कला

ढुंगाले हान्नेलाई फूलले हान्ने संस्कार छ आफ्नो त

मुक्तक

गंगा खड्का

१) मुक्तक

घमण्डले मत्त भई फुल्ने पनि हुँदा रैछन्,

खाएका कसमहरू भुल्ने पनि हुँदा रैछन्।

अरूलाई रुवाएर आफू मक्ख पर्दैपर्दै,

जताततै खुलेआम डुल्ने पनि हुँदा रैछन्।

  २) मुक्तक

जिन्दगीको यात्रा तिम्रो आगमनले खास भयो,

हाँसो–खुसीले रंगीन बन्छ भन्ने मीठो आश भयो।

तर तिमी नपत्याउने खोला भई निस्केपछि,

यो मनमा अचेल तिम्रो यादै यादको राश भयो।

  ३) मुक्तक

पत्थरसँग गुनासो गरी मलाई जिउनु छैन,

आदर्शको खोल ओढी विषको प्याला पिउनु छैन।

गोहीहरूका अगाडि स्वाभिमान बेचेर कहिल्यै,

सम्झौताको बकपत्र गरी यो मन सिउनु छैन।

  ४)मुक्तक  

अचेल आफ्नो गल्तीले तिमीलाई पोल्न थालेको छ रे,

लोलाएको आँखाले नि आफ्नै गल्ती बोल्न थालेको छ रे।

पापको घडा भरिएपछि पोखिने भएर नै होला,

तिम्रो धड्कनले पनि आफ्नै पोल खोल्न थालेको छ रे।

 ५) मुक्तक

आउँछौ भने फर्किएर दिलको ढोका खोलिदिउँला,

मुटुमाथि ढुंगा राखेर नि मीठो बात बोलिदिउँला।

ढुंगाले हान्नेलाई फूलले हान्ने संस्कार छ आफ्नो त,

तिमीले दिएका घाउका अवशेष सबै पोलिदिउँला।

प्रकाशित: ११ चैत्र २०७८ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App