कला

यी आँखामा झलझल्ती तिम्रै तस्बिर देख्छु

मुक्तक

प्रकाश घायल

१) मुक्तक

फूलको ओछ्यान बिझाउँछ सन्ताप बढेपछि,

खलबलिन्छन्  सपना दुःखको खात बढेपछि।

सम्हाल्न कठिन छरपस्ट छरिएका सपनाहरू, 

तुहिंदो रहेछ खुशीहरू मनमा तनाव बढेपछि।

  २) मुक्तक

जिन्दगी दुःखमा बित्दा दिनरात कहाली लाग्छ,

झन् समयले लगाउँदा धारे हात कहाली लाग्छ।

निष्ठुरी विधाताले नै विश्वास गुमाउन थालेपछि,

थामिन्न आँसु भएसी विश्वासघात कहाली लाग्छ।

  ३) मुक्तक

मन  बहकाउन गीताको  सार  लिएर आउँछन्,

फूल  हुँ  भन्नेहरू फूलकै  धार लिएर आउँछन्।

मुस्किल भो चिन्नलाई  मान्छेको नियति अचेल,

अझ आफन्तले वचनको तरबार लिएर आउँछन्।

  ४) मुक्तक

पहाड ओढेर तराईका फाँट समथर जोत्नुपर्छ,

सिम्रीक–गुराँसमा राष्ट्रियता सकभर खोज्नुपर्छ।

मिसावट गर्न सक्छन् गुराँसको रातो रंगमा पनि,

सावधानीपूर्वक आफैंले आफ्नो रहर छोप्नुपर्छ।

५) मुक्तक

कहिले समथरमा टेक्छु कहिले भीर टेक्छु,

यी आँखामा झलझल्ती तिम्रै तस्वीर देख्छु।

खुशी भेटिंदैनन् कोही पनि अचेल यहाँ,

जहाँ जे भेट्छु स्वार्थ लुकेको नजीर भेट्छ।

प्रकाशित: ९ चैत्र २०७८ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App