अर्थ

फागुन दोस्रो साता धरान एक्स्पो

आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले फागुन दोस्रो साता धरान एक्स्पो हुने भएको छ। सुनसरी उद्योग वाणिज्य संघले धरान १६ स्थित रंगशालामा फागुन ११ गतेदेखि २० गतेसम्म धरान एक्स्पो २०७९ आयोजना गरेको छ। संघले बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागि आवश्यक अस्थायी संरचना तथा स्टलहरूको तयारी तीब्ररूपमा भइरहेको जानकारी दिएको छ। एक्स्पोमा नेपालका कृषि, घरेलु तथा ठूला उद्योगहरूको उत्पादन बिक्री प्रर्दशनीमा राखिनेछ भने भारत, बंगलादेश र पाकिस्तानबाट पनि व्यावसायिक स्टलहरू राखिने संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।  

एक्स्पोमा डोम (ह्याङ्गर) को प्रयोग गरेर स्टलहरूलाई सुरक्षित राखिने पनि उनले बताए। धरानमा पहिलो पटक उत्सव तथा महोत्सवमा डोम प्रयोग गरिन लागेको हो। डोम भित्र ७० वटा स्टल हुनेछ भने बाहिर पनि थप ७० वटा स्टल हुनेछ। डोममा स्टल राख्दा हावा, पानी, हुरीबतासले पनि कुनै नोक्सानी नहुने अध्यक्ष श्रेष्ठले बताए।

एक्स्पोमा दैनिक ३० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ भने दैनिक १ करोडको दरले एक्स्पो अवधिभर १० करोड कारोबार हुने अपेक्षा गरिएको संयोजक गोपाल श्रेष्ठले बताए। एक्स्पोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरलगायतका जिल्लाबाट मानिसहरू अवालेकन तथा व्यापार गर्न आउने उनले बताए। ‘धरानको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएको छ। यो एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई माथि उठाउँछ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ। एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्न आयोजना गरिएको स्टल व्यवस्थापन संयोजक विष्णु बरालले बताए।

प्रकाशित: ८ फाल्गुन २०७९ ०१:३२ सोमबार