नन्दलाल आचार्य
‘तपाईंलाई भित्र पस्न मनाही छ। अमृत निषेधित जोन हो यो।’ गेटको पालेले भित्रैबाट भन्यो।
‘यहीं जीवन घोटें। पसीना बगाएँ। स्वर्णकाल बिताएँ। जागिरबाट गलहत्याइएँ। सहेकै थिएँ। भित्र पस्नै नदिनुचाहिं संस्थाप्रतिको मेरो निश्छल प्रेमलाई लात मार्नु हो।’ अमृत बोलेर बिसाए।
अनेक वाचा गरेर बल्लतल्ल भित्र पस्न पाए। मकहाँ आए। म बडो विषादमा थिएँ। उनको दैनन्दिनको साक्षी हुनुपरेकामा मेरो धरती नै धरमराइरहेको थियो।
पहिले उनको होस र जोस देखेर सबै कृतार्थ थिए। सबै जना उनी जस्ता कुशल कर्मचारी पाउन गाह्रो छ भन्थे। संस्थाले २० वर्ष उनको सेवा लिएको थियोे। उनलाई ६ पटक त ‘सर्वोत्कृष्ट कर्मचारी’ उपाधिले विभूषित गरेको थियोे। समय पाको हुँदै गयो। शारीरिक रूपमा उनको कार्य क्षमता कमजोर हुँदै गयो। उनी काउछो सावित हुँदै गए।
‘तपाईंको गह आँसुले भरियो। लु अब आँखामै पचाउनुस् त।’ उनले थप्दै गए, ‘आँसु देखाउने चिज होइन। आफ्नो दबाउने र अरूको पुछिदिने चिज हो।’
मप्रति लक्षित उनको कुरालाई भित्री रूपले गम्भीरतापूर्वक लिएँ। बाहिरी रूपमा भने हल्का प्रश्न गरें, ‘साँच्चै छँदाखाँदाको जागिर किन छाड्नुभयो?’
उनको उत्तरपछि म झन् मर्माहत भएँ। कारण म पनि त्यसै संस्थाको वेतनधारी थिएँ।
उनको उत्तर थियो, ‘पहिले थोरै बोल्थें। प्रिय थिएँ। पुरानो भएँ। सुविधा माग्ने आँट देखाएँ। अहिले मलाई बढता बोल्ने रोगले समात्यो रे। त्यसैले मैले हैन जागिरले नै मलाई छाडिदियो। यद्यपि मेरो प्रेमबाट मलाई छुटाउन भने सकेको छैन।’
प्रकाशित: ९ चैत्र २०७८ ०४:१५ बुधबार