अर्थ

मोरङ–सुनसरी ७ जुट उद्योग बन्द

पथरी (मोरङ)– मोरङ–सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन्।सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन्। नेपाल जुट उद्योग सङ्घका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन्।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण धेरै उद्योग बन्द हुन पुगेका हुन् । अहिले नेपाल जुट इन्डस्ट्रिज, अरिहन्त मल्टिफाइबर्स, बाबा जुट र स्वस्तिक जुट सञ्चालनमा छन्।

जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छा भारतीय उत्पादनसित नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द हुन पुगेका बताए। यस्तै बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा उद्योग बन्द गर्नुपरेको बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडाको भनाइ छ।

जिल्लाका नरेश राठीको गुह्श्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग, विराटनगर जुट मिललगायत उद्योग बन्द छन्। उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवाल डेढ मेगावाट बिजुली दिन सरकारले नसकेपछि ती उद्योग बन्द भएका बताए।

“सरकार गम्भीर नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आइपरेको हो,” उनले भने। चारवटा उद्योग बन्द हुँदा करिब रु. एक सय करोड नोक्सानी भएको उद्योग सञ्चालकहरुको भनाइ छ। उद्योग बन्द हुँदा करिब पाँच हजार मजदुर र कर्मचारी बेरोजगार बनेका बताइएको छ। रासस

 

प्रकाशित: ९ असार २०७३ ११:३१ बिहीबार

मोरङ–सुनसरी जुट उद्योग