अर्थ

सेयर बजार निरन्तर ओरालो

काठमाडौं- सेयर बजार निरन्तर ओरालो लागेको छ । तीन दिनमा सेयर बजार मापक नेप्से ५१ बिन्दुभन्दा बढीले घटेको छ।

साताको सुरुको दिन आइतबार नेप्से १५ बिन्दुले घटेको थियो । दोस्रो दिन सोमबार १७ र मंगलबार झरेको करिब १९ बिन्दुले झरेको छ ।

सामान्यतया साउनदेखि भदौसम्म सेयर बजार बढ्ने गर्छ । अरु बेला भने बजार घट्ने गर्छ ।

त्यस विपरीत यो साताको सुरुदेखि बजार दैनिक दोहोरो अंकले ओरालो लाग्न थालेको छ । सातको पहिलो दिन आइतबार र सोमबार दोहोरो अंकमा घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले घट्न पुग्यो ।

मंगलबार एक अर्ब ४२ करोड बराबरको सेयर किनबेच भएको छ । कारोबारमा आएका उत्पादनबाहेक अन्य सबै समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो ।

आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुने हुँदा पनि बजारमा त्यसले सकारात्मक प्रभाव पार्ने गर्छ तर त्यस विपरीत अहिले उच्च नाफा सहितका वित्तीय विवरण सार्वजनिक भइरहँदा बजार ओरालो लागेको छ । उर्लंदो बजारमा नाफा कमाएका लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा सुधार देखिएको विश्लेषकको भनाइ छ ।

मंगलबार मात्र लक्ष्मी, सनराइज, सिद्धार्थ, प्रभु लगायत वाणिज्य बैंक र अन्य कम्पनीले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा उच्च नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेका छन् । यसअधि एनबी बैंक, ग्लोबल आइएमई, सानिमा, सिटिजन्स र एनआइसी एसियाले पनि वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

मंगलबार १ सय ३९ कम्पनीको सेयर किनबेच भयो । करोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । मंगलबार नेप्से १८.९४ बिन्दुले घटेर १८२६.४७ अंकमा आएको छ ।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै बिमा समूहमा १ सय ४६ बिन्दुको गिरावट देखिएको छ भने होटलमा ३७, जलविद्युत २९ बिन्दुभन्दा बढीले ओरालो लागेको छ । वाणिज्य बैंक, विकास बैंक, वित्त र अन्य समूह पनि ओरालो लागेका छन् । बजारलाई धेरै प्रभाव पार्ने वाणिज्य बैंक समूह नै १८.३ बिन्दुले झरेको छ ।

घटेको बजारमा ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसपछि धेरै कमाउनेमा परेको बोटलर्स नेपालको ६ प्रतिशतले बढेको छ । महिला सहयात्रा माइक्रोफाइनान्स, लक्ष्मी भ्यालु फन्ड–१, साझा विकास बैंक लगायत कम्पनी धेरै कमाउनेमा परेका छन् ।

प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको बजारमा लुम्बिनी फाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स, सिन्धु विकास, एनआइडिसी क्यापिटल, एस डेभलपेमन्ट बैंक र एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले पनि गुमाए ।

यस दिन प्राइम बैंकको सबैभन्दा बढी १९ करोड रुपैयाँभन्दा बढीको काराबोर भएको छ । प्राइमको ३३ प्रतिशत हकप्रदका लागि सेयर किन्ने अन्तिम दिन मंगलबारै भएकाले पनि उच्च कारोबार भएको हो । सिद्धार्थ बैंकको पनि ११ करोड बराबरको कारोबार भएको छ । नेपाल बैंकको झन्डै ८ करोड बराबरको कारोबार हुँदा एनबी बैंकको ७ करोड बराबरको सेयर किनबेच भयो ।

प्रकाशित: १९ श्रावण २०७३ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App