अर्थ

सेयर बजारमा उच्च उतारचढाव

काठमाडौं- सेयर बजारमा उच्च उतारचढाव देखिएको छ। आइतबार सेयर कारोबार सुरु भएको सवा २ घन्टामै सेयर बजार मापक नेप्से करिव ११ अंकले बढ्न पुग्यो। १६९७.२२ बिन्दुमा रहेको नेप्से परिसूचक उक्त समयावधिमा बढेर १७०७.७९ मा पुग्यो।

तर, त्यसरी बढेको नेप्से धेरै समय भने टिक्न सकेन। माथि उक्लिएको नेप्से परिसूचक सवा घन्टामै करिब १० अंकले ओर्लिएर १६९८.११ बिन्दुमा आइपुग्यो। २.३० बजे त्यसरी ओर्लिएर तल आएको सेयर बजार कारोबार बन्द हुने समयमा बढेर १७०० मा पुग्यो।

आइतबार सेयर बजारमा धेरै नै उतारचढाव देखियो। कारोबार समयभित्र नेप्से तल–माथि हुने क्रम जारी रह्यो। अन्ततः परिसूचक २.८३ बिन्दु उक्लिएर बजार बन्द भयो।

छिनछिनमा आउने अनेक हल्लाले सेयर बजारमा उच्च चढाव आउँछ। आइतबार एभरेस्ट बैंकले उच्च दरमा बोनस सेयर दिने भयो भन्ने हल्लाले बजारमा उतार–चढाव ल्याउने काम गर्‍यो।

एभरेस्ट बैंकले आकर्षक बोनस सेयर दिँदैछ भन्ने हल्लाकै भरमा उक्त कम्पनीको सेयर किन्न लगानीकर्ता झुम्मिए। बजारमा ५० देखि ७० प्रतिशतसम्म बोनस वितरण गर्दै छ भन्ने हल्ला चलाइयो। कतिपयले एफपिओ र हकप्रद सेयरको पनि हल्ला चलाए।

तर, एभरेस्ट बैंकको आइतबार बेलुकासम्म आधिकारिक निर्णय सार्वजनिक भएको छैन। हल्लाकै भरमा उक्त कम्पनीको सेयर मूल्य बढेको छ।

यसअघि पनि यसरी नै हल्लाकै भरमा उक्त बैंकको सेयर मूल्य अकासिएको थियो। 'केही लगानीकर्ताले सेयर खरिद गर्ने र बेलाबेलामा यस्तै हल्ला फैलाउने र मूल्य वृद्धि भएपछि सेयर बेच्ने गरेका छन्,' नाम नबताउने सर्तमा एक लगानीकर्ताले आइतबार नागरिकसँग भने, 'यसरी हल्ला चलाएर सेयरकोे मूल्य बढेपछि बेच्न एउटा गिरोह नै लागिपरेको छ।' अहिले पनि त्यही गिरोह सक्रिय भएको हुन सक्ने अनुमान ती लगानीकर्ताले गरे।

बम्पर लाभांश र हकप्रद सेयरको हल्लाले आइतबार पनि एभरेस्ट बैंकको सेयरमा चहलपहल देखियो। केही दिनदेखि निरन्तर घटिरहेको उक्त बैंकको सेयर कारोबार आइतबार एकाएक बढन पुग्यो।

बैंकको आइतबार मात्र २० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। प्रतिकित्ता तीन प्रतिशत अर्थात १ सय ६ रुपैयाँका दरले सेयर मूल्य बढेको छ।

दिनभरमा यो बैंकको ५६ हजार ३ सय ४२ कित्ता सेयर किनबेच भएको छ। ३ सय ५५ पटकसम्म बैंकको सेयर कारोबार भएको छ।

यस्तै हल्लाका भरमा सेयर कारोबारमा समय समयमा उच्च उतारचढाव आउने गर्छ। आइतबार पनि नेप्से परिसूचक तलमाथि भयो। केही दिन देखियता सेयर बजारमा उच्च उतार चढाव आए पनि पछिल्लो केही दिनयताको दैनिक औसत कारोबार रकम भने झन्डै स्थिरजस्तै देखिएको छ।

दैनिक ७० करोड हाराहारीमा सेयर किनबेच भइरहेको छ। आइतबार पनि ७३ करोड २१ लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भयो। कारोबार रकम स्थिर बस्दा बजारको गति अनुमान गर्न अलि कठिन हुन थालेको विश्लेषकहरूको भनाइ छ।

यस दिन १ सय ३७ कम्पनीको ८ लाख ६२ हजार २ सय ६९ कित्ता सेयर किनबेच भयो। बैंक ब्याजदर कता जाने भन्ने अन्योल जारी रहँदा सेयर कारोबार अलि सुस्त भएको अनुमान छ।

आइतबार नेकपा माओवादी नेत्रबिक्रम चन्द समूहले नेपाल बन्द आह्वान गरेको थियो। उक्त बन्दले जनजीवन प्रभावित भए पनि सेयर बजारमा भने बन्दको प्रभाव देखिएन। बन्दको अवेज्ञा गर्दै सेयर बजार करिब ३ अंकले माथि उक्लिन पुग्यो।

आइतबार बिमा समूहको परिसूचकमा सुधारसँगै बजार माथि उक्लिएको हो। बिमा समूहको सूचक ३८.८८ अंकले बढेको छ। वाणिज्य बैंक समूहको २.७, विकास बैंक समूहको १.०१, वित्त समूहको ३.३७ र अन्य समूहको ०.५८ अंकले बढेको छ। होटल र जलविद्युत समूह क्रमशः १२.९७ र ५.१६ अंकले घटेको छ।

आइतबार एभरेस्टपछि सिभिल बैंक र शिखर इन्सुरेन्समा लगानीकर्ताको आकर्षण देखियो।

प्रकाशित: २९ कार्तिक २०७३ ०३:४३ सोमबार

सेयर बजारमा उतारचढाव