कला

प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण

लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ। काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, लोकगायिका शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक एवम् यसको भाषिका आदिका विषयमा आधारित रहेर अन्तर्संवादसमेत गरेका थिए। उक्त अवसरमा आप्रवासनविद् गणेश गुरुङले प्राञ्जलीको उपन्यासले दुई भिन्न जातिको बीचमा भएको प्रेमको मार्मिक कथालाई सूक्ष्म रूपमा चित्रण गरेको बताए। लेखक एवम् अभिनेता खगेन्द्र लामिछानेले उपन्यास पढिरहँदा आफ्नै समाजका कथाव्यथा आँखाअगाडि आएजस्तो प्रतीत भएको बताए।

पानीघट्टमा सुरेश प्राञ्जली भाषासँग मज्जाले खेलेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए। कार्यक्रममा लेखक प्राञ्जलीले आफूलाई सानैदेखि गुरुङ एवम् रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको र त्यसको अभाव महसुस भएकाले आफैले उपन्यास लेख्ने जमर्काे गरेको बताए। यसअघि तुइनमा आफूले कर्णालीको जनजीवन र संस्कृतिलाई पस्किएको र अहिले गण्डकी भेगको कथा प्रस्तुत गरेको उनले जानकारी दिए। 

प्रकाशित: ११ असार २०७९ ०५:१० शनिबार

अक्षर