो। उसले 'जेनुइन आइएमइआई इम्प्लान्टेसन प्रोग्राम' सार्वजनिक गर्दै नक्कली नम्बर भएका मोबाइल दर्ता गर्न लागेको हो। मोबाइल सेटको पहिचान गर्न हरेक सेटमा प्रयोग हुने १५ डिजिटको नम्बर नै आइएमइआई नम्बर हो।

'हामीले सक्कली आइएमइआई नम्बर नभएका मोबाइल सेटलाई पनि सिस्टममा ल्याएर दर्ता गर्ने तयारी गरिरहेका छौं,' प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, 'त्यस्ता मोबाइल दर्ता गर्न जेनुइन आइएमइआई इम्प्लान्टेसन प्रोग्राम ल्याउँदै छौं।' सर्वसाधारणको लागि छिट्टै सूचना सार्वजनिक गरेर सबै मोबाइल सहित नक्कली आइएमइआई नम्बर भएका मोबाइल पनि दर्ता गर्ने अर्यालले जानकारी गराए।

प्राधिकरणले मोबाइलमा भइरहको नम्बर सक्कली वा नक्कली के हो, थाहा पाउन एसएमएस वा वेबसाइटबाट परीक्षण गर्न सकिने व्यवस्था मिलाउने छ। कसैको ह्यान्ड सेटको नम्बर नक्कली छ भने त्यो सेटमा प्राधिकरणले सक्कली नम्बर हाल्दिने छ। त्यसको लागि उपभोक्ताले केही शुल्क तिर्नुपर्ने हुन्छ।

बजारमा अधिक संख्यामा नक्कली आइएमइआई नम्बर भएका सेट भएको अनुमान छ। आइएमइआई नम्बर नभएको, भएर पनि नक्कली भएको, कोलोन आइएमइआई नम्बर भएका, शून्य, एक जस्ता विभिन्न तरिकाबाट नक्कली आइएमइआई नम्बर भएका मोबाइल सेट बजारमा रहेको अनुमान गरिएको छ।

'त्यस्ता फेक नम्बर भएका सेटलाई एकैपटक कल नहुने बनाउँदा धेरै ग्राहकलाई समस्या पर्न सक्छ,' अर्यालले भने, 'त्यसैले ग्राहकको सुविधाको लागि एकपटक मौका दिने भनेर यो कार्यक्रम ल्याउन लागिएको हो।'

सक्कली आइएमइआई नम्बर भएका मोबाइल सेटमा कुनै समस्या आउने छैन। तिनीहरूलाई प्राधिकरणले 'ट्र्याक सिस्टम'मा ल्याउने छ भने नक्कली नम्बर भएका सेटलाई पनि नयाँ नम्बर हालेर त्यही सिस्टममा ल्याइने छ। 

आफ्नो सेटमा रहेका आइएमइआई नम्बर सक्कली हो कि होइन भनेर परीक्षण गर्न प्राधिकरणले एसएमएस वा वेबसाइटबाट परीक्षण गर्न सकिने व्यवस्था मिलाउने छ। प्राधिकरणले आफ्नै वेबसाइटबाट आइएमइआई नम्बर परीक्षण गर्न सकिने बनाउन लागेको जनाएको छ। त्यस्तै, अन्य केही वेबसाइटबाट पनि आइएमइआई नम्बर परीक्षण गर्न सकिन्छ।

आइतबार मात्रै गठन भएको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दिपक मल्होत्राले 'ग्रे मार्केट' कम गर्न सम्पूर्ण मोबाइल सेट दर्ता गर्नुपर्ने आवश्यकता रहेको बताए। 'एकपटकको लागि प्राधिकरणले कानुनी वैधता दिने तयारी गरिरहेको सुनेको छु,' मल्होत्राले भने, 'यो हाम्रो लागि राम्रो कुरा हो। यसले ग्रे मार्केट घटाउन सहयोग गर्छ।'

मल्होत्राका अनुसार हाल नेपालमा ३ करोड १ लाख १९ हजार मोबाइल सेट प्रयोगमा छ। यो नेपालको जनसंख्याको ११३ प्रतिशत हो। एसोसिएसनका अनुसार मुलुकमा ४० जना जति मोबाइल आयातकर्ता छन्। १६ ब्रान्डका मोबाइल स्वदेशी बजारमा पाइन्छन्। 

प्राधिकरणले गत वैशाख १ गतेदेखि नै विदेशबाट आयात हुने मोबाइल सेटको आइएमइआई लगायत अन्य नम्बर दर्ता गर्न सुरु गरिसकेको छ। नेपाल भित्रिने बेलामा भन्सारमै आइएमइआई नम्बर दर्ता हुन्छ।

मोबाइल सेट चोरी हुने, हराउने, राजस्व छली, नक्कली सेट प्रयोग, अपराधिक क्रियाकलाप जस्ता गतिविधि हुन नदिन आइएमइआई नम्बर दर्ता गर्नुपरेको हो। 'आइएमइआई दर्ता गर्दा भन्सार चुवावट रोक्न सकिन्छ,' अर्यालले भने, 'जसले गर्दा राजस्व बढ्न सक्छ।' अहिले बजारमा राजस्व छलिएका वा नक्कली मोबाइल पनि बिक्री–वितरण भइरहेको बताइन्छ।  त्यस्तै, आइएमइआई नम्बरको सहयोगले मोबाइल चोरी भए वा हराएमा खोजी गर्न सकिन्छ। आइएमइआई नम्बरको सहायताले चोरिएको वा हराएको मोबाइल सेटमा कुन नम्बर चलिरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ।

आइएमइआई नम्बर दर्तापछि मोबाइल सेट प्रयोग गरेर हुने अपराधहरू कम हुने विश्वास गरिएको छ। विभिन्न अपराधमा नक्कली वा डुप्लिकेट आइएमइआई नम्बर भएका मोबाइल प्रयोग भएको पाइएकाले यस्ता क्रियाकलापमा कमी आउने अर्यालले बताए।

प्रकाशित: २० मंसिर २०७३ ०४:०९ सोमबार

नक्कली मोबाइलमा सक्कली नम्बर हालिने