छविलाल खड्का
जनता भनेका भेडा हुन्। यो उसको मान्यता थियो। ऊ यही सिद्धान्त अनुसार व्यवहार गर्थ्यो। पटकपटक सपनाका पुलिन्दा बोकेर गाउँ आउँथ्यो। चुनाव मार्फत पाँच बर्से लाइसेन्स नवीकरण गरेर सहर फर्कन्थ्यो।
फेरि चुनाव आयो। ऊ तामझामकासाथ गाउँ छिर्यो। उसले भेटघाट, छलफल, अन्तरक्रिया र चुनावी सभालाई सघन रुपमा अघि बढायो।
मतदाताहरूले पहिलेपहिलेका वाचाबन्धन सम्झे। परिवर्तनका रेखांकनहरू हेरे। निरासाको कालो बादल मडारियो।
उसले यसपटक ल्याएको ब्रह्मास्त्र मतदाताका हातहातमा पर्यो। उत्सुक भएर सबैले ध्यानपूर्वक अध्ययन गरे। रंगीन सपनाहरू बाँडिएको हावाको घर जसको सार यस्तो थियो– ‘कागज अर्कैको, मसी अर्कैको, कलम अर्कैको र विचार अर्कैको तर घाोषणा पत्र हाम्रो!’
–...नेता?
प्रकाशित: ६ चैत्र २०७८ ०७:२८ आइतबार