प्रवास

वेलायतमा नेपालीको आफ्नै उर्जा कम्पनी

लण्डन- भूतपूर्व गोर्खा समुदायद्वारा स्थापित एउटा स्वतन्त्र उर्जा कम्पनी जीनर्जीले बेलायतमा बसोबास गरिरहेका सबै गोर्खा तथा नेपाली समुदायलाई आफ्नो कम्पनीमा लगानी गर्न आह्वान गरेको छ।

शनिबार फार्नबरोमा आयोजित एक पत्रकार संमेलनलाई सम्वोधन गर्दै कम्पनीका अध्यक्ष सेवानिवृत्त मेजर कुलबहादुर थापाले जीनर्जी नेपालीकालागि नेपालीले खोलेको कम्पनी भएको बताए। उनले बेलायतमा बसोबास गर्ने झण्डै ११,००० घरपरिवार कम्पनीको ग्राहक बनीसकेको बताउँदै कम्पनीले गत आर्थिक वर्षमा एक करोड २० लाख पाउण्ड बराबरको कारोबार गरेको जानकारी दिए। उनले आफ्नो कम्पनीको शेयर अहिले धितोपत्र बजारमा प्रति शेयर १२ पेन्समा बिक्री भैरहेको बताउँदै लगानीकर्ताहरुकालागि जीनर्जीमा लगानी गर्न अहिले सुनौलो अवसर भएको पनि बताए।

झण्डै चार वर्ष अघि २०० भन्दा बढी अधिकांश नेपालीहरुदवारा २८ लाख पौण्डको शुरु पुँजी लगानी गरी स्थापित सो कम्पनीको ग्राहकहरुको घरघरमा बिजुली तथा ग्याँस आपूर्ति गर्ने गर्दछ।   

जीनर्जी कम्पनीका मुख्य कार्यकारी अधिकृत  सेवानिवृत्त मेजर टिकेन्द्रदल देवानले जीनर्जी एउटा समुदायले नेतृत्व गरेको कम्पनी भएको बताउँदै तीन वर्षको प्रारम्भिक कार्य र कर्मचारीहरुको वर्षौको तालिम पश्चात् ५ डिसेम्बर, २०१३ मा सीमित रुपमा कम्पनीलाई सञ्चालनमा ल्याइएको र २४ नोभेम्बर, २०१४ मा जीनर्जीको औपचारिक रुपमा उद्घाटन भएको जानकारी दिए। 

उनले बेलायतभरि नै सेवा विस्तार गर्न आफ्नो कम्पनी अनुमति प्राप्तरहेको जनाउँदै सन् २०२० सन् ३०,००० ग्राहक पुराउने लक्ष्य लिएर कम्पनीले काम गरिरहेको बताए। उनले अरु ब्रिटिश कम्पनीहरुको तुलनामा आफ्नो कम्पनीले वितरण गर्दै आएको ग्यास तथा विद्युतको दर  प्रतिस्पर्धात्मक र यथार्थपरक भएको दावी पनि गरे।

समुदायलाई पनि फाइदा पुगोस् भन्ने उद्देश्यले जीनर्जीले नेपालीहरुका समिति, समुदाय, संघसंस्था आदिको निम्ति लोयल्टी स्कीम खुल्ला राख्दै आएको पनि मेजर देवानले बताए। जसअनुसार सो स्कीममा योग्य हुनको लागी त्यस्ता संघसंस्थाहरुले कम्तिमा पनि १० घर जीनर्जीमा दर्ता गराउनुपर्ने र दर्ता गराए वापत उनीहरुले प्रत्येक घर अनुसार २० पाउण्डको दरले २०० पाउण्ड रोयल्टी पाउने जानकारी उनले दिए । 

कार्यक्रममा कम्पनीका संचालक समितिका महासचिव रामलाल श्रेष्ठले स्वागत गरेका थिए भने मशिनिस्ट्स ईंकका युरोप लिड डा. रेमण्ड डेभिस, वेल्सस्थित कम्पनी केडविथियो लिमिटेडका प्रबन्ध निर्देशक वेन क्रम्पटन तथा युके ( नेपाल फ्रेण्डशीप सोसाइटीका प्रमुख कार्यकारी डा. एलेन मर्सेल साङ्काले नेपालमा स्थिर सरकार बनेको र जलविद्युतमा शतप्रतिशत वैदेशिक लगानी खुला गरिएकाले जलस्रोत लगायतका क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउन आफुहरुले काम गरिरहेको बताएका थिए।

कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्था तथा जीनर्जीका साझेदार संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो। भूतपूर्व गोर्खाहरुले नै व्यवस्थापन गरिरहेको सो कंपनीमा २४ जना नेपाली युवाहरुले काम गरिरहेको तथा ती मध्ये १८ जनाले स्नातक गरेको कम्पनीले जनाएको छ। गत जुलाई २१ तारिखमा सम्पन्न सो कम्पनीको वार्षिक साधारणसभाले हालसंमको प्रगति विवरणबारे छलफल गर्नुकासाथै आगामी कार्ययोजना पनि पारित गरेको थियो।

 

प्रकाशित: २० श्रावण २०७५ ०८:३५ आइतबार

वेलायतमा नेपालीको आफ्नै उर्जा कम्पनी