कला

जीवनको मोह

कविता

इन्द्रकुमार श्रेष्ठ सरित्

मेरो मन किन रुन्छस् मसँगै

समय छँदै हाँस्न सिकी हाल

भोलि कसले देखेको छ र

हाल-बेहाल हुन कति नै बेर लाग्छ र?

जीवन सम्हाल्ने

चाहना कसको नहोला र?

तर चाहनाहरू बिनाअर्थ

ओइलिन थाल्छन्, सुक्न थाल्छन्

जीवनलाई अँगालोमा बेरेर

झनै स्याहार्न मन लाग्छ

रातबिरात यही जीवनको चिन्ता लाग्छ

माया हो कि मोह हो यो

दिन प्रतिदिन यसैको तापले गाल्न थाल्छ

आँखा नरोए पनि मन रुन थाल्छ

ए जिन्दगी, निठुरी नबन!

बुझिदे, यो वितत संसारमा

मलाई सबैभन्दा धेरै तेरै माया लाग्छ।

प्रकाशित: २३ श्रावण २०७९ ०७:४१ सोमबार

अक्षर