अर्थ

आत्मनिर्भर नहुँदा फूल आयात रोकिएन

पोखरा- नेपाल राष्ट्र बंैकले१५ देखि २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगानी गर्न वित्तीय संस्थालाई अनिवार्य गरेको छ। कृषि क्षेत्रलाई प्रोत्साहन गर्न राष्ट्रबैंकले यो नीति ल्याएको हो। तरपनि कृषिका लागि ऋण लिने क्रम अझै बढ्न सकेको छैन। त्यसको प्रत्यक्ष असर तिहारका लागि चाहिने सयपत्री र मखमली फूल उत्पादनमा समेत परेको छ।

स्वदेशी उत्पादन कम हुँदा पोखराले अझैपनि तिहारमा लाखौं रुपैयाँकोफूल भारतबाट आयात गर्नुपरेको छ। बैंक तथा वित्तीय संस्थाबाट सहजै कृषि कर्जा लिएर फूल खेती गर्न सकिने भएपनि कृषक त्यसतर्फ आकर्षित हुन सकेका छैनन्। यसले गर्दा तिहारमा सधैं भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता हट्न सकेको छैन।'पुष्पखेतीमा किसानले ६ प्रतिशत ब्याजदरमा कर्जा पाउँछन्। तर किसान कृषि कर्जा चाहियो भन्न आउँदैनन्,' ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विश्वमोहन अधिकारीले भने, 'कृषि कर्जा लिएर फूल उत्पादन बढाउन सकिने पर्याप्त आधार छन्। तर, यसप्रति किसान जागरुक छैनन्। वित्तीय संस्थाले सजिलै कर्जा दिन्छन्।'

वित्तीय संस्थाबाट सहजै ऋण लिएर फूल खेती गर्ने हो भने तिहारका लागि भारतबाट मखमली र सयपत्री आयात गर्नुनपर्ने उनले बताए। 'कृषि क्षेत्रमा कुनैपनि काममा ६ प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म कर्जा दिन सकिन्छ। गाउँको जग्गा धितो राखेर पनि ऋण दिइन्छ,' उनले भने, 'तर, किसानले चासो लिनुपर्छ। स्वदेशी उत्पादन बढाउने चाहना किसानमा पलाउनु जरुरी छ। अपुग भए बाहिरबाट आइहाल्छ भन्ने भावना विकास भएकाले पनि आत्मनिर्भर हुन नसकेका हौं।'

सरकारले कृषिमैत्री वातावरण सिर्जना गर्न नसकेकाले उत्पादनशील क्षेत्रमा कर्जा लिने चासो कम भएको उनले बताए। 'सरकारले फूल खेती गर्दा सस्तोमा ब्याज दिन्छ भनेर सन्देश किसानसम्म पुर्‍याउने हो भने सहज हुन्छ। हामीलाई कर्जा दिन बाध्यकारी छ,' उनले भने, 'किसान बैंकको ढोकासम्म पुग्न सकेनन्। सस्तो ब्याजदरमा ऋण लिएर फूल खेती गर्न सकिन्छ भन्ने सन्देश पाएका छैनन्।'

गरिमा विकास बैंंकका सिइओ गोविन्द ढकाल पनि उत्पादनशील क्षेत्रको कर्जाले कृषि उत्पादन बढाउन सकिने बताउँछन्। 'जग्गा हुनेले सहजै ऋण पाउँछन्। त्यही ऋणलगानी गरेर नाफा कमाउन सकिन्छ। यसले तिहारको फूल आयातसमेत घटाउँछ,' ढकालले भने, 'व्यावसायिकता अपनाउने हो भने केही वर्षमै तिहारमा फूल आयात होइन, निर्यात गर्न सकिन्छ। मात्र किसानमा आँट हुनुपर्छ। वित्तीय संस्था लगानी गर्न तयार छन्।'

व्यवसायीका अनुसार कास्कीमा ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फूल खेती गरिन्छ। नियमितबाहेक तिहारका लागि मखमली र सयपत्री फूल खेती गर्ने किसान पनि छन्। तिहारमा मात्र पोखरा र आसपासका जिल्लामा करिब २ करोड ५० लाख रुपैयाँको फूल बिक्री हुन्छ। त्यसमा करिब ५० लाख रुपैयाँको फूल अझैपनि भारतको कोलकाताबाट आयात गर्नुपरेको छ।

'स्वदेशी उत्पादन बढाउन नसकेकाले हामी अझैसम्म भारत निर्भर हुनुपरेको हो,' पुष्प व्यवसायी दीलबहादुर गुरुङ भन्छन्, 'मेहनत गर्ने हो भने फूलखेतीमा आम्दानी कम छैन। तर, लगानी गर्न डराउनु भएन। माटोसँग खेल्न सक्नुपर्छ। आम्दानी राम्रो छ।' मलेसियामा ३ वर्ष फूलखेतीमा काम गरेको अनुभवले पोखरा बिरौटामा ४ रोपनी जग्गा भाडामा लिएर पुष्प व्यवसाय गरेका उनले वर्षमा कम्तीमा १५ लाख रुपैयाँ कमाउँछन्।

'पोखरामा ठूलो क्षेत्रफल जग्गा भाडामा लिएर फूलखेती गर्ने हो भने नराम्रो छैन। टनेल बनाएर धैर्यसाथ काम गर्नुपर्छ,' उनले भने, 'हामी अलि छिटो नाफा कमाउन खोज्छौं। त्यसले पनि असर परेको हो। पर्याप्त उत्पादन बढाउन सक्ने हो भने तिहारमा भारतबाट फूल आयात गर्ने होइन, हामी भारततर्फ निर्यात गर्न सक्छौं।'

उनले तिहारमा सयपत्री फूलको एक थुंगालाई ५ रुपैयाँमा बेच्छन्। 'तिहार बाहेक पोखरा पर्यटकीय क्षेत्र भएकाले यहाँ अरुबेला पनि फूलको व्यवसाय राम्रो हुन्छ। होटल सजाउन र कार्यक्रम भइरहने भएकाले बाह्रैमास व्यापार हुन्छ,' गुरुङले भने।

फ्लोरिकल्चर एसोसिएसन, कास्कीका अध्यक्ष दयाकुमार दुवाले अघिल्ला वर्षको तुलनामा योपटक फूलको स्वदेशी उत्पादन केही बढेकाले भारतबाट आयात घट्ने बताए। 'भारतबाट अझैपनि ५० लाख रुपैयाँको फूल आउँछ। स्वदेशी उत्पादन बढाउन सक्ने हो भने तिहारको फूलमा हामी आत्मनिर्भर बन्न सक्छौ,' उनले भने, 'सरकारले बीउबिजन, अनुदान दिने हो भने उत्पादन बढाएर आत्मनिर्भर बन्न सकिन्छ।' वित्तीय संस्थाले कृषि कर्जा दिने भनेपनि त्यो सहज नभएको उनले बताए।

प्रकाशित: ११ कार्तिक २०७३ ०३:५८ बिहीबार

आत्मनिर्भर नहुँदा फूल आयात रोकिएन