कला

जीवनका विविध आयाम लोकार्पित

शंकर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौडाद्वारा थाहा पुस्तकालय, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार रूकु कार्कीको निबन्धकृति ‘जीवनका विविध आयाम’को लोकार्पण गरियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य वरिष्ठ आख्यानकार माया ठकुरीले  लोकार्पण गरेकी थिए।

कार्यक्रममा मातृभमि साहित्य समाजले बर्सेनि प्रदान गरिंदै आएको मायादेवी मातृभूमि साहित्य पुरस्कार गंगा कर्माचार्य पौडेल, मायादेवी साहित्य सेवा सम्मान सविता श्रेष्ठ बेहोसी र मातृभूमि सामाजिक सेवा सम्मान हाम्रो बाल संरक्षण धरोहर नेपालकी सञ्चालिका विनिता अर्याललाई प्रदान गरिएको थियो। उक्त पुरस्कार तथा सम्मान अन्तर्गत क्रमशः नगद रु २१ हजार, ११ हजार र १० हजार पनि रहेको थियो। ती सबै पुरस्कार र सम्मान साहित्यकार रुकु कार्कीले स्थापना गरेकी हुन्।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माया ठकुरीले रुकु कार्कीको लेखन–यात्राको आफू पनि साक्षी रहेको बताउँदै नयाँ कृतिका लागि बधाई दिइन्।

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्राडा. गोविन्दराज भट्टराईले कार्कीको बन्धनबाट मुक्ति कृतिबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै नयाँ कृति पनि उत्तिकै पठनीय भएको बताए।

कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले व्यक्ति, घटना र विषयकेन्द्रित निबन्धहरू रहेको लोकार्पित कृतिमा निबन्धकारका विचार र धारणाहरू स्पष्टसँग आएको उल्लेख गरे।

वरिष्ठ समालोचक ज्ञानु अधिकारीले रुकु कार्कीले आफ्ना निबन्धहरूमा आफूलाई इमानदारीसाथ प्रस्तुत गरेको बताउँदै उनका निबन्धहरू ‘अर्गानिक’ भएको बताइन्।

मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल र संस्थापक अध्यक्ष ह्यग्रीव आचार्यले समाजको स्थापना, विभिन्न पुरस्कार र संस्थाका गतिविधिबारे जानकारी दिंदै समाजलाई अझ अगाडि बढाउन सक्रिय भएर लाग्ने अठोट सुनाए।

कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले अझै सहकार्य बढ्ने विश्वास व्यक्त गर्दै काठमाडौंमा चाँडै हेटौडाका कविहरूको कविता वाचन कार्यक्रम गर्ने योजना  बनाउने बताए।

कार्यक्रममा लोकार्पित पुस्तकका स्रष्टा रुकु कार्की, थाहा पुस्तकालयका अध्यक्ष अस्मिता सुमार्गी, गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ र पुरस्कृतहरूका तर्फबाट गंगा कर्माचार्य पौडेल तथा कवि यादव भट्टराईले पनि बोलेका थिए।

कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, गोविन्द गिरी प्रेरणा, पवित्रा अधिकारी, सीता विष्ट कार्की, द्वारिका कुइँकेल, दिव्य गिरी, मुरारी सिग्देल, शर्मिला खड्का दाहाल, विमल भौकाजी, शान्ति सापकोटा, हेमन्ती जोशी, मञ्जिला अनिल, गीता अधिकारी, चेतनाथ धमला, उषा केसी, कमला रिसाल, ज्ञान्दरी कैनी, विमला अधिकारी ढकाल, रुद्र पौडेल आदिको उपस्थिति थियो।

प्रकाशित: २७ जेष्ठ २०७९ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App