अर्थ

कुलमानले भने– ‘३०० मेगावाटको दूधकोसी फास्ट ट्र्याकमा निर्माण’

खोटाङ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्यलाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन्।

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगलबार खोटाङ सदरमुकाम दिक्तेल आइपुगेका कार्यकारी निर्देशक घिसिङले मुलुककै आकर्षक आयोजनाकारुपमा रहेको दूधकोसी जलाशययुक्त जलबिद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा सञ्चालन गर्ने पहल भइरहेको जानकारी दिए। उनका अनुसार दूधकोसी जलविद्युत आयोजनालाई पनि तामाकोसीकै मोडलमा सञ्चालन गरिने छ। सांसद पिके राईलगायत जिल्लाबासीले दूधकोसी जलबिद्युत् आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाका रुपमा राखेर कामलाई तीव्रता प्रदान गर्न माग राखेपछि घिसिङले आयोजनालाई स्वदेशी मोडलमा सञ्चालनका लागि कम्पनी दर्ता गर्ने तयारी भइरहेको बताए। ‘दूधकोसी जलविद्युत आयोजनालाई फास्ट ट्र्याकमा सञ्चालन गर्न कम्पनी दर्ता गर्ने काम अघि बढाइएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘छिट्टै खोटाङबासीले समेत शेयर हाल्न पाउने अवस्था हुँदैछ।’

खोटाङ र ओखलढुंगाको रँभुवास्थित दुधकोसीमा बाँध हालेर निकालिने आकर्षक आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम आगामी ३० महिनामा पूरा गर्नेगरी इटली र जापानको संयुक्त इएलसि इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्यूजेक नामक कम्पनीले गत जेठ–१७ गतेदेखि गरिरहेको छ। एसियाली विकास बैंककै सहयोगमा सन् २०२४ सम्ममा काम सम्पन्न गर्नेगरी हाल आयोजनालाई प्राथमिकतामा राखेर छुट्टै विभाग गठन गरी काम भइरहेको छ। पौने एक खर्बको लागतमा पूरा हुने जलविद्युत आयोजनाबाट वार्षिक एक अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुने जनाइएको छ। प्राधिकरणका अनुसार खोटाङको लामीडाँडा बिमानस्थलबाट ११ किलोमिटर उत्तरपश्चिममा रहेको रँभुवा बजारमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ किलोमिटर हेडरेस सुरुङमार्फत पानी खसाएर विद्युत उत्पादन गरिने छ । आयोजनाका अनुशार १० बर्गकिलोमिटर क्षेत्रफल हुने जलाशयको ६८ करोड ७० लाख घनमिटर जलायश क्षमता हुनेछ । जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ सालमा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको थियो।

आर्थिक वर्ष २०७५÷०७६ को मध्यसम्ममा आयोजना निर्माणको टेन्डर आव्हान तथा सम्झौताको काम सकेर आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न गर्नेगरी २०७६÷०७७ देखि निर्माणका काम सुरु गरिने बताइएको छ। अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले आयोजनाको इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र बाँकी सम्भाव्यता अध्ययनको काम अढाई वर्षभित्र पूरा गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रकाशित: २३ कार्तिक २०७३ ११:०५ मंगलबार

कुलमानले भने– ३०० मेगावाटको दूधकोसी फास्ट ट्र्याकमा निर्माण