अनन्त अर्याल
मेरी सानी छोरी धेरै बाठी छ। आफ्ना कुरामा जिद्दी पनि राख्छे तर मैले यसो हो भनेपछि खुरुक्क मानिहाल्छे पनि।
केही पहिलादेखि ऊ मसँग कुकुरको माग राखेकी छ। यतिसम्म कि आफ्नो जन्मदिनको दिन कुकुरको छाउरा उपहार दिनुपर्छसम्म भन्न भेट्टाई तर मैले खासै मतलब राखिन्।
‘यो कराउँछे, छोड्छे।’ उसका मागप्रति मेरो अन्तर्य यही हो। मलाई फेरि कुकुरका डाँगा भनेपछि पटक्कै मन नपर्ने।
छिमेकीहरुले कुकुर पालेको, छाउरा खेलाउँदै हिंडेको देखेकी सानी छोरीको मनोविज्ञानमा के छाप पर्यो कुन्नि ऊ सपनामा पनि डेजी र बेला भन्दै कुकुरकै सपना देख्न थाली।
‘यसले अति गर्न थाली। एउटा छाउरो त ल्याउनुपर्यो।’ सानीकी आमा पनि छोरीको मागको सम्बोधनमा ऐक्यबद्धता जनाउन थालिन् तर म भने आमाछोरीका कुराप्रति बिलकुलै चासो राखिन कुकुरको सवालमा।
एकदिन औषत दिनभन्दा अबेर गरी अफिसबाट घर फर्कें। घरमा आइपुग्दा छोरीले होमवर्क सकेर मेरो प्रतीक्षामा रहिछ। मलाई देख्नासाथ एउटा कागजको टुक्रा देखाउँदै ‘बाबा यहाँ सही गर्नुस्’ भनी काखमा टाँसिई। पट्याइएको कागजमा के लेखिएको छ, थाहा भएन। उसको जबर्जस्तीमा म सही गरिदिएँ।
छोरी खुसीको उन्मादमा खित्का छोडेर हाँसी। सही गरिएको कागजमा लेखिएको रहेछ, ‘छोरीको खुसीका लागि मैले छिट्टै कुकुरको छाउरा किनेर ल्याउनेछु।’
आखिर मेरो केही चलेन। सानीको चतुर्याइँले जित्यो। हारेर पनि म प्रसन्न भएँ।
प्रकाशित: ९ चैत्र २०७८ ०५:३३ बुधबार