अर्थ

पर्यटकीय गन्तव्य बन्दै पामडाँडा

पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। इच्छाकामना गाउँपालिका-५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ। मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो ठाउँमा पुग्न सकिन्छ। मुग्लिनबाट त्यहाँ पुग्न दैनिक बोलेरो जिप चल्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ।

प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचार-प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका-५ का वडा सदस्य तारा गुरुङले बताए। उनले भने, ‘हिमशृङ्खलाको आकर्षक दृश्यसँगै यहाँबाट त्रिशूली नदीमाथि पामडाँडाबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवा जस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ। कात्तिक, मंसिर, पुस र फागुनसम्मै पामडाँडाबाट तल कुहिरो देखिने उनले बताए।

‘हिजोआज मध्याह्न १२ बजेसम्मै कुहिरो देखिन्छ, उनले भने, ‘बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहूँ लाग्ने भएको छ।’

यतिबेला यहाँ लटरम्म सुन्तला फलेका छन्। यसले पनि यहाँको दृश्य थप मनोरम बनाएको छ।

यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङले बताए। उनका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ। पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ। यहाँ पुग्ने १५/२० जना पाहुना राख्न सक्ने क्षमता यहाँका घरवास (होमस्टे)को व्यवस्था गरिएको छ।

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ। गुरुङ समुदायको खुलाल जाति मात्र बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू यहाँ आएर बसेको उनले बताए। यहाँबाट नजिकैका चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ।

पामडाँडाको पर्यटन विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्ने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। उनले सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको बताए।

प्रकाशित: १८ मंसिर २०७९ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App