म्यामराज राई
दुवै जना हिंड्नुस्। आज बिहानको दोस्रो–शोमा मेरो लगानी र निर्देशनमा बनेको चलचित्र देखाउँछु।’ तेवलाले सूर्यनारायणलाई ढोग्दै आमाबालाई तयार हुन अनुरोध गर्यो।
पूर्वको मिनी हङकङ भनेर चिनिने शहरमा आमाबा लगायत नजिकका दश–बाह्र जना जति साथी लिएर ऊ फिल्म हल पुग्यो। उनले पन्ध्र ओटा टिकट अग्रिम रूपमा काटेका थिए। गणेश टाकिज हल हाउसफुल थियो। चलचित्र हेर्न टिकट काट्नेको लाइन थेगिनसक्नु जतिकै थियो।
व्यवस्थापक समूह दर्शकहरूको लाइन व्यवस्थापनमा व्यस्त थिए। तेवलाको समूह चलचित्र हल अगाडि पुग्नेबित्तिकै तेवलालाई अटोग्राफ लिने हुलले घेरिहाल्यो। पहिलो शो हेरेका दर्शकहरूको भीडबाट बधाई दिनेको ओइरो लाग्यो। लगातार मोबाइलको घण्टी बज्न थाल्यो। खुशीका मेसेज आउन थाले। बल्ल राम्रो नेपाली चलचित्र हेर्न पाएको प्रतिक्रिया छरपस्ट थियो। आधा दशकपछि बक्स अफिसमा चित्तबुझ्दो कलेक्ट भयो। कलेक्शन भइरहेको थियो।यसै भन्थे–वितरकहरू।
प्रत्यक्ष तथा फोनमार्फत समेत बधाई दिनेको भीड बढ्यो।
रुसुमिहाङ गाउँका नामी कृषक थिए। कृषिप्रधान देशमा खेतीकिसानको भरमा पुस्ता धानेका थिए। उनका दुई छोरा थिए। जेठो सायाङपा र कान्छो तेवला। छ वर्षको जेठो–कान्छो थिए। दाजुभाइको सम्बन्धभन्दा बढी साथी थिए। कृषि पेशा आधुनिक शैलीमा गर्ने चलन आइसकेको थिएन। पुख्र्यौली खेती गर्ने तरीकामा नै खेती गर्दथे। त्यही पेशामा उनको परिवार आश्रित थियो। गाउँका धेरै गाउँलेहरू समेत उनैकहाँ आश्रित थिए। पाखो बारी धेरै थियो। धेरै जोत्नु पथ्र्यो। डल्ला फोर्नुपर्थ्यो। हलोले नभेटेको कुनाकाप्चा कोदालोले खन्नुपर्थ्यो। उनी मकै या गहतमा गाउँमा पर्म साट्थे।
गरिब र दीनदुखीहरू रुसुमिहाङको बारीमा आफ्नो भविष्य खोज्न आउँथे। भोक खोज्थे। कहिल्यै कसैलाई रित्तो हात पठाएनन्।
‘उनको बारीमा पसीना चुहाएपछि भोको हुनु पर्दैन’ सबैले सोच्थे र भन्थे–रुसुमिहाङ त हाम्रा भगवान् हुन्। मिहिनेत गरेअनुसार सट्टामा बोराभरि मकै लिएर जान्थे। कसैले दाल लिएर जान्थे। सरसापटको रूपमा भने गाउँलेहरूले कहिल्यै पाउँदैनथे। उनको घरमा वर्षैभरि खानामा च्याँख्ला र दालमा गहत टुट्दैनथ्यो। चामल कहिलेकहीं बजारमा किन्थे। प्रायः चामलमा च्याँख्ला मिसाएको खाना भान्सामा तयार हुन्थ्यो। चामलको मात्र भात खानचाहिं चाडबाड नै पर्खनुपथ्र्याे। गाउँलेहरूको भने चाडबाडमा समेत चामलमा च्याँख्ला मिसिन्थ्यो।’
सायाङपाले जीवनमा कहिल्यै असफलता चाख्नु परेन। चाहे विद्यार्थी जीवन होस् या प्रेम जीवन। उनी बाँस बढेजस्तै हलक्कै बढेका थिए। खान्दानीमा कोही पनि होचा थिएनन्। आमा समेत पाँच फिटको हुनुहुन्थ्यो। बुवा त छ फिटको हुनुहुन्थ्यो। उनी बुवाको कानसम्म पुग्थे।
पहिलो प्रयासमै खरिदारको सरकारी जागिरमा प्रवेश गरे। पहिलो हाजिरको रूपमा पहाडी जिल्लामा खटिए। जिल्ला समन्वय समितिको रिक्त दरबन्दीमा। जनप्रतिनिधिहरूले भव्य स्वागत कार्यक्रम राखे। एक अर्कामा चिनजान भए। नगर÷गाउँपालिका स्तरीय प्रधानमन्त्री स्वरोजगार संयोजकहरूको एक दिने प्रशिक्षण कार्यक्रम मिति तय भयो। सायाङपा कार्यक्रम सञ्चालक बने।
जिल्लाभरिमा सात ओटा पालिका थिए। हरेकबाट एकजनाको दरले प्रशिक्षार्थीहरू जम्मा सात जना भए। महिला या पुरुष केही तोकिएको थिएन। छ पुरुष तथा एक महिला भेला भए। सबै तीस वर्षमुनिका थिए। असाध्य एउटा राम्रो कुरा,अपवादजस्तै लाग्ने गरी,
कुनै पनि सामाजिक काम,तालिम या गोष्ठीमा नेपाली समय भन्दै ढिलो गर्नेलाई बहिष्कार गर्ने चलन सुरु भइसकेको रहेछ त्यो जिल्लामा। पहाडी जिल्ला भए पनि सुगममा हुनुपर्ने सबै चिज देखिन्थे। सहजै भेटिन्थे।
कार्यक्रममा सहभागी सबैले पालिकाको नाम र आफ्नो नाम उपस्थिति खातामा दर्ता गरे। समयमै सुरु गरिएकाले प्रशिक्षण कार्यक्रम पनि ठिक्क बेलामा सकियो। सबै जना बिदाबारीको चिया खाए। खाजा अघि खाइसकेका थिए। बिदा भए। सायाङपा आफ्नो क्वाटरमा फर्के। तर, उनको मन भने प्रशिक्षण कोठातिरै उद्घोषण गरिरहेको थियो, ‘स्याउजस्तो गाला,बदामी आँखा,रेशमी कपाल। ओहो,कति राम्री! भगवानले फुर्सदमा बनाएको। त्यो पनि मेरै लागि। सुनिरहूँ लाग्ने बोली। मोहनी लगाउने दन्त लहर। मयूरजस्तै श्रृंगार। धन्न आजको यो युगमा जन्मेकाले क्यामेरा भएको मोबाइल किनेछु र फोटो खिच्न सकें।’
क्यान्टिनबाट पियन दाइले खाना खान बोलाएको आवाजले सायाङपा झसंग भए। ‘अघि उतै अबेला खाजा खाएकाले आज खाइनँ ल।’ प्रशिक्षण कार्यक्रममा खाएकाले उनले बेलुकाको खाना नखाने मन गर्यो। उनी ओछ्यानमा पल्टे। यता फर्के। उता फर्के। उत्तानो भए। घोप्टो भए। अहँ, निद्रादेवीले बासै गरिनन्। यसो मोबाइल खोले। फेसबुकमा साथीहरूको लिस्ट पनि लामो थियो।
अहिलेसम्म ३ हजार ५ सय १५ जना पुगेछन्। साथी बन्न अनुरोध गर्नेहरूको नौ सय जनाको हाराहारीमा थिए। ऊ जो कोहीको साथीत्व सजिलै स्विकार्दैनथे। सबै प्रोफाइल खानतलासी गरी सही मान्छे लाग्यो भने स्विकार्थे। आज उनलाई साथीहरूको संख्या अलिक बढाउन मन लागेछ। पेन्डिङमा बसेका साथीहरूको नाम दाहिने हातको बुढी औंलाले स्क्रोल गर्न थाले। तलतिर झर्ने क्रममा एक घण्टा अगाडि मात्र फ्रेन्ड रिक्वेस्ट आएको नाममा आँखा अडियो। नाम थियो–बुङवाफुङ राई। प्रोफाइल चेक गरे। म्याच्युटल स्टाटसमा अनम्यारिड थियो। ऊ झन् हौसियो। तुरुन्त कन्फर्म गर्यो। अब एक अर्का फेसबुकमा साथी बने। खुशीले भुइँमा खुट्टा थिएन। यही बेला आमाको फोन आयो, ‘जेठा, के गर्दैछस् हँ? दोसाइँ तिहार गोयो। आबो आउने हप्ताबाड त मङ्सिर लाग्छ। बोहारी आफैं खोज्छस् कि हामेरू खोजुङ् हौ?’
‘खोई हौ,आमा?’ उनले न आफैं केटी खोज्छु भन्न सके न त बुहारी खोजिदिनु भन्न नै।
‘तँ हुन्छ मत्तै भन न। तेरो फुपूको गाउँमा धेरै पोढेकी केटी छ रे। फुपू तिहारमा आउँदा भन्नुभएको।’आमाले छोराको स्विकृति खोजिन्।
बिहेबाहेक अरूअरू कुरा गरेर उनले आमालाई तर्काइदिए। यता एउटा म्यासेज ठेलिहाले,‘प्रधानमन्त्री स्वरोजगार संयोजक बन्नु भएकामा बधाई छ है!’
तपाईसँग राम्रो उद्घोषण कला रहेछ।’ बुङवाफुङले फुरुङ्ङ हुँदै सायाङपालाई पनि फुर्काइन्। अबचाहिं एक अर्का साथी बने। सामान्य च्याटमार्फत बोलेको हप्ता दिन जतिमा सम्पर्क नम्बर साटासाट गरे। बोल्न थाले।
बुङवाफुङ संस्कारी खान्दानकी थिइन्। व्यावहारिक तथा शिक्षित थिइन्। शील-स्वभावदेखि सायाङपा झन् लोभिंदै गए। ठिक्क बोल्ने। सकेसम्म अरूका चित्त नदुखाउने र आफ्नो पनि नदुखाओस्,चाहन्थिन्।
भालेको पहिलो डाकसँगै प्रायः सायाङपाको मोबाइलको घण्टी बज्थ्यो। उनले पनि त्यही चाहन्थ्यो। गफ लम्बिन थाल्यो। सुखदुःख,संघर्ष,सफलता, असफलता आदिबारे एक अर्काको अनुभव साट्थे। लगनहरू भकाभक जुर्दै थिए। मंसिरको तेस्रो साता हुनुपर्छ। सूर्यको बैंस थियो। तापिरहूँ लाग्ने लम्बेतान छाया बनाएर पहारिलो घाममा बसिरहेको थिए। बुङवाफुङले फोन गरिन्। सायाङपाले पनि एकै रिङमा उठाए,‘लौ,एकोहोरो किन रोएको?’
‘मेरा माया लाग्छ भने मलाई उद्धार गर्नुस्।’ उनी एकोहोरो रोइरहिन्।
एक्कासि उनको छातीमा आठ रेक्टरको भूकम्प आयो। थचक्क बसे। पराकम्पन आइरह्यो। यति माया गर्छिन् जस्तो लागेको थिएन। उनले एकै सासमा सोधे,‘अहिले कहाँ छ्यौ?’
बेंसीको चौतारीमा हिक्क छोड्दै थिइन्।
सरासर गए। झ्याप्पै अँगालो हालिन्। पुनः एकफेर डाँको छोडिन्। अबचाहिं निर्धक्क रोइन्। यसरी अचानक ‘किन र कसरी’ भनेर सोध्न नपाई नै सत्यता ओकल्न थालिन्, ‘मेरो बुवा इमानदारै हुनुहुन्थ्यो। तर, यो पालि पैसामा बिक्नुभएछ। जुग खानुपर्ने भएकाले हतारमा निर्णय गर्नु हुँदैन भन्ने मान्छे (बुवा) आज बिहान आफै फलानासँग तैंले बिहे गर्नुपर्छ भन्नुहुन्छ। छाँगाबाट खसेझैं भएँ।’
बुवाको कुरा ठाडै अस्वीकारें। त्यसो भए आजबाट यो घरको ढोका तेरा लागि बन्द भन्नुभयो। म हिंडें।
‘सायाङपाका लागि नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाको अनुहार’ भन्ने उखानजस्तै भयो।
एकछिन सोचे, ‘हुन त म खुट्टामा उभेकै छु। उनी पढेलेखेकी छिन्। राम्री पनि छे।’ अन्ततः उनले हात दिए। दुई बीच भागी विवाहमा सहमति जुट्यो। त्यही बिन्दुबाट एक अर्का सहयात्री बने। वर्ष दिनपछि पहिलो सन्तान जन्म्यो। उनीहरूमा माया घटेन। बरु झन् बढ्यो। जहाँजहाँ जान्थे,उतै परिवार लान्थे। छोराको विद्यालय जाने बेला भएपछि भने सबैको सल्लाहले परिवार शहरमा राखे। सुरुदेखि नै नेताहरूसँग उठबस गरे। हात मिलाउन खोजे। टेबुलमुनिबाट ‘ह्याण्ड चेक’ गर्न खोजे। उनी सम्पर्कमा जान सकेका नेताहरू ठूलो/मोटो हातको खोजी गरेको पत्तो पाए। उसँग औकात पुगेन। किनकि खरिदारको जागिर कति नै तलब हुन्थ्यो र! त्यो पनि भर्खर त जागिर थालेको।
उनको दुई वर्षसम्मको प्रयासमा चाहेको मालदारमा सरुवा भए। दक्षिणी भन्सार कार्यालयमा। महिनैपिच्छे ऊ बैंकमा बचत गर्थ्यो। लगातार दुई वर्ष गरेको बचत आज एकैचोटि निकाल्यो। बैंक कर्मचारीहरूले यत्रो पैसा किन निकालेको भनेर सोधेनन्। किनकि यिनीहरूको काम कागजातबमोजिम रकम वितरण गर्ने हो।
‘पाँच बिटो भएछ। यसले मेरो निशानामा काम गर्छ। मेरो सपना पूरा गर्छ।’ मनमनै आफै बोले।
पुनः सोचमग्न भए। आधा बिटो जम्मा हुनेबित्तिकैदेखि सरुवा चाहेको थिएँ। अलिक धेरै बिटो थप्नू नत्र मेरा केटाहरूले अरूलाई त्यो पदमा ल्याउलान्। नेताहरूको बोली कानमा गुञ्जिरहेको थियो,‘अलिक चाँडो गर्नू। सरकारी जागिरमा पनि लगानी गर्नै पर्ने रहेछ।’
त्यहाँ सरुवा आएको छ महिनामा शहरमा घडेरी किने। वर्ष दिनमा तीनतले घर ठड्याए। नरनाता,आफन्त तथा छिमेकीहरू उनको छोटो समयमा भएको प्रगति देखेर दश छक्क पर्दथे।
एक बिहान घर नजिक आएर काग करायो।
‘शुभ बोल! शुभ बोल!’ आमाले भन्नेबित्तिकै काग भुर्र उड्यो।
मानौं, एउटा शुभ सन्देश लिन गयो। बुवाले चियाको चुस्की तान्दै जापानी रेडियो बजाए। ६ः१५ को कायाकैरन समाचार सुरु भयो।
‘हिजो अबेरसम्ममा यस वर्षको एसएलसी नतिजा प्रकाशित भएको छ। गोरखापत्रमा छापिएको छ।’ तेवला शौचालयमा आफ्नो फोहोर फाल्न थालिसकेका थिए। समाचारले आधामै काट्न बाध्य बनायो। हत्तपत्त साबुनपानीले हात धोए। मुख धोए। शहर बस्ने दाइलाई एकप्रति आजको गोरखापत्र किन्न लगाए। तुरुन्त आफ्नो एसएलसीको सिम्बल नम्बर मोबाइल मेसेन्जरमा पठाए। मर्निङ वाकमा निक्लेका दाइले भाइको मेसेज हेरे। पत्रिका किनेर ल्याए। दोहोर्याईतेहेर्याई सिम्बल नम्बर दाँजे। भेटे। भाइतिर फोन हानिहाले। दाजुभाइबीच खुशी साटे।
तेवलाले स्थानीय माविबाट प्रथम श्रेणीमा एसएलसी गरे। उच्च शिक्षा पढ्न आमाबाले शहर पठाए। पढ्न सहज होस् भनेर ऊ एक्लै बसे। दाइकोमा बसेन। मिहिनेत गरे। राम्ररी प्रथम श्रेणीमै पास गरे। बच्चा ताकादेखि नै उनमा आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने भावना थियो। काम जस्तो होस्,सानो–ठूलो हुन्न सोच्थे। उनी पत्रिका बाँड्दै हिंड्न थाले। तर, कहिल्यै आफूचाहिं समाचार पढेन।
बाह्र सकियो। स्नात्तक तहका लागि क्याम्पस नजाने निर्णय गरे। बरु चलचित्रको विषयमा अध्ययन गर्नेतिर सोच बनाए। तर, अभिभावकबाट त्यसका लागि फुटेको कौडी नदिने भए। तेवला भने नेपाली चलचित्रहरू प्रायः छुटाउँदैनथे। एक किसिमको लत बच्चादेखि बसेको थियो। बुवासँग अरू शीर्षकमा पैसा माग्थे। चलचित्र हल जान्थे। उसँग चलचित्र हेर्ने सँगसँगै यही क्षेत्रमा डुब्ने मनस्थिति समेत बनाउन भ्याइसकेका थिए। यो क्षेत्रमा कसरी हात हाल्ने? हात हालेर कसरी स्थापित हुने? अठार वर्षे ठिटामा परिपक्व सोच पलाउँथ्यो।
मध्यान्हको बाह्र बज्यो। टन्टलापुर घाम। चोकको पिपलको फेदमा एकछिन शीतल ताप्ने विचार गर्यो। हातमा बोकेको पत्रिकाहरू छेउमा राख्यो। तिर्खा लागेछ,एक बोतल पानी किन्न नाङले पसलेकामा गयो। उतै एक घुट्को पिइहाल्यो। फर्केर बस्यो। पत्रिकातिर फर्किंदा हावाले पत्रिका पल्टाइरहेको थियो। टक्क आँखा अडियो। जहाँ एउटा सूचना थियो, चलचित्र लेखन तथा निर्देशनसम्बन्धी अमेरिकामा छ महिने निशुल्क प्रशिक्षण लिने सुनौलो अवसर।’
थुक्क,मेरो बुद्धि! यति ठूलो अवसर आफैले बाँडेर हिंड्दै रहेछु।’ मनमनै फिस्स हाँस्यो।
पाँच जनाको कोटा थियो। फाराम भरे। परीक्षातालिकामा परीक्षा भयो। दुई सय जनाले फाराम भरेमध्ये एक नम्बरमा तेवलाले नाम निकाले। बस्न र खान फ्रि थियो। छ महिनाका लागि आफूले चाहेको विषयमा त्यो पनि निशुल्क सिक्न पाउँदा भुईमा खुट्टा थिएन। छोरा अमेरिका जाँदैछ भनेर आमाबाको समेत खुशीको सीमा थिएन। किन जाँदैछ? कति महिनाका लागि जाँदैछ? त्यो उनीहरूले सोध्न खास ठानेनन्।
‘तपाईहरूको आशीर्वाद लागेको हो। मैले जहाँजहाँ हात हाल्छु,त्यहाँत्यहाँ साथ दिनुस्।’ सुम्निमा र पारुहाङको फोटामा ढोगे। अगरबत्ती बालेर तीन फन्का घुमाए।
मेधावी विद्यार्थी भएकाले चलचित्र लेखन तथा निर्देशनसम्बन्धी अमेरिकामा सफलतापूर्वक उपस्थिति जनाए। प्रशिक्षित भए। चलचित्रको कथा लेखन र निर्देशनमा क्षमता वृद्धि गरेर आए। चलचित्र कथा लेखन सुरु गरे। दर्जन हाराहारी कथा लेखेर पुराए। राम्रो चलचित्र बनाउने चाहना बोकिरहे। निर्माताको खोजीमा हिंडे। दुई दर्जनभन्दा धेरै चलचित्र निर्माताहरूसँग आफ्नो कथा देखाए सुनाए।
‘राम्रो छ। गजब रहेछ। म लगानी गर्छु’ भन्नेहरू थुप्रै भेटे। तर, ढाड फर्काएपछि हराए। आफ्नो मनसँग गुनासो पोख्नुबाहेक उसँग विकल्प थिएन।
भिर–पहरामा सहजै उकालो चढ्दै गरेको सपना देखेको थिएँ। किराती समुदायमा यो खालको सपना देखियो भने राम्रो सपनाको दर्जा दिइन्छ। राम्रो सपना देखेपछि फेरि निदाउनु हुँदैन भन्ने मान्यता छ। यसो मोबाइलमा आँखा दौडायो। भर्खर चारमा घडीको सुई रहेछ।
‘निदाऊँ राम्रो सपना देखेको छु,ननिदाऊँ उज्यालो हुन अझै दुई घण्टा बाँकी छ।’ तेवला मनभरि कुरा खेलाउँदै कोल्टे फेर्छ। घरको भाले नियमित समयतालिकामा पहिलो डाक बास्यो। धर्तीमा उषाको उज्यालो छाउँदै थिइन्। सूर्यकिरण आइपुग्नुभन्दा पहिले अचानक उनको मोबाइलमा एउटा मेसेज आइपुग्यो। विद्यार्थी भिसामा जापानमा संघर्ष गर्दै गरेका मामाको छोरा दाइले मेसेज पठाएका रहेछन्।
‘तँ भर्खर सत्ताइसमा लाग्दैछस्। कि जापान आउँछस् त?’
रुख चढ्ने बाँदरलाई लिस्नो भन्ने उखानजस्तै उनका लागि त्यो मेसेज सावित भयो। त्यसै त कसरी धेरै पैसा कमाएर राम्रो चलचित्र आफै बनाउनेमा उनको ध्यान थियो।
‘हुन्छ,दाइ।’जवाफ फर्काए।
उनले आमाबालाई मनाए। सबै जना बाह्र लाख जोहोतिर लागे। अब दाइले भनेजस्तै लगनखेलमा रहेको कन्सल्टेन्सीतिर गाउँबाट सिधा हानिए। बोकेको कागजपत्र बुझाए। थप कागजातको विस्तृत बुझेर फर्के। महिना दिनमा आवश्यक कागजात कन्सल्टेन्सीमा बुझाए। नतिजाको पर्खाइमा बसे। छ महिनामा भिसा आयो। चलचित्र बनाउने रहरले उनलाई जापान पुर्यायो। डेढ वर्षे जापानी भाषालय सुरु गरे। यताउति काम,स्कुल भन्दाभन्दै वर्षदिन बित्यो। बाँकी छ महिनामा राम्रो प्राविधिक कलेज खोज्न र बचेको समयमा काममा गयो। जापानले भित्र्याएको डेढ वर्ष सकिएछ। अब नयाँ ठाउँमा प्राविधिक कलेजमा भर्ना भए। फलामको चिउरा चपाउनु भनेझैं दुःख गरे। कठोर सङ्घर्षमा तल्लीन भए।
‘आफ्नो लक्ष्य चुम्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न राजी छु। मेरो उद्देश्य पूरा गरेर मात्र मातृभूमि फर्कनेछु।’ उसले खुइय्य छोड्यो।
घण्टा-घण्टामा बज्ने घडीको घण्टी बज्यो। बल्ल चार बज्यो। मान्छे धेर काम थोर भएकाले बेलुका सात बजे पस्ने जतिलाई घर जाने आदेश आयो। एक घण्टा ब्रेक दिई जम्मा आठ घण्टा पुग्यो। बाँकीले रहलपहल काम गर्दै आफ्नो आठ घण्टा पुराउने धुनमा थिए। माथिबाट त्यस्तै सूचना सर्कुलर भयो। तेवला लगायत दश जना थिए। त्यही समूहमा लादिप्मा थिइन्। जो ऊभन्दा एक ब्याच जुनियर थिइन्। हाम्रो एउटै प्राविधिक कलेज। सामान्य बोलचाल भए पनि गहिराइमा गफ गरेका थिएनन्। अरू आठ जना भने विभिन्न ठाउँ र कलेजका थिए। कम्पनीको ढोकाबाट बाहिरिनेबित्तिकै आआफ्नो सुरमा हिंडे। लादिप्मा भने उनको पछिपछि आइन्। हुन पनि हो,भर्खर त साँढे चार बज्यो। एक्लै हिंड्दा डर लाग्ने नै भयो। कालो रात। चिहानघारी बाटामा। रेलहरू त चौबिसै घण्टा निदाउँदैनन्। तिनीहरूको आवाजले साथी दिइरहेका थिए। आकाश अँध्यारो। बाटो वरिपरि बिजुली बत्तीका खम्बाहरू। झलमल्ल उज्यालो। धर्तीको उज्यालोदेखि डाहा लागेर सूर्यले उदाउन बिर्सेलान् जतिकै लाग्थ्यो।
ती दुई गफमा भुलिरहेथे। दुवैको कलेज बिहानी–सत्र बिहान छ बजेबाट। रेल चढ्ने स्टेशन पुग्न हिंडेर बीस मिनेट लाग्थ्यो। आज उनीहरूले पैतालीस मिनेट लगाए। निकै गफ लम्बाए। एउटै कलेज एउटै समय र कलेज जान तयारीका साथ दुवै थिए। दुवैको पैतालाको नाप रेल स्टेशन पुग्यो। अब यामानोते लाइनको रेलमा चढे। स्काई–ट्री र टोक्यो टावर वरिपरि एक राउण्ड लगाउन एकै घण्टा लाग्थ्यो। सदाका दिनमा रेल चढेपछि कानमा एयरफोन,मोबाइलमा अलार्म लगाएर भित्तोमा अडेस लाग्थे।
एक घण्टा मात्रै भए पनि निद्रादेवीको शरणमा जान्थे। यो पालि त्यसो गरेनन्। दुवै जागै बसे। कानेखुसी गरिरहे। बरु त्यो एक राउण्डमा नसकिने विषय पो निकाले। आधाभन्दा पनि कति नि कुरा नगरी नै कलेजको समय भयो। रेल चुपचाप आफ्नो बाटामा हिंडिंरह्यो। तिनीहरूको ठ्याक्कै एक चक्कर पूरा भयो।
लादिप्माले आश्चर्य प्रकट गरिन्, ‘पत्तै नपाई कति छिटो समय?’
सदा त खुब निद्राले मात्थ्यो। कहिलेकहीं बजिसकेको अलार्म पनि अफ गरेर फेरि सुत्थें र कलेज छुट्थ्यो।
तेवलाले पनि आफ्नो बेग्लै महसुस बतायो। दुवै सँगसँगै कलेज गए। आआफ्नो कक्षा छिरे।
‘धनी बाउकी छोरी रहिछे। फेरि उनी राम्री पनि छिन्। बुझकी रहिछे। जीवनसाथी बनाए त मेरो भाग्य त्यसै चम्किन्थ्यो। मलाई यस्तै सकारात्मक सोचको मान्छे मनपर्छ।’ तेवलाले मनमनै सोच्दै सानो बोतलको तातो कफीको एक चुस्की लियो।
उनको दिनचर्या परिवर्तन भयो। भनौं न लादिप्मा पनि तेवलादेखि बेखुशीचाहिं थिइनन्। अलिकति समय निस्क्यो कि भेट गर्न थाले। यामानोते लाइनमा रेल एकै बाटामा घुमिरहन्थ्यो। उनीहरू भने विभिन्न पार्क चहार्थे। उनीहरूको प्रेम–स्टेशन बन्न पुगे हरिया पार्कहरू। जिन्दगी र भविष्य केलाउन थाले। जात,धर्म,संस्कार,समुदाय र भाषा सबै मिलेपछि उता दुवैको घरबाट अनुमति नआउने कुरै थिएन। तेवला आफू स्वावलम्बी नभई बिहे नगर्ने सोच थियो। त्यही उनको सोचले लादिप्मालाई असाध्य छोएको थियो। त्यसैले कठोर मिहिनेत गरी दोस्रो वर्षको प्राविधिक शिक्षालय तेवलाले पूरा गरे।
सँगसँगै राम्रो कम्पनीमा प्रवेश गर्न सफल भए। लादिप्माको दोस्रो वर्षको प्राविधिक शिक्षालयको पढाइ सुरु भयो। उता दुवैको घरको अनुमति लिएर यता विवाह गर्ने निचोडमा पुगे।
जापान टेकेको चौथो वर्षको सुरुमै विद्यार्थीबाट कामदारीमा आफ्नो भिसा परिवर्तन गरे।
नियमित कम्पनी कामदारीको रूपमा काम सुरु गरे। धेरथोर कमाउन थाले। कम्पनी आवतजावत आधा बाटासम्म बस र बाँकी रेलबाट गर्थे। स्थानीय बस तथा रेलहरू छछ मिनेटको अन्तरमा गुडिरहन्थे त्यो भेगमा। दशा बाजा बजाएर आउँदैन भन्ने उखानजस्तै उक्त दिन उनको दशा आएछ।
हिजो बेलुकीदेखि सिमसिमे पानी परिरहेको थियो। बाटो चिप्लो। एक मिनेट लाग्ने बाटो तीन मिनेट जति लाग्थ्यो। उनको ध्यान बाहिर परिरहेको पानीमा जाँदै गएन। सदाका दिनझैं कम्पनी ड्रेस लगाए। ढोका बाहिर निस्केपछि मात्र पानी परिरहेको देखे। बाहिरबाटै ढोकाछेउमा राखेको छाता ताने। अलिअलि कुद्दै हिंडे। जहिल्यै शून्य समयमा हिंड्ने उनको पुरानै बानी हो। बसपार्क पुगेर बस चढे। मनभित्र मनमनै गफ गर्दागर्दै उनको ओर्लिने ठाउँ आयो।
बसबाट ओर्लेर रेल चढ्न जाँदै गर्दा बच्चासित ठोक्किए। ठोक्किएको भन्दा पनि उनको अघिअघि हिंड्दै गरेको बच्चा चिप्लिएर लड्यो। त्यही बेला बच्चाको घुच्चुक उनको घुँडामा ठोक्कियो। सकभर छल्न खोजेका हुन्। जोगाउन सकेनन्। बच्चाले डाँको छोड्यो। आमाबुवा अलिक पछाडि प्रेमालिंगनमा बिस्तारै आउँदै थिए।
छोरा रुन थालेपछि कुद्दै आए। तेवलाले बिस्तार लगाए पनि उनीहरूले पत्याएनन्। उनैको गल्ती ठहर्याए। बच्चाले आफै लडेको हैन भन्यो।
‘बालबोलीमा सत्यता हुन्छ’ आमाबुवाले भने। उनले मैले लडाएको हैन भनिरहे। मेरो रेल छुट्छ,जान्छु भन्दा पक्रेर राखे। बच्चाले सुँक्कसुँक्क गर्यो। आमाबाले उनलाई अलग्गै बोलाएर भने, ‘बीस मान दिन्छस् भने छोड्छौं।’
‘म सक्दिन।’ उनले ठाडो जवाफ फर्काए।
ऊ आफ्नो गल्तीबिना पैसा तिर्न राजी भएन। हुन त बच्चालाई केही घाउचोट लागेको पनि थिएन। उनीहरूले मौकामा चौका हान्न खोजेका रहेछन्।
अपवादका जापानीहरू रहेछन्। स्पष्ट उनले बुझे। प्रहरी बोलाए। ऊ पक्राउमा पर्यो। हिरासतमा राखेर अनुसन्धान थाले। तेवलाले उनीहरूको र प्रहरीको जापानी भाषा बुझ्थ्यो। तर, उनको भाषा उनीहरूले बुझ्न चाहेनन्। मोबाइल खोसे।
‘मोबाइल नम्बर छ भने सार्वजनिक फोनबाट हामीले बुझ्ने जापानी भाषामा परिवारलाई खबर गर’भने।
विडम्बना आफ्नी श्रीमतीको समेत मोबाइल नम्बर कण्ठस्थ छैन। कम्पनीको त परै जावोस्। समयमा नआइपुगेकाले कम्पनीबाट तेवलाको फोन आएछ। मोबाइल स्वीच अफ। श्रीमतीकोमा कम्पनीबाट फोन आउँदा पो उनकी श्रीमती छाँगाबाट खसेझैं भइन्। कम्पनीका व्यक्तिहरूसँग जसोतसो बोलिन्, ‘सधैंको समयमा कोठाबाट हिंड्नुभएको हो। कता जानुभयो, थाहा छैन। हामीबीच मनमुटाव कहिल्यै भएको छैन।’
मान्छे सोझो हुन्। दुई दिनसम्म बेखबर। यत्रतत्र श्रीमतीको गुहारसँगै समाचार बनेपछि पत्ता लाग्यो–हिरासतमा सुरक्षित छन्। निर्दोष सावित भएपछि कानुनी प्रक्रिया पूरा गरी पक्राउ परेको तेस्रो दिनमा छुटे।
जापानी कम्पनीमा आधा दशक बिताए। उनको निर्देशन गर्ने र चलचित्र बनाउने रहर मरेको थिएन। झन् परिष्कृत भएको थियो। हरेक हप्ता बिदाको दिन जापानमा थिएटर शो हेर्न भ्याउँथे।
धेरै पटक अमेरिकी चलचित्रहरू समेत हेरे। उनले आफ्नो जीवनमा कम्तीमा एउटा मात्रै किन नहोस्,राम्रो चलचित्र बनाउने प्रण गर्यो। सामान्य चलचित्रका कथाहरू लेखेको संख्या त सय उँभो छन्। सबैभन्दा उत्कृष्टमध्ये उत्कृष्ट छानेर चलचित्र बनाउने योजना बनाए।
करिब दश वर्ष लगाएर कथा छाने। तीन भागमा एक भाग जति सहोदर सायाङपाले सहयोग गर्ने बनायो। आधा करोड हाराहारी पैसा जम्मा भएपछि चलचित्र क्षेत्रमा संघर्ष गर्न उनी नेपाल फर्किए। एउटा राम्रो टिम बन्यो। मिहिनेतका साथ चलचित्र बनाए। नेपालभरि तथा विदेशमा समेत नेपाली भाषी भएका सिक्किम, दार्जिलिङ, आसाम, नागाल्याण्ड,नालापानी लगायत भूटान,म्यान्मार आदि क्षेत्रमा चलचित्र एकसाथ प्रदर्शन सुरु भयो। उनको सपना पूरा हुँदै थियो।
प्रकाशित: २ असार २०७९ ०९:०५ बिहीबार