अर्थ

अमेरिकाद्वारा टिपिएस अवधि थप

काठमाडौं- अमेरिकी सरकारले २०७२ सालको भूकम्पबाट विस्थापित भएका र २०७२ असार ९ गते वा सोअघि निरन्तर र शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित रहँदै आएका नेपालीका लागि अस्थायी संरक्षण हैसियत अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को समावधि थप गरेको छ। २०७३ पुस १० गते म्याद समाप्त हुने योजनामा रहेको टिपिएस अब २०७५ असार १० गतेसम्मका लागि बढाइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त हैसियत प्राप्त गरिसकेका नेपालीले टिपिएसका लागि पुनः दर्ता गरी आफ्नो रोजगारी स्वीकृतिसम्बन्धी दस्तावेज (इएडी) को नवीकरणका लागि दरखास्त दिनु पर्ने भन्दै दूतावासले एक अस्थायी सुविधाका रूपमा रहेको टिपिएसले वैध स्थायी बासिन्दा (एलपिआर) वा अन्य कुनै आप्रवासी हैसियत नदिलाउने पनि जनाएको छ।

२०७२ असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस) ले २०७२ वैशाख १२ गतेको भूकम्पबाट विस्थापित भई अमेरिकामा रहेका नेपालीका लागि अस्थायी रूपमा टिपिएसको व्यवस्थाको घोषणा गरेको थियो।

अमेरिकी दूतावास सर्वसाधारणलाई भिसा तथा टिपिएससम्बन्धी झुट्टा आश्वासनबारे सचेत रहन सल्लाह दिँदै टिपिएस के हो र यस प्रक्रियाले कसरी काम गर्दछ भन्ने कुरा राम्ररी बुझेर मात्र निर्णय गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०४:०२ शुक्रबार

अमेरिकाद्वारा टिपिएस अवधि