प्रवास

अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी

अमेरिका – नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन्। 

शुक्रबार सुरु भएको प्रदर्शनीमा भूकम्प पीडित कलाकारहरूले तयार गरेका चित्र, थाङका, मुर्ति, कलात्मक सामाग्रीहरु र विशेष रुचीका सामग्री रहेका छन् । नेपालीले तयार पारेका उक्त प्रदर्शनका सामग्रीहरू अमेरिकामा प्रदर्शन गर्ने व्यवस्था अमेरिकामा दर्ता भएके स्टोरी साइकल नामक संस्थाले गरेको हो । 

प्रदर्शनीमा राखिएका नेपालका हिमालका चित्र, कलात्मक मुर्ति,  हस्तकलाका सामग्रीहरू प्रति अमेरिकीहरूको विशेष चासो रहेको स्टोरी साइकलका क्युरेटर सौरभ ढकालले बताए। 

‘कतिपय सामग्रीहरू तीनसातासम्म प्रदर्शनीमा राख्नेगरी ल्याएका थियौँ,’  ढकालले भने–‘तर अन्तिम दिनसम्म सबै सामग्रीहरू अवलोकनकर्ताहरूले किनेर लगिसक्ने संकेत देखिएको छ ।’ 

दुईवर्ष अघि गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घर गुमाएका कलाकारहरूलाई सहयोग गर्नेगरी यो प्रदर्शनीमा नेपाली संस्था सहभागी भएको हो । ‘उनीहरूका कलाकृतिलाई बिक्री गरेर त्यसबाट उठेको रकमले घर बनाउन सहयोग होस् भनेर हामी यहाँसम्म आइपुगेका हौँ,’ ढकालले भने ।

शुक्रबार उद्घाटनका अवसरमा रोटरी फाउण्डेसनका अध्यक्ष पउल लाकोस, फोर्टवर्थ आर्ट काउन्सिलका अध्यक्ष करन विली, स्टोरी साइकल अमेरिकाका निर्देशक राम सी पोखरेल लगायतका व्यक्तिहरूको सहभागिता थियो । 

प्रदर्शनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कला शिविर र केही महिना अघि सिन्धुलीको दुम्जामा सञ्चालित कला शिविरमा तयार भएका चित्रकला राखिएको  छ । मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहेका छन् । त्यस्तै तासी लामा र जुनीलामाका थान्का पनि प्रदर्शनमा छन । 

हस्तकलामा क्राफ्टेड इन काठमाडौँले काठमाडौँका २५ भन्दा बढी कलाकारहरूको संकलन गरेको विविध कलामध्ये केही प्रदर्शन गरिएको छ । साथै प्रदर्शनीमा जेलमा तयार गरिएका केही हस्तकला पनि राखिएका छन् । 

त्यसैगरी  स्टोरी साइकलले विभिन्न ठाउँमा गरेको कला शिविरमा जम्मा गरिएको फोटोहरु प्रदर्शनमा छन । तीमध्ये फोटोग्राफर नबिन बरालले खिचेको लमजुङको हिमालहरुको फोटोमा विशेष आकर्षण रहेको छ भने सगरमाथा र बारपाक क्षेत्रका फोटो पनि आकर्षक छन् । 

नेपालको हिमाल, पहाड, तराई, कलासंस्कृतिका बारेमा जानकारी लिन सकिने यो प्रदर्शनीमा टेक्ससमा रहेका नेपाली समुदायको निकै चासोपूर्ण सहभागिता रहेको छ । अधिकांश नेपालीहरू आफ्ना परिवार र बालबालिका सहित नेपाली कलासंस्कृतिलाई चित्र र कलाको माध्यमबाट बुझ्नका लागि प्रदर्शनीमा गइरहेका छन् । 

स्टोरी साइकलले २०१५ देखि अमेरीकामा बिभिन्न कार्यक्रम गर्दै आएको  छ ।


 

प्रकाशित: २८ चैत्र २०७३ ०७:४८ सोमबार

अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी