प्रवास

जापानमा बेल विवाह सम्पन्न

जापानको टोकियोमा दोस्राे सामूहिक बेल विवाह ‘ईही’ सम्पन्न भएको छ। नेवा: अन्तर्रारष्ट्रिय फोरम जापानले टोकियोमा दोस्रोपटक सामूहिक बेल विवाह 'ईही' भव्यताका साथ सम्पन्न गरेको हो। भगवान बिष्णुकोरूपमा बेलसँग विवाह गर्ने यो नेवारी परम्परा बिदेशमा पनि गर्न पाउँदा सहभागी अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे।

टोकियो कोतो कु कितासुना गो चोमे दान्ची हलमा आइतबार सम्पन्न भएको कार्यक्रममा नौ जना बालिकाहरूको बेल विवाह गराइएको थियो। बालिकाहरू क्रमश: युना श्रेष्ठ, गाभास्ती तुलाधर, आसना पालिखे, अदिती श्रेष्ठ, तोमोमी साथी श्रेष्ठ, आइरी शाक्य, आकी राजभण्डारी, आएरा कर्माचार्य र साराना महर्जन आफ्नो परम्परागत भेषभुषा र गहनामा सजिएका थिए।

निकै आकर्षक देखिएका बालिकाहरूलाई हेर्न नेपाली तथा जापानिज आगन्तुकहरू हलभरि खचाखच भरिएका थिए। नेवारी परम्पराअनुसार विवाह कार्यक्रम पछी भोज गर्ने चलन छ। आयोजकले कार्यक्रम पश्चात् नेवारी परम्परागत भोज 'लप्ते भोज (झों भ्वय) समेत आयोजना गरेका थिए। बेल बिवाह समारोहमा जापानी, बेल विवाह गर्ने अभिभावकहरूको आफन्तजनहरू, अन्य सहभागीहरू समेत गरेर एक सयभन्दा बढीले सहभागिता जनाएका थिए। 

'विदेशमा रहेर पनि आफ्नो मौलिक परम्परा र संकृति छोड्न नसकिएकाले व्यस्त सहर टोकियोमा रहेर पनि यस्ता परम्परागत कार्यक्रमको आयोजना गरेका हौं,' फोरमका महासचिव शिव तण्डुकारले भने, 'संसारको जुनसुकै कुनामा रहेपनि हाम्रो परम्परा,संस्कृति अनि नेपालीपन हाम्रो मनमै हुन्छ।संस्थाले बुद्ध जयन्ति, क्वाटी पुन्ही, दशैं, म्ह पुजा जस्ता कार्यक्रम स्थापनाकाल देखि गर्दै आएको छ।' 

प्रकाशित: १८ वैशाख २०७५ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App