अर्थ

विमानस्थलले प्याराग्लाइडिङ विस्थापित हुनसक्ने

पोखरा- पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान विस्थापित हुनसक्ने भन्दै त्यसका लागि वैकल्पिक क्षेत्र खोज्न पर्यटन मन्त्रालयले यहाँका प्याराग्लाइडिङ व्यवसायीलाई अनुरोध गरेको छ।

चार वर्षभित्र विमानस्थल बन्ने भएकोले विस्थापित हुँदाका दिन नै उडान थाल्ने गरी अहिले नै प्याराग्लाइडिङ व्यवसायीले वैकल्पिक क्षेत्र खोजी गर्नुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले विमानस्थल बनेपछि हालको क्षेत्रमा भइरहेको प्याराग्लाइडिङ उडानमा अवरोध आउन सक्ने भएकोले अहिले नै वैकल्पिक उड्डयन क्षेत्र पहिचान गर्न व्यवसायीलाई सुझाए।

'अहिले प्याराग्लाइडिङ उडान भइरहेको ठाउँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक पर्ने भएकोले भविष्यमा ती ठाउँबाट उडान गर्न नपाइन सक्छ,' उनले भने, 'त्यसैले अहिले नै विकल्प सोच्दै जानुपर्छ। विस्थापित हुनुपरेको खण्डमा जाने ठाउँ यकिन गर्नु उपयुक्त हुन्छ।'

चिनियाँ कम्पनीले निर्माण गर्ने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको 'प्रोस्युडर डिजाइन' भइसकेको छैन। उक्त डिजाइनपछि प्याराग्लाइडिङ विस्थापित हुने, नहुने यकिन हुने पनि उनले बताए। 'विस्थापित हुँदाको दिन अन्यत्र गएर उडान गर्नका लागि व्यवसायी तयार हुनुपर्छ। अहिले नै हामीले विस्थापित भइहाल्छ भन्न सक्दैनौं। तर, विकल्प खोज्दा उपयुक्त हुन्छ,' लामिछानेले भने, 'विमानस्थलको धेरै नजिक भएकोले विस्थापित हुने सम्भावना अधिक छ।'

प्रोस्युडर डिजाइनमा जहाजको टेकअफ, ल्यान्डिङ, होल्ड गर्ने ठाउँ निश्चित हुने भएकोले हाल उडान भइरहेको क्षेत्रमा प्याराग्लाइडिङ उडाउन रोक लाग्न सक्ने उनले बताए। 'हामीले पनि सकेसम्म पोखराको प्याराग्लाइडिङ विस्थापित नहोस भन्ने चाहेका छौं। तर, विमानस्थल बनेर जहाज आएको खण्डमा प्राविधिक समस्या पर्न सक्छ,' उनले भने, 'विमानस्थल बनेर उडान हुनासाथ प्याराग्लाइडिङ विस्थापित हुँदा समस्या पर्न सक्छ। त्यही भएर अहिले नै विकल्प खोज्नुपर्छ भनेका हौं। भविष्यमा भनेको बेला प्याराग्लाइडिङलाई उपयुक्त र प्राविधिक रुपले उपयुक्त स्थान नभेटिन सक्छ।'

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले पनि विमानस्थल बनेपछि पोखराको प्याराग्लाइडिङ विस्थापित हुन सक्ने बताए। उनले अहिले उडान भइरहेको सराङकोट र तोरीपानी क्षेत्रबाट केही टाढा गएर उडान गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको बताए। 'एयरस्पेस भित्र पर्नु भएन। केही समयभित्रै यसबारेमा टुंगो लाग्नेछ। चिनियाँ कम्पनीसँग बसेर यकिन गर्नेछौं,' पोखरेलले भने, 'जहाजको डिपार्चर र अराइभलको अवस्था अनुसार प्याराग्लाइडिङ उडानको क्षेत्र निर्धारण हुन्छ। तर विस्थापित हुने सम्भावना छ। विकल्प खोज्दा राम्रो हुन्छ।'

अहिले पोखरामा सराङकोट र तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान भइरहेको छ। सराङकोटबाट २० र तोरीपानीबाट ४२ गरी ६२ कम्पनीले यहाँ प्याराग्लाइडिङ गराउँदै आएका छन्। पोखराको क्षेत्रीय अन्तर्राििष्ट्रय विमानस्थलको टावरबाट सराङकोट करिब ४ माइल दुरीभित्र पर्ने भएकोले उडान हुँदाको दिनदेखि सराङकोटबाट प्याराग्लाइडिङ विस्थापित हुन सक्ने हवाई उड्डयन क्षेत्रका एकजना प्राविधिकले बताए। ती प्राविधिकका अनुसार तोरीपानीको प्याराग्लाइडिङ उडान क्षेत्र रहन सक्ने सम्भावना पनि छ।

'यो सबै प्रविधिमा भर पर्छ। विमानस्थलमा उच्चतम प्रविधि जडान भयो भने सराङकोटको उडान बन्द भएर तोरीपानीको रहन पनि सक्छ। तोरपानी र सराङकोट दुवै ठाउँका उडान बन्द हुन पनि सक्छन्,' ती प्राविधिकले भने, 'पोखराको प्याराग्लाइडिङ विस्थापित हुने अधिक सम्भावना छ।'

प्राधिकरणका हवाई सुरक्षा विभागका प्रबन्धक देवेन्द्र पाण्डेका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ माइलमा कुनै पनि उडान गर्न नपाइने अन्तर्राष्ट्रिय अभ्यास छ। कतिपय ठाउँमा त्योभन्दा कम दुरी पनि तोकिन सक्छ। तर, पोखराबारे अहिल्यै यकिन गर्न नसकिने उनले बताए। सराङकोट र विमानस्थलको दुरी निकै नै नजिक भएकोले विस्थापित हुने सम्भावना अधिक रहेको उनले बताए। 'नयाँ विमानस्थलसँगै 'स्पेस स्ट्रक्चर' तयार हुन्छ। त्यसपछि मात्र कुन ठाउँको प्याराग्लाइडिङ विस्थापित हुन्छ भन्न सकिन्छ,' पाण्डेले भने।

नेपाल हवाई खेलकुद संस्था (एनएए) का कार्यबाहक अध्यक्ष सोबित बानियाँ वैकल्पिक ठाउँ खोज्ने बताउँछन्। 'विमानस्थल बने पनि अहिलेकै ठाउँबाट उडान गर्ने प्रयास गर्छौं। तर नमिलेको खण्डमा अन्यत्र पनि जानुपर्ने हुन सक्छ। त्यसका लागि तयार हुनैपर्छ,' उनले भने, 'अन्तर्राष्ट्रिय अभ्यास पनि हामीले अध्ययन गर्नेछौं। विमानस्थल बनेपछि विस्थापित हुनुपर्ने अधिक सम्भावना भएकोले अहिलेदेखि नै हामीले पनि केही तयारी थालेका छौं।'

प्रकाशित: ५ असार २०७३ ०७:३९ आइतबार

विमानस्थलले प्याराग्लाइडिङ विस्थापित हुनसक्ने