छायादत्त न्यौपाने
हो है!
विगतदेखि कति चुनाव आए
भोक भगाउन बाचाहरू कसिए
आङ ढाक्न कपासका बोट रोपिए
अँध्यारो लखेट्न साझा घोषणा गरिए
निमुखाले विश्वासको बिउ छरिरहे
विश्वासको चुली टेकेर धेरै जना नेता बने
सँगै कति महलहरू अग्लिए
धेरै चिल्ला गाडीहरू थपिए
तर खै!
झोपडीको अँध्यारो उस्तै छ कालै
गरिबको आङ उस्तै छ नाङ्गै
युवा हातमा प्रमाणपत्र बोकेर
राहादानी खोजेको खोज्यै छ
विदेशीले सम्पदा तानेको तान्यै छ
संस्कार संस्कृति हरण भएको भयै छ
मोटाएका केही मान्छेको भीडले
दुब्लाहरू थिचेको थिच्यै छ
तर पनि!
चेतनाको चोइलो फुटाउने जाँगर सुतेको सुत्यै छ
दियालो सल्काउने सलाईका सिन्का भिजे कि कुन्नि
जनता आसाखेतीमा अल्झिको अल्झ्यै छ
जुझारु विचार बाँड्ने आँटिला मस्तिष्क
खुम्चिए वा विदेसिएका हुन् कि कुन्नि
सँगसँगै उठाउने हात र पाइलाहरूले
उज्यालो बिहानी पर्खिरहेको दृश्य टिपी
सूचना सम्प्रेषण गर्ने सञ्चार माध्यम
भागबिलोको स्वादमा रमे कि कुन्नि
अँध्यारो लखेट्ने तागतिलो ज्वारभाटा
बासी बनाउँदै महलतिर दौडिरहे कि कुन्नि
उकालोका गाउँ तुवाँलोभित्रै रहेर
सामूहिक बाध्यता खेपिरहेछन्
भञ्ज्याङ र बिसौनीहरूमा
उज्यालो साइतको अविच्चिन्न प्रतीक्षाले
सग्ला ओठहरूमा मुस्कान खोजिरहेछन्
उस्तै हिजो जस्तै जाँगरभरि पाइलाहरू!
प्रकाशित: १४ जेष्ठ २०७९ ०४:५० शनिबार