कला

‘सट्टेबाज फ्याउरी’ र ‘टाटे माउ स्याल’ बजारमा

प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन्।

मकालु प्रकाशन गृहले फरन ल्याङ्वेज टिचिङ एन्ड रिसर्च कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘दि ट्रेडर्स फक्स’ को नेपाली अनुवाद ‘सट्टेबाज फ्याउरी’ र ‘स्कारफेस दि मदर ज्याकल’ को नेपाली अनुवाद ‘टाटे माउ स्याल’ प्रकाशन गरी बजारमा ल्याएको हो।

‘दि ट्रेडर फक्स’ शीर्षकको कथा सङ्ग्रहलाई रवीन्द्र तिमसेनाले र ‘स्कारफेस दि मदर ज्याकल’ शीर्षकको पुस्तकलाई डा. विमल सुवेदीले अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरेका हुन्। ‘स्कारफेस दि मदर ज्याकल’ १३ औँ चाइना बुक अवार्ड जित्न सफल कृति हो। यी दुवै पुस्तकमा मान्छे तथा जङ्गली र घरपालुवा जनावरहरूलाई पात्रका रूपमा प्रस्तुत गरिएको छ।

जनावरको बानीबेहोरा र भावनात्मक बुद्धिमत्ताबारे पर्याप्त जानकारी दिनुका साथै तिनलाई मानिसको बानीबेहोरासँग तुलना गर्दै नैतिक र पर्यावरणीय सवाललाई उठान गरेकाले यी कृतिहरू पठनीय भएको मकालु प्रकाशन गृहका सञ्चालक वासुदेव ढकालले जानकारी दिए। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०४:५७ शनिबार

अक्षर