सुयोग मान सिंह बस्न्यात
कुरा हो पुस ३ गतेको। ठण्डीको मौसम। त्यो पनि बिहान सबेरै ७ः१५ बजेतिर घरबाट बाबा र म साइकलमा निस्कियौं। ८ः१० बजेतिर सातदोबाटोमा पुग्यौं। त्यहाँ बाबाको साथी ध्रुव लौडारी काका हामीलाई पर्खिदै हुनु हुँदो रहेछ। त्यहाँ बाबाले केरा किन्नुभयो। ध्रुव काकाले पकौडा किन्नुभयो अनि हामी तिनै जना लाग्यौं फुलचोकी यात्रामा। कतै पिच कतै कच्ची सडकमा साइकल दौडाउँदै चिसोमा साईसाई र सुईसुई गर्दै अघि बढ्यो।
गोदावरी पुगेपछि हल्का घामको दर्शन पनि पाइयो। पहिला हामी गोदावरीको ढुंगेधारा भएको कुण्डमा गएर हातमुख धोयौं। दर्शन गर्यौं अनि फर्केर फुल्चोकी जाने बाटो मुखैको छाप्रे चिया पसलमा चना, कुखुराको फूल, आलुचप, चिया, दुनोट खाएर लाग्यौं फुलचोकी यात्रामा।
चराहरूको चिरविरे संगीत सुन्दै यात्रा अघि बढायौं। यात्रामा विभिन्न खाले चरा देखिए। कति पहिले देखेको। कति पहिला नदेखेको। मैले पहिलोपटक लामपुच्छ्रे चरा त्यहीं देखें।
‘लामपुच्छ्रे चरा पहिलेपहिले हाम्रो घरतिरै आउँथ्यो। अहिले घरहरू बढे। घर वरिपरिका सानातिना वनहरू मासियो अनि यस्ता चराहरू पनि देखिन छाड्यो।’बाबाले भन्नुभयो।
ध्रुव काकालाई चराबारे धेरै ज्ञान तथा रुचि रहेछ। उहाँले चराबारे बाबासँग गरेको कुरा ज्यादै रोचक थियो। शहरको घाईघाई घुईघुईभन्दा मलाई पनि चराहरू चिरबिर गरेको, खेलेको र उडेको हेर्न मनपर्छ। त्यसैले म फुसर्द हुँदा जंगलतिर चढ्न रुचाउँछु। दिन धाम्मधुम्म थियो। खासै नखुलेको। बाटाको अवस्था पनि त्यस्तै, कतै ढलान, कतै डोजरले कोतरेर धुलाम्मे भएको, कतै गिट्टी छरपस्ट भएको, कतै ढलानको तयारीमा रहेको, कतै हिलाम्मे चिप्लो। कतै साइकल चढ्दै, कतै घिच्चाउँदै उकालो अनि घुम्तीहरू छिचोल्दै हामी दिउँसो पौने ४ बजेतिर फुलचोकी पुग्यौं। त्यहाँ देवीको दर्शन गर्यौं। त्यहाँबाट उपत्यकाको चारैतिर आँखा नचायौं। कतै हिमाल देखिन्छ कि भनेर आँखा च्यातीच्याती हेर्यौं तर टम्म हुस्सुबाहेक केही देखिएन। बरु २/३ बजे सम्म पनि नपग्लिएको टुसारो बाटाको छेउछाउमा सेताम्मे देख्न पाइयो।
हामीले लगेको खानेकुरा खायौं। फुलचोकी ब्यारेकनिर भएको सानो चिया पसलमा चियानास्ता गर्यौं। अनि साँढे चार बजेतिर फर्कियौं। फर्किदा बाटामा कैयौं पल्ट बनकुखुरा (कालिज) सँग जम्काभेट भयो। २/३ वटा मेरै टाउकोमाथिबाट उडेर गए। २/४ वटा झन्डै साइकलले कुल्चेको। वालवाल जोगिए! मैले पहिलोपल्ट ज्यादै नजिकबाट प्रत्यक्ष बनकुखुरा देखें। उता ध्रुव काकाले मृग देख्नुभएछ। उकालो चढ्दा जति गाह्रो भएको थियो, ओरालो उति रोमाञ्चक। ओर्लदाओर्लदै जंगलको बिचमै झमक्क साँझ पर्यो। बिहान सवा सात बजे घरबाट निस्किएको घर पस्दा पनि सवा सात बजेको थियो।
गत असोज २२ गते साइकल स्टण्ट गर्ने क्रममा हात भाँचिएपछिको यो मेरो दोस्रो यात्रा थियो। त्यसैले पनि मलाई अलिअलि गाह्रो महसुस भयो तर जेहोस् समग्रमा यात्रा ज्यादै रमाइलो, रोमाञ्चक अनि आनन्ददायक भयो। यात्राको अवसर जुराएकोमा बाबा र ध्रुव काकालाई धेरैधेरै धन्यवाद!
कक्षा–७,
विद्यासंस्कार विद्यालय, गोकर्ण,काठमाडौं।
प्रकाशित: १४ वैशाख २०७९ ०३:१६ बुधबार