अर्थ

जुम्लाको तिला गाउँपालिकामा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा सञ्चालन

सौर्य ऊर्जा उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व कानुन मन्त्री नरेश भण्डारी। तस्बिर: गोल्डेन बुढा जुम्ला

जुम्लाको तिला गाउँपालिका -७ पोखरी गाउँमा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा निर्माण भएको छ।  

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व कानुन मन्त्री नरेश भण्डारीले रिवन र स्वईच थिचेर सौर्य ऊर्जाको उद्घाटन गरेका छन्। अहिले पोखरी गाउँका ६१ घरधुरी बत्तीबाट लाभान्वित भएका छन्। गाउँमा बत्ती बलेपछि स्थानीय हर्षित भएका छन्।  

कहिल्यै पनि बिजुली बाल्ने सपना पूरा नहुने पीडा लुकाएर बसेका स्थानीयहरु अहिले रातदिन सौर्य ऊर्जाको बिजुली बलेको देखेपछि खुसी छन्। सल्लाको दियालोको भरमा अन्धकार रात बिताउने उनीहरु सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौं देखिएको बिजुली बाल्ने धोको पूरा भएको अनुभूति भएको स्थानीय धनबहादुर रोकाया बताए। उनले भने, 'यो गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ।' 

तिला गाउँपालिकाका अध्यक्ष मोतिलला रोकायाले सौर्य ऊर्जाले ऊर्जा दिएको बताए। गाउँ त २४ घण्टा नै झिलीमिली भएको छ। त्योसँगै वर्षौंदेखि दियालोले कालो बनिसकेका मनमा समेत उज्यालो अनुभूति गरिएको छ।

वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ। सबै गरेर १ सय २१ घरमा बिजुली बालिएको छ। प्रत्येक घरमा ६ बल्भ राखिएका छन्। स्थानीय बिजकली रोकायाले टीभी र वाईफाई चलाउनसमेत सजिलो भएको बताइन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड ३४ लाख ९६ हजार ५ सय १० रुपैयाँको लागतमा सौर्य ऊर्जा बालिएको हो। जसमा ३० लाख रुपैयाँ तिला गाउँपालिकाको साझेदारी रकमसमेत हालिएको छ।

हावाबाट बिजुली निकाल्दा दिगो नहुने देखिएकोले सोलार सिस्टम जडान गर्ने गरी डीपीआर बनेको पूर्वमन्त्री नरेश भण्डारीले बताए। त्यहीबमोजिम वैकल्पिक ऊर्जाले बिजुली बालिदियो हो। जुम्लालाई लोडसेडिङमुक्त गर्ने गरी पहल भइरहेको उनले बताए।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर अमनुलहक अन्सारीले सौर्य ऊर्जाका माध्यमबाट बिजुली उत्पादनको काम सकिएको बताए। दुर्गम क्षेत्रमा गरिएको यो कामले निकै ठूलो राहत दिने उनको भनाइ छ।  

प्रकाशित: २१ फाल्गुन २०७९ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App