अर्थ

सेयर बजार नियन्त्रण गर्न 'सर्किट ब्रेकर'

काठमाडौं- सेयर बजार उच्च अंकले घटेपछि सर्किट ब्रेकर लगाएर नियन्त्रण गर्नुपरेको छ। साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको साढे २ घन्टामै सेयर बजार मापक नेप्सेे ७९.२१ बिन्दुले घटेको थियो। कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो। ओरालो लाग्ने क्रम नरोकिएपछि बजारलाई नियन्त्रण गर्न नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेकर लगाउनुपरेको थियो।

सर्किट ब्रेकर लगाएपछि सेयर कारोबार आधा घन्टा बन्द भएको थियो। त्यसपछि पनि केही समय नेप्से ओरोलो लागेको थियो। गाडी ओरालोमा दौडेपछि नियन्त्रण गर्न ब्रेक लगाए जस्तै सेयर बजार नियन्त्रण गर्न पनि सर्किट ब्रेकर लगाउनुपरेको एक लगानीकर्ताले नागरिकलाई बताए। 'सर्किट ब्रेकरपछि खुलेको बजार पुनः ओरालो लागेको थियो,' उनले भने, 'साढे एक बजेपछि सेयर बजार केही बढन पुगेको थियो।'

साढे एक बजेपछि बढेको बजार १६३०.३४ अंकमा पुगेको थियो। तर, बजार बढ्ने क्रम लामो समय रहन सकेन। पुनः सवा दुई बजेदेखि ओरालो लाग्न थालेको सेयर बजार ३ बजे बन्द हुँदासम्म ओरालो नै लागिरह्यो। अन्ततः नेप्से परिसूचक ५८.४६ बिन्दुले घटेर १५९९.६२ मा आएर बन्द भयो।

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १६०० अंकभन्दा तल आइपुगेको छ। करिब ४ महिनाको अवधिमा २८० बिन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ।

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले आइतबार नागरिकलाई बताए।

'सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,' उनले भने, 'अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ।' बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ।

ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको एक विश्लेषकले बताए। ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ। घटी ब्याजमा ऋण पाउँदा लगानीकर्ताले बैंकबाट पैसा लिएर सेयरमा लगानी गर्छन्। चर्को ब्याजको पैसा लिएर लगानी गर्दा घाटा हुने ठानेर लगानीकर्ता हच्किन्छन्।

ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको भनाइ कतिपयको छ। यसअघि ब्याजदर कम थियो। सेयरको भाउ पनि बढेको थियो। अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आउन थालेको छ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले पनि सेयर मूल्य घटेको रेग्मीको भनाइ छ। 'हकप्रद सेयर भर्नका लागि सेयर बिक्री गर्ने प्रवृत्ति देखिएकाले पनि सेयर बजार घट्न पुगेको हो,' उनले भने, 'बैंकहरुले चुक्ता पुँजी पुर्‍याउन ठूलो रकमको हकप्रद सेयर जारी गर्न थालेको र त्यसका लागि सेयर बिक्री गरेर रकम जोहो गर्न थालेकाले पनि सेयर बजार घट्न पुगेको हो।'

गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारदेखि २५ गुणासम्म बढाउने नीति अनुसार केही बैंकहरुले चुक्ता पुँजी बढाइसकेका छन्। केहीले धमाधम बढाउँदै छन्। बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पुर्‍याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ।

सेयर मूल्य बढ्नुको दोस्रो कारणको रुपमा अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको र आगामी वर्षको लाभांश लिन अझै एक वर्ष कुर्नुपर्ने अवस्थालाई लिइएको छ। अर्को वर्ष लाभांश पाउन किन अहिले नै किन्नुपर्‍यो र? भन्ने जस्ता कुरा लगानीकर्ता गर्न थालेका छन्। यसले गर्दा पनि सेयर बजार घट्न पुगेको ती विश्लेषकले बताए।

सेयर बजार निरन्तर ओरालो लागेपछि साना लगानीकर्ता अत्तालिएर बिक्री गर्न थालेका छन्। बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ।

बोनस वितरणसँगै हकप्रद र एफपिओ जारी हुने क्रमले सेयरको आपूर्ति बढाएको छ। यसले पनि पनि बजार घटाउनै मद्दत गरेको रेग्मीको भनाइ छ।

सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ। उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार घटन थालेको बताइन्छ।

प्रकाशित: ६ मंसिर २०७३ ०४:५४ सोमबार

सेयर बजार नियन्त्रण गर्न सर्किट ब्रेकर