कला

शरणार्थी

लघुकथा

बालकृष्ण गजुरेल

धमिराले सताउन थालेपछि बल्लतल्ल गाउँमा पाँच लाखको लगानीमा सालको काठ हालेर घर बनाइयो। साहुको ऋण चुक्ता नगर्दै भूकम्पले भत्कायो। फेरि आपत्। छाप्राको बस्ती छाप्रामा नै पुग्यो। बाआमा बिरामी। सरकारी जागिर पाउन नेताका मानमर्दन गर्नुपर्ने तथा पैसा चाहिने। निजी क्षेत्रको जागिरले प्राण धान्न धौधौ। बचत शून्य। तीन वर्ष बिते। सरकारले भूकम्प पीडितको अनुदानमा ढिलाइ गर्‍यो।

विदेश जानै पर्ने अर्को विकल्प रह्यो। तीन वर्ष दुःख गरेर जसोतसो गाउँमा पक्की घर ठडाइयो। बसेको वर्ष दिनमा मेलम्चीको बाढीले सर्वस्व पायो। ठेगानाको नाममा नागरिकता मात्र बाँकी रह्यो। आमाबुवाको आँसु पुछ्न गाउँ आइयो। देखे र सुनेका नेता र मन्त्री सबैलाई हारगुहार लगाइयो। कसैले टेरपुछार लाएनन्। घर बनाउने जमिनसम्म नहुनेको सरकारले  विपत व्यवस्थापन कार्यक्रममा सम्झौतासम्म गरेन। आफ्नै देशमा शरणार्थी  बन्नु जतिको पीडा अरू हुँदैन रहेछ।

सरकारको भवनमा बसेका आमाबाले रुँदै भन्न थाले, ‘सप्ताह लगाउन गाउँलेले भवन खाली गर्नुस् भन्दैछन् बाबू! अब कता बसौं? उभिने जमिनसम्म छैन।’

आमाबाको रुवाइले भावविह्वल बनायो।

खाडीको बसाइ। पचपन्न डिग्रीको त्यो तापक्रम। आँखा चिम्लेर सहनुपर्ने बाध्यता थियो। विदेशमा जति देशको याद स्वदेशमा नहोला। हरेक नेपालीले क्षणक्षणमा देशको नाम  जपिरहन्थे। नेपालमा चुनावको रौनक ह्वात्तै बढ्यो। युवाहरू विदेशमा थिए। युवापुस्तालाई  बढी चासो रहन्थ्यो।

बिहानै कल आयो। चिनेको आवाज लाग्यो, ‘हाम्रो पार्टीले बढी ठाउँ जित्यो।’

आवाज सुन्दा विनयको रहेछ। एकछिन म चुपचाप बसें।

मैले जीतको तात्पर्य जानिनँ। प्रत्युत्तर दिंदै भने,‘देश र जनतालाई हराएर स्वार्थी समूहले गरेको रणनीतिक जितले केही प्रगति हुन्न। जितेको भए असी लाख युवाले विदेशमा किन शरण लिनुपर्थ्यो !’

प्रकाशित: ३ असार २०७९ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App