चैत पहिलो साता हामी परिवारै सिक्किम गयौं। साँझ ससुराली पुगियो। ज्वाइँ आउने भनेर अनेकौं परिकार, ब्रान्डी र बियर व्यवस्था गरिएको थियो। पहिला पनि यस्तै मेजमान पाइन्थ्यो ससुरालीमा।
धमाधम मदिराको बिर्को खुल्न थाले, मैले तातोपानी मगाएँ। र, पिउन थालेँ, सबै छक्क परे। 'तातोपानी किन ज्वाइँ, बियर लिनुस् न' भन्दै गिलासमा खन्याउन थाले। भनिदिएँ, 'मैले त मदिरा पिउन छाडेको डेढ वर्ष भइसक्यो।'
मेरा कुरा सुनेर एकछिन् त सबै स्तब्ध भए। सायद 'ट्वाँके' ज्वाइँ सुध्रेला भन्ने कसैले कल्पनै गरेका थिएनन्। सायद पत्याउन गाह्रो भइरहेको थियो।
हाम्रो पुर्ख्यौली घर भोजपुरको फाली–देउराली हो। आमा सुनसरी जिल्ला हुलाकमा जागिर खानु हुन्थ्यो। त्यही बेला म धरानमा जन्मेँ। बाल्यकालका केही वर्ष काठमाडौंमा बिते। १३ वर्ष भएदेखि पहाड घरमा बस्न थालेँ।
गाउँमा मेलापर्म चल्छ। बर्खामा खेतमा बाउसे गर्न, मंसिरमा दाइँ गर्न जान्थ्यौं। खाजासँगै खेतालाले छानेको जाँड पाउँथे। जाँडको सुरमा एकोहोरिएर काम गरिन्थ्यो।
मेलामै हो मैले जाँड खान सिकेको। त्यसो त हाम्रो घरमै जाँडरक्सी पारिन्थ्यो। बोजु (हजुरआमा) ले रक्सी पार्नु हुन्थ्यो। जाँड खान थालेको थाहा पाएपछि बोजुले गोठालाबाट फर्किंदा हामीलाई डबकामा दिनुहुन्थ्यो। डबकाभरिको जाँड घुटुक्कै पार्थेँ।
हाम्रो संस्कृतिमा मर्दापर्दा रक्सी चाहिन्छ। पितृ पूजामा पनि। नुवागी (नयाँ अन्न भिœयाएपछि घरमा गरिने पूजा) मा तितेसँग जाँड रक्सी दिइन्छ। त्यसैले परिवारका केही सदस्य पिउँथे। तर, जँड्याहा कोही थिएनन्। म चाहिँ अपवाद निस्केँ।
चौध–पन्ध्र वर्षको उमेरदेखि नै जाँडको सुरमा उट्पटयाङ गर्न थालेँ। जँड्याहाको ग्रुप हुन्थ्यो। गाउँघरमा विवाह तथा पूजा हुँदा रातभर रमाइलो गर्थ्यौं। वरपरका गाउँमा पुगिहाल्थ्यौं। जग्गेमा गर्रा नृत्य हुन्थ्यो। दमाईंदाइले गर्रा बाजा बजाउँथे, हामी जाँडको तालमा बेफिक्री नाच्थ्यौं। बेग्लै आनन्द आउँथ्यो।
त्यही सुरमा वल्लो र पल्लो गाउँका केटाहरुसँग झगडा हुन्थ्यो। कहिले धुलाइ गर्थ्यौं भने कहिले धुलो होइन्थ्यो। बुबाआमा धरानमा बस्नु हुन्थ्यो। बाजे–बज्यू कराउनु हुन्थ्यो। अलिक दिन ज्ञानी बन्थेँ। फेरि त्यही सिलसिला सुरु भइहाल्थ्यो।
कलेज पढ्न काठमाडौं आउँदा केही वर्ष पिइएन। तर जब पत्रकारिताको जागिर सुरु भयो, पिउने क्रमले गति लियो। रंगरमाइला साथीसंगतले मज्जैले पिउन थालियो। प्रायः पिउने बहाना जुरिरहन्थ्यो। साथीहरु चन्द्रशेखर कार्की, विकास कार्की, भास्वर ओझा, किरण पाण्डे, केशव थोकर, भबिन लावती, शैलेन्द्र खरेललगायत सँगै बसेर पिउँथ्यौं। पिउँथ्यौं के भन्नु जम्थ्यौं।
सन् २००६ मा सिक्किमकी तामाङ युवतीसँग मेरो बिहे भयो। एक त सिक्किममा जाँडरक्सी सस्तो छ, अर्को ससुरालीमा पनि राम्रै चल्छ। ससुरालीमा मदिरापान राम्रै खपत गर्न थालियो। नढाँटी भन्दा उल्टी नहुन्जेल खाइन्थ्यो।
पत्रकारिताका दौरान नशाको तालमा केही घटना पनि भए। त्यतिबेला पुलिसले मापसे जाँच गर्दैनथ्यो। एक रात पार्टीमा यति धेरै पिएछु, सातदोबाटो जानुपर्नेमा बल्खुबाट बाइक अन्यत्रै मोडेछु। बसपार्क पुग्दा झल्याँस्स भएँ, कीर्तिपुर पो पुगेछु।
त्यहाँबाट फनक्क फर्केर बल्खु आएँं। त्यहाँ पुलमा सुरक्षा जाँच हुँदै थियो। त्यहीँ पुलिसलाई सोधेँ, 'हेर्नुस् न सातदोबाटो जानुपर्ने कीर्तिपुर पो पुगेछु, यो बाटो कहाँ पुग्छ होला?'
ती पुलिसले हाँस्दै भने, 'सोझै जानुस् सातदोबाटो पुगिन्छ।'
सन् २००७ को अर्को घटना, फोटो पत्रकारिता पढाउने जर्मन नागरिक डाक्टर क्लजलाई 'टि्रप्स' दिन हामी धुलिखेल पुगेका थियौं। पानी परेको थियो। केटाहरुले मलाई चिनियाँ रक्सी खुवाए। रेन डान्स गर्यौंक। त्यो दिन यति धेरै खाइएछ कि केटाहरुले मलाई घिसारेर सुत्ने कोठासम्म लानुपर्योक।
त्यतिबेला मलाई के भ्रम भयो भने कसैले मलाई मार्न जंगलतिर घिर्सादैछ। र म विरोधमा कराउँदैछु। मलाई साथीहरुले फ्रेस पार्न पानीमा चोबल्दा मैले विद्रोहस्वरुप तपसवरसिंह थापाको हातको नाडी र विकास कार्कीका छातीमा दाँत गाड्न पुगेछु।
भोलिपल्ट ओच्छ्यानमा साथीहरुले दाँतको डाम देखाएपछि बेलुकाको आफ्नो चर्तिकला थाहा पाएँ। उल्टी गरेकाले मलाई अर्धनग्न सुताइदिएका रहेछन्।
रक्सीसँग जोडिएका थुप्रै घटना छन् मेरो जीवनमा। सन् २००८ मा सगरमाथा आधारशिविरबाट फर्कंदा लुक्लामा बास बसेका थियौं। राति चक्र कार्कीले साथीको रिसोर्टमा मदिरापानको व्यवस्था मिलाए। ‰याप भएपछि मध्यरात लुक्ला एयरपोर्टको रनवेमा नारा लाउँदै ओल्लोछेउबाट पल्लो छेउ कुदियो। त्यतिबेला मलाई शालिग्राम तिवारी, विकास कार्की र अजय हमालले सम्हाल्न खोजेका थिए। तर, के सम्हालिन्थे!
भोलिपल्ट काठमाडौं विमानस्थल ओर्लंदासम्म रक्सीले मलाई हल्लाइरहेकै थियो।
अर्काे लमजुङको घटना याद छ। नेपाल पर्यटन बोर्डले पत्रकार टोली लगेको थियो। हामी लमजुङको सिउरुङ पुगेका थियौं। राति दोहोरीको सुरमा नारे पा (कोदोको रक्सी) चाख्दै नाच्यौं। कति खाइयो, खाइयो, चालै पाइएन।
नाच्दानाच्दै म पिसाब फेर्न बारीतिर निस्केको याद छ। आँखा खुल्दा मिर्मिरे उज्यालो भइसकेछ, मैले आफूलाई भीरमा रहेको रुखको फेदमा पाएँ। साथीहरु म कोठामै गयो होला भनेर आ–आफ्नो कोठामा सुतेछन्। म भने रातभर अनुहार रुखमा जोतेर खुला आकाशमुनि।
कति सुनाउनु यस्ता घटना, नशाकै तालमा सहकर्मीलाई झापड हानेको छु। भोलिपल्ट माफी पनि मागेको छु।
एकपटक हाम्रो टोलसुधार समितिले गोदावरी पिकनिक लगेको थियो। यति धेरै पिइयो, पिएपछि रमाइलो गर्नै पर्योआ। हल्ला पनि असाध्यै गरियो। फर्केर सातदोबाटो आएपछि मातेर झन् धेरै हल्ला गरेछु। घरमा आएपछि चार वर्षको छोरो प्रसंगले भन्यो, 'बुबा नुनु गर्नुस न!'
अबोध छोराको मधुर वाणी सुनेर म झस्किएँ। बल्ल मलाई पछुतो भयो। मैले बूढीको अगाडि छोरालाई छोएर कसम खाएँ, 'अब कहिल्यै रक्सी खान्नँ।'
डेढ वर्ष भयो, मैले रक्सी नछोएको। रक्सी छाडेँ भन्दा सुरुसुरुमा साथीभाइले पत्याएनन्। अचेल रक्सी खानेहरुको भिडमा तातोपानी चुस्की लिँदै रमाउँछु। र, मातेको मान्छेको हर्कत हेर्दै मनमनै गम्छु, 'कुनै बेला म पनि त यस्तै थिएँ नि।'
रक्सी छाडेपछि सबैभन्दा खुसी परिवार भयो। ढुक्क भयो उनीहरुलाई। रातिसम्म बाहिर बस्दा पनि बेलाबेला फोन आइराख्ने क्रम रोकियो। पहिला त छिनछिनमा श्रीमतीको फोन आइराख्थ्यो। अहिले परिवारको विश्वास कमाइयो। जँड्याहा छवि पनि सुधि्रयो।
प्रकाशित: ८ वैशाख २०७३ ०२:३० बुधबार