गैरआवासीय नेपाली संघको आयोजनामा भएको विश्वव्यापी वक्तृत्वकला प्रतियोगित म्यानमारकी अभिलाषा खतिवडाले जितेकी छन् । 'राष्ट्रका लागि मेरो सपना' शीर्षकमा आइतबार आयोजित प्रतियोगितामा खतिवडाले २९ देशका ६१ जना प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हासिल गरेकी हुन् । यस्तै रसियाकी समिरा केसीले दोस्रो स्थान, प्रतियोगिताकै कान्छी प्रतियोगी बेलायतकी टिया आचार्यले तेस्रो स्थानमा आउन सफल भइन् ।
यस्तै चौथौं स्थान जस्मिन सायद (साउदी अरब) र सुहिम थापा (नाइजेरीया) ले प्राप्त गरेका छन् भने थाइल्याण्डकी दाङ्ग तिमल्सिना (संजना) ले पाँचौ पुरस्कार प्राप्त गर्न सफल भइन् । प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले साठी हजार, तेस्रो हुनेले चालिस हजार नगद र प्रमाणपत्रसहित पुरस्कार जिते । चौथो र पाँचौ प्रतियोगिले बीस बीस हजारको नगद पुरस्कार प्राप्त गरे भने लिटिल मास्टर र राइजिङ्ग स्टार टाइटलका लागि तीस तीस हजार रुपैयाँका साथै प्रमाणपत्र हासिल गरेका थिए ।
प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगी मध्यबाट अष्ट्रियाकी दिव्या ढकालले लिटल मास्टरको टाइटल हासिल गरिन् भने अष्ट्रिया कै कुन्जन बोहोराले एनआरएन राइजिङ स्टारको टाइटल प्राप्त गरे ।
संघको एसिया प्यासिफीक युथ समितिको सकृयतामा आयोजित प्रतियोगिताको उद्घाटन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले गरेका थिए । उनले नेपालभन्दा बाहिर ८० लाख नेपाली भएको अर्को नेपाल रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियान देखिनै दोस्रो पुस्तालाई नेपालसंग जोड्न चाहेको बताए ।
निर्णायक मण्डलमा प्रकाश सायमी, सन्दीप क्षेत्री, समा थापा, सदीक्षा श्रेष्ठ तथा विशेष अतिथिका रुपमा भूषण दाहाल रहेका थिए । निर्णायक मंडलको संयोजन एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेलले गरेका थिए ।
प्रकाशित: २७ श्रावण २०७७ १३:५० मंगलबार