अर्थ

नेपालसमेत संस्थापक रहेकाे एअार्इअार्इबीकाे सदस्य बन्न क्यानडा इच्छुक

बेइजिङ– क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ। क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ।

क्यानडाली अर्थमन्त्री बिल मोर्नले उक्त देशले चिनियाँ अग्रसरता र लगानीको बैंक एआइआइबीको सदस्यताका लागि आवेदन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए। उनले यस विषयमा निर्णय भइसकेकोले अब आवेदनको प्रक्रियामा जाने धारणा राखे। 'यो सदस्यता आफ्नो देशका लागि एक अवसर पनि हो,' उनले भने।

हालैका दिनमा यस बैंकका बारेमा विश्वव्यापी रुपमा विभिन्न प्रतिक्रियाहरु आउने गरेका छन्। कतिपयले यसलाई विश्वबैंकको एक प्रतिद्वन्दी बैंकका रुपमा पनि लिने गरेका छन्।

यस्तै फिलिपिन्समा मुख्यालय रहेको एसियाली बैंकको अर्काे प्रतिश्पर्धीका रुपमा पनि विश्वका केही अर्थशास्त्रीहरुले लिने गरेका छन्। उक्त बैंकले यसै वर्षको सुरुवातदेखि नै आफ्नो कार्यारम्भ गरेको छ। सो बैंकमा सदस्यताका लागि चीनले विश्वका सबै देशलाई आग्रह गरेको छ।

उक्त बैंकका अध्यक्ष जिन लिछुङले क्यानडाले यो निर्णय गर्नुले उक्त बैंकले आफ्नो कार्य सुरु गरेको केही समयमा नै प्रगति गरेको भनेर बुझ्न सकिने जानकारी पनि दिए। 

उक्त बैंकमा नेपाल पनि संथापक सदस्य रहेकाे तथा चीनमा मुख्यालय रहेकाे उक्त बैंकमा हाल ५७ राष्ट्र सदस्य छन्।

 

प्रकाशित: १५ भाद्र २०७३ १०:४६ बुधबार

नेपालसमेत संस्थापक रहेकाे एअार्इअार्इबीकाे सदस्य बन्न क्यानडा इच्छुक