अर्थ

ठमेल परिषद्का अध्यक्ष बर्खास्त, कावा अध्यक्षमा गुरुङ

काठमाडौं—ठमेल पर्यटन विकास परिषद्को कावा अध्यक्षमा व्यवसायी समिर गुरुङ चुनिएका छन्। परिषद्को विशेष साधारणसभाले अध्यक्ष रामशरण थपलियालाई हटाई वरिष्ठ उपाध्यक्ष गुरुङलाई कावा अध्यक्षको जिम्मेवारी दिएको हो। केही दिनदेखि परिषद्मा नेतृत्वको कार्यशैली ठीक नभएको भन्दै विरोध हुँदै आएको थियो। 

परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठको संयोजकत्वमा रहेको समितिले थपलियालाई हटाएको हो। संस्थालाई एकलौटी ढङ्गले चलाइँदै आएको आरोप लगाउँदै थपलियालाई अध्यक्षबाट हटाइएको असन्तुष्ट व्यवसायीको भनाइ छ। संस्थाको विधान संशोधन गराएर थपलिया फेरि अध्यक्ष बन्ने खेलमा लागेको केही सदस्यले आरोप लगाएका छन्। 

कावा अध्यक्ष गुरुङले ठमेललाई साइबर सिटी बनाइने घोषणा गरेका छन्। गुरुङले तीन महिनाभित्र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए। 'मेरो उद्देश्य ठमेललाई हरियाली र सफा बनाउने हो', उनले भने। 

अदालती प्रक्रियामा जान्छुः थपलिया 
अध्यक्ष थपलियाले आफूलाई अवैध ढङ्गबाट हटाइएको भन्दै अदालती प्रक्रियामा जाने बताए। ठमेलमा पत्रकार सम्मेलन गरी उहाँले आफूलाई बदनाम गराउन केही व्यवसायी लागिपरेको आरोप उल्लेख गरे। 'मलाई कसैले हटाउन सक्दैन। मेरो कार्यकाल अझै छ महिना छ। म समयमै निर्वाचन गराएरै छाड्छु। म उनीहरुलाई मेराविरुद्ध दुई तिहाइ पुर्‍याउन चुनौती दिन्छु', उनले भने। रासस

प्रकाशित: ३ आश्विन २०७३ १३:३९ सोमबार

ठमेल परिषद्का अध्यक्ष बर्खास्त कावा अध्यक्षमा गुरुङ