अर्थ

निर्वाचनले पनि शेयर बजारमा उत्साह थपेन

प्नितिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि मंगलबार खुलेको शेयरबजार ७.१३ अंकले घटेर १९२९.७० अंकमा झरेको छ। धेरैले निर्वाचनपछि शेयरबजारमा उछाल आउने अपेक्षा गरे पनि निर्वाचनपछि अहिलेसम्म मतगणनाको स्पष्ट रुझान आइनसकेकाले शेयरबजार स्थिर हुन नसकेको हो। शेयरबजार गत मंसिर १ गतेदेखि बन्द भएको थियो।  

निर्वाचन अघि २५.५७ अंकले बढेर बन्द भएको शेयरबजार मंगलबार भने एक्कासी ७.१३ अंकले घटेको थयो। मंगलबारको शेयरबजार निकै उतारचढावपूर्ण देखियो। सुरुआती चरणमा १९५९ अंकसम्म पुगेको शेयर बजार मंगलबार कारोबार बन्द हुने बेला भने घटेर बजार बन्द भएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३५ करोड ८८ लाख ५ हजार ७ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार ५२ कम्पनीको शेयरमा वृद्धि भएको थियो भने १३२ वटा कम्पनीको शेयर घटेको थियो।  

६ वटा कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका तीन वटै परिसूचक मंगलबार घट्यो। मंगलबार सबैभन्दा धेरै बढ्ने कम्पनीमा जानकी फाइनान्स कम्पनी रह्यो। सो कम्पनीको शेयर ६.२३ प्रतिशतले वृद्धि भएको थियो। त्यसैगरी सबैभन्दा धेरै घट्ने कम्पनीमा युनिलिभर कम्पनी रह्यो। सो कम्पनीको शेयर ५.५८ प्रतिशतले घटेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार सेन्सेटिभ सूचक १.४६ अंकले घटेको छ भने फ्लोट परिसूचक ०.२१ अंकले घटेको छ।  यसैगरी सेन्सेटिभ फ्लोट ०.१७ अंकले घटेको छ। सेयर बजारका १३ वटै उपसूचकमध्ये मंगलबार दुईवटा उपसूचकहरू मात्रै बढेका छन्। मंगलबार उपसूचकमध्ये बैंकिङतर्फ १.२६ अंकले बढेको छ। त्यसैगरी जीवनबिमातर्फ २.३६ अंकले वृद्धि भएको छ। 

प्रकाशित: ७ मंसिर २०७९ ०२:२३ बुधबार

सेयर कारोबार