लता केसी
१) झोले
औंसीको कालो रातझैं अनुहार लिएर ऊ बाहिर निस्कियो। अलि पर चोकमा उसकै दुई जना साथी पढेलेखेको मूर्ख, पाखन्डी, आदर्श महापुरुष भनेर उसको मजाक उडाइरहेका थिए। ऊ पनि त्यहाँ पुग्यो। ऊ हात उठाएर नबोली अगाडि बढ्न खोज्दै थियो। एउटाले प्रश्न तेर्स्यायो , ‘अझै भेटिनस्?’
अर्काले थप्यो, ‘खोजेर भेटिने हो र? यो तिकडम गर्न जान्दैन। कताबाट पाओस्?’
उसले रन्थनिँदै भन्यो, ‘मलाई तिमीहरूको जस्तो नैतिकता र इमानदारिता बेचेर बाँच्नु छैन।’
दुवैले जोड दिएर सिफारिस गरे, ‘भनेको मान्न न, भोको पेटले आदर्शवाणी पच्दैन। नेपालमा बाँच्न दल र नेता नै चाहिन्छ। तेरो डिग्री होल्डरको शैक्षिक प्रमाणपत्र होइन?’
ऊ बजारतिर लाग्यो। केही रासनपानी उधारोमा किन्यो। स्वास्नी र सानो छोराले पेट भरे। ऊ सन्तुष्ट भयो। उसका कैयौँ दिनहरू यसरी बिते तर सधैंको अभाव र परिवारको कचकचले ऊ पागल जस्तै भयो।
केही महिनापछि ऊ पिपलबोटमा बसेर भाषण गर्दै थियो। उनका समर्थकहरू बोलीपिच्छे ताली बजाइरहेका थिए। मौका मिलाएर पुरानो एउटा साथीले उसलाई सोध्यो, ‘के छ खबर?’
उसले खुसी भएर जवाफ दियो, ‘अब त तिमीहरूका लागि मात्र होइन। बाघबहादुर र उसको दल मेरा लागि पनि वरदान भएको छ नि।’
२) बिहे
उनी सभाबाट बाहिर निस्किन्। गेटबाहिर एउटा कार उनलाई नै पर्खिरहेको थियो। उनी भित्र बसिन्। कार अगाडि बढ्यो। केही बेरको मौनतापछि उनले भनिन्, ‘किन केही नबोली बसेको?’
उसले गीत बजाउँदै भन्यो, ‘चालकले बोल्नु हुँदैन भन्ने थाहा छैन र?’
चुपचापमै पन्ध्र मिनेट बित्यो। एउटा घरअगाडि कार रोकियो। दुवै जना भित्र पसे। उसले आफ्नो सामान पोको पार्न थाल्यो।
आश्चर्य हुँदै उनले सोधिन्, ‘टाढैको यात्रा हो, तिम्रो?’
‘म घर जाँदै छु। सायद फर्किन्न होला। बिहे गर्छु र उतै सेटल हुने छु।’
‘अनि मसँगको प्रेम?’, उनले निरस भएर सोधिन्।
उसले अंकमालमा कस्दै भन्यो,‘प्रिया, म प्रेमलाई दाम्पत्य जीवनमा बाँध्न चाहन्थें तर यो लिभिङ टुगेदरले जीवन चल्दैन। बिहेप्रति तिम्रो नकारात्मक सोच हिजो बुझें। अब यहाँ म रहन सक्दिनँ।’
उनलाई बेस्सरी रिस उठ्यो तर सम्भालिंदै भनिन्,‘एउटा अनुरोध गर्छु, मान्छौ?’
‘के भन!’
‘केही दिन सँगै बसौं अनि बाटो साटौंला। हुन्न?’
लुगाको पोको फ्याल्दै उसले भन्यो, ‘हुन्छ।
’तितामिठा पलहरू बित्दै थिए। एकदिन उनले अनायसै भनिन्,‘हामी बिहे गरौं।’
ऊ खुसीले उफ्रियो। कतै सपना त होइन भनेर उसले आफैंलाई चिमोट्यो र चिच्यायो, ‘के भयो तिमीलाई?’
मुसुक्क मुस्काउँदै उनले भनिन् , ‘म गर्भवती भएँ।’
३) यात्रा
म र मेरो मित्र एकपटक बसको यात्रामा थियौं। काम विशेषले हामी जिल्लाबाहिर जाँदै थियौं। उसले बसभरिका यात्रुहरूप्रति नजर लगायो र भन्यो, ‘हैट, कस्तो बोरिङ यात्रा! बसमा युवतीहरू भइदिए पो रमाइलो हुन्थ्यो, जिस्किँदै यात्रा गर्न। सबै बोकैबोका परियो। यो चार घन्टाको यात्रा कसरी काट्ने?’ सुन्नेजति हाँसे।
अघिदेखि छटपट गरिराखेको मित्रलाई मैले सुझाएँ,‘नेट चलाऊ, निदाऊ या बाहिरको प्राकृतिक दृश्यमा रमाऊ न।’
ऊ सानो बालकझैं आज्ञाकारी बन्यो। बसको झ्याल खोल्यो। बाटाका दुई किनारमा हरियाली थियो। ऊ एकोहोरो भयो। म किताब पढ्न थालें। ठाउँठाउँमा यात्रु ओराल्दै र चढाउँदै हाम्रो बस बाटो नाप्दै थियो। एउटा स्टपमा गाडी रोकियो। केही केटीह बसमा चढे। उसको आँखा खुल्यो। तिनीहरूलाई हेर्दै ऊ जर्याकजुरुक्क उठ्यो। कपाल र लुगा मिलाउँदै जोडले करायो, ‘बल्ल च्वाँक केटीहरू चढे। अब भने रमाइलो हुने भयो।’
एक्कासि एउटी केटी अगाडि बढी। उसले मेरो मित्रको कठालो समाती र कराउन थाली, ‘ओई महाशय! हामी छ जना सबै च्वाँक छौं। रमाइलो गर्ने हो? कहाँ जाने? वनमा कि घरमा? पालैपालो छ जना। फुट्टी पैसा लिँदैनौं। फ्रिमा जाऔं।’
ऊ निलोकालो भयो। सबै यात्रुले सम्झाए र झगडा रोकियो। गाडी निरन्तर कुदिरह्यो। ऊ मसँग सुटुक्क भन्दै थियो, ‘जीवनको बिर्सनै नसकिने यात्रा पो बन्यो।’
४) मौका
मुलुकमा एकपटक फेरि राष्ट्रिय चुनाव नजिकिंदै थियो। गाउँघरमा राजनीतिक चहलपहल बढ्दो थियो। कार्यकर्ताहरूले आफ्ना पार्टी र प्रत्याशी नेताका गुणगान गाउन थालेका थिए। समर्थकहरूमा पनि निकै उत्साह बढेको देखिन्थ्यो। जब जब नेताको आगमन हुन्थ्यो तबतब गाउँमा दुःखीदरिद्रीका पेट भरिन थाले। एक दिन आफ्ना प्रिय नेता गाउँमा आउने खबरले रमेश उत्साहित भयो। ऊ हत्त न पत्त आफ्ना साथी हिराकुमारलाई भेट्न उसकै घरमा पुग्यो।
‘ओई केटा! किन यतिबेरसम्म पनि सुतिरा’को? हिँड् पर पिपलको चौतारीमा। सबै जना भेला भइसके। हाम्रा नेता आउने रे। गाउँ र गाउँलेका लागि यिनले केही त पक्कै गर्छन्।’ उसले साथीलाई कराउँदै भन्यो।
उसले झिंजिंदै भन्यो, ‘नेताको फोस्रो आश्वासन र भाषण तँ नै सुन्।’
साथीलाई फेरि सम्झाउँदै उसले भन्यो, ‘हाम्रा नेता मनकारी छन् क्या। बरु हिँड्, मसँग। तेरा लागि केही सिफारिस गरौंला नि।’
उसप्रति नेताको विश्वास हराउँदै गएको थियो र उसलाई त्यस नेताले जित्छन् भन्ने विश्वास पनि थिएन। त्यसैले उसले भन्यो, ‘तेरा नेता तेरा लागि मनकारी होलान् तर मेरा लागि होइन।’ यति भन्दै उसले आफ्नो बाटो अन्तै मोड्यो।
चुनाव सकियो। उनै नेताजीले बहुमत ल्याए। जितेको खबर पाएर ऊ रमेशको घरमा गयो र अनुरोधको शैलीमा भन्न थाल्यो, ‘तेरा नेताले भोट जिते। स्कुलमा अस्थायी शिक्षकको आवश्यकता रहेछ। मेरा लागि सिफारिस गरिदे न।’
रमेशले भन्यो, ‘ऊ बेला मेरो कुरा मानिनस्। अब त्यो पद चुनाव जिताउन सहयोग गर्नेलाई सिफारिस भइसक्यो।’
५) विह्वल
ऊ वैदेशिक जागिरमा गएको निकै वर्ष भयो। ऊ बेलाबेलामा घर आइरहन्थ्यो। स्वास्नीले कतिपटक भनेकी थिइन्,‘साग र सिस्नु खाएर भए पनि सँगै बसौं।’
तर सन्तानको भविष्यका लागि ऊ जान बाध्य थियो।
विदेशमा एउटी नेपाली केटी उसकी साथी बनेकी थिई। माया पनि असाध्य गर्थी। कहिलेकाहीँ ऊ भन्थी, ‘बिहे गरेर यतै बसौं न।’
ऊ सम्झाउने गथ्र्यो, ‘हेर रीता, तिमीलाई पो लोग्नेले छाडे। एक्ली छ्यौ, निसन्तान छ्यौ। फेरि बिहे गर र नयाँ जीवन सुरु गर। मेरो त परिवार छ। स्वास्नी र परिवारको माया मुटुभरि लिएर परदेसिएको छु। म तिम्रो मनको मात्र साथी, तनको हुन सक्दिनँ।’
यसपटकको दसैंमा उसले घर फर्किने विचार गर्यो। उसले प्राणप्यारीलाई फोनमा आउने खबर गर्यो। उनी खुसीले गद्गद भइन्। उसले सबैलाई सम्झीसम्झी उपहारहरू किन्यो। उसले दिनहरू गन्न थाल्यो। रीता निराश भई। उसले भारी मनले बिदा गरी।
पारिवारिक मिलनको उत्साह र उमंग् बोकेर ऊ घर पुग्यो। माटाको गन्ध, दसैंको खुसी, आफन्त र साथीहरूको बिचमा ऊ निकै रमायो। उसकी स्वास्नीलाई लिएर एकपटक ऊ वनपाखा र डाँडाकाँडा घुम्दै थियो। जिस्किने क्रममै उनी भिरबाट तल झरिन्। उसले औषधि उपचारमा कमी राखेन। ज्यान त बच्यो तर जीवनभरका लागि अपांग भइन्। भावनाको सम्बन्ध मात्र रहने अवस्था आयो। ऊ विह्वल भयो। रित्तो मन लिएर फेरि केही दिनमा ऊ काममा फर्कियो। चुपचाप र निराशामा उसले निकै दिनहरू बितायो। एकदिन ऊ बितेका घटना सम्झेर टोल्हाइरह्यो। उसले रीतालाई सम्झियो। फेरि आफैसँग प्रश्न गर्यो, ‘ऊ किन मलाई भेट्न आइन? ऊ झस्कियो, कतै बिहे त गरिन?’
(उक्त लघुकथा लघुकथाकार केसीको ‘दृश्य’ लघुकथा संग्रहमा समावेश छन्।)
प्रकाशित: २० जेष्ठ २०७९ ०६:११ शुक्रबार