कला

गहना

लघुकथा

त्रिलोचन ढकाल

पवित्राकुमारी चौबाटोमा निस्केकी थिइन्। उनका वरिपरि महिलाहरूको भीड जम्मा भयो। सबैले पवित्रामाथि टिप्पणी गरे–  

‘श्रीबन्दी कति राम्रो।’

‘माला कति आकर्षक।’

‘कति चम्किला बालाहरू।’

‘एहे छड्के तिलहरी त झन कति सुहाएको!’

‘पाउजु पनि सुनकै रहेछन्। कति भाग्यमानी पवित्रा!’

पवित्रा सर्वसाधारण महिला थिइन्। उनले कुबेतमा जागिर गर्ने आफ्ना पतिको मन पगालेर गहना जम्मा गरेकी थिइन्।

उनी बोलिन्,‘कति रिस गर्छौ मोरी हो मेरो। जम्मा आठ तोला सुनका गहना हुन्। पतिसँग माग्न पनि जान्नुपर्छ क्या! माइत जाने हो। भाइको विवाह छ। दिदी, बहिनी, भाउजू र बुहारीमध्ये सबैभन्दा उत्कृष्ट घरानियाँ देखिनुपर्‍यो नि!’

‘गहना, कपडा र सिँगारपटारले त उत्कृष्टै देखिन्छ्यौ।’

पवित्रा माइततिर लागिन्। छिमेकीहरू आआफ्ना आश्रयतिर जानु स्वाभाविक थियो।

बेलुका टिभी र सामाजिक सञ्जालमा सचित्र समाचार देखियो। रक्तरञ्जित शव पवित्रा कुमारीकै थियो।

प्रकाशित: ६ चैत्र २०७८ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App