रञ्जुश्री पराजुली
चार दिनदेखि रोवर्टका आमाछोरा बमले भत्किएको आफ्नो घरको तल्लो तलाको कुनाको भन्डार कोठाको भित्रपट्टि लुकेर बसेका थिए।
‘तिमी आफ्नी बिरामी आमालाई एकै नछोड है’ भन्दै बुबाचाहिं केही खाना–पानी कतै पाइन्छ कि भनेर साँझपख घरबाट हिंडेका थिए तर चार दिन पुगिसक्दा पनि उनी पर्किएका थिएनन्।
उनीहरूको घर शहरदेखि केही टाढा गाउँमा भए पनि शत्रुले यत्रतत्र बमबारुद गर्दा त्यो गाउँ पनि मुछिएको थियो। आफूसँग भएको रसद पानी सकिएपछि रोवर्टका बाबू शत्रुले बम वर्षा गरेर लडाएका छिमेकको घरतिर केही खानेकुरा पाइन छ कि खोजेर ल्याउने आसमा थिए तर उनी फर्किएनन्।
देशको चारैतिर युद्ध फैलिएको थियो। मानव निर्मित सुन्दर संरचनाहरू ध्वस्त भएका थिए। चारैतिर भोकानांगा, घाइते र शिथिल मान्छेहरूको हुल थियो। केही स्वयंसेवक आफ्नो ज्यानको परवाह नगरी मानव धर्म निर्वाह घाइतेहरूको सेवा गरिरहेका पनि थिए भने अर्कोतिर शक्तिशालीहरू एकमाथि अर्को छेप्यास्त्र चलाउँदै थिए। चारैतिर अवस्था भयावह थियो। युद्ध पीडितहरू कतै शरणार्थीको रूपमा जान पाइन्छ कि भनेर लाइनमा उभिएका पनि थिए।
रोवर्टकी आमा आफ्नो बुढा पनि बमको शिकारमा परे कि भनेर मानसिक तनावमा परे पनि छोरालाई केही भनेकी थिइनन्। उनीहरूसँग खानेकुरा पानी केही थिएन। साँझ परेपछि एउटा भाँडा बाहिर राखेर शीत थापेर पानीको प्यास बुझाएका थिए। साँझपख नै वरपरबाट हरियो घाँस बटुलेर त्यही चपाएर भोक र प्यास मेटाएका थिए।
आफू पन्ध्र वर्षको भैसकेको हुनाले बाबुको खोजी र खाना–पानी खोज्नु कर्तव्य भएको कुरा आमालाई बुझाउदै उनले ‘हुन्न नजाऊ’ भन्दा पनि सम्झाइबुझाइ गरेर ऊ आमालाई ‘यहाँबाट अन्त कतै नजानु’ भन्दै बाबू र खानेकुराको खोजीमा त्यो ठाउँबाट निस्कन्छ तर दुर्भाग्य केही कदम अगाडि मात्र के बढाएको थियो। ऊ एउटा लाससँग ठेस्सिन पुग्छ। त्यो लास कसैको नभै उसको आफ्नै बाबुको हुन्छ।
त्यसैबेला आकाश मार्गमा जासुस गरिरहेको शत्रुको यन्त्रले उस्को आकति भेट्टाएर उक्त ठाउँमा अरू पनि लुकेर बसेका होलान् भन्ने शंका गर्दै आकाशमार्गबाटै छेप्यास्त्र प्रहार गरेर बाँकी भएका सबै अधकल्चा संरचनाहरू र लुकेर बसेका युद्धपीडितहरूलाई खरानीमा परिणत गरिदिन्छ।
प्रकाशित: ११ चैत्र २०७८ ०४:०१ शुक्रबार