कला

बादलहरूको जुलुसमा

कविता

बाबुराम श्रेष्ठ यात्री

 

एउटा सिंगो  युग नाजवाफ  

फगत उभिएको छ

ऊ कारण खोज्छ

ऊ प्रश्न गर्छ आफैंमा

कुनै बेला खुसीहरू

सर्लक पल्टिन्थो उसको अगाडि

जसले माहोल उलासमय बनाउँथ्यो

र स्वयं निकै फैलन चाहन्थ्यो

आकाशभन्दा माथिमाथि

आफ्नो जीवन दरबारको

ठूलो पर्खालभन्दा बाहिरबाहिर

सम्भावनाहरू अथाह खिचेर

बतासको तालमा फैलाएर आउँथ्यो खुसीहरू

लाग्छ, स्वर्गको एक टुक्रा

उसैको सामुन्ने थियो

वर्षहरू बित्छ स्वाद–बेस्वादका

उमेरको रन्काले फन्को मार्दै

परीक्षाको घडी जीवनमा तेर्सिरहन्छ

मानौं,आफू बाँचेको अर्को लोक हो

उसले कहिले नभोगेको

कहिले नदेखेको अद्भूत नजरा

जीवनको यावत् उदासीनता

आँखाको डिलमा नाच्छ

कसले नजर अन्दाज गर्न सक्छ

बाहिरी चेहरा हसाउँदैमा

उसको मनभरिका रापहरू निभ्छ

जीवन, मृत्यु नदेखिने–देखिने

यो बिचमा सुख–दुख भोग्नु

कुनै अद्भूत कुरा होइन

नियम हो संसारको

ऊ मन दरो पार्छ ढल्केको साँझमा

सुस्ताउँछ बिहानको पर्खाइमा

रविको पूर्वी आगमनसँगै

ऊ पहाड छिचोल्छ

एकपछि अर्को उभिन्छ फेरि  

किनकि पलपलमा उभिएको थियो कठोर सत्य

बदलिएर ऊ आफैंमा आफूले

लिली फूल देख्छ

जो सूर्यको प्रकाशबिनै फक्रन्छ

जो आफ्नै अस्तित्वमा पूर्ण हुन्छ

देहभरि आफ्नै चाहना लुकाउँछ

जीवन अनुत्तरित प्रश्नमा खेद छैन

विचलित छैन

मानौ,ऊ बुद्धत्व यशोधरा हो

जीवनलाई खप्तड देख्नेहरू

संघर्ष त्यहाँ पनि छ

संघर्षबिना हुँदैन पूर्णता

जसरी आकाशमा बादलहरू  

समयको मागमा बदलिंदै जान्छ

किन यो अवस्थामा ऊ

दिन सक्दैन उसको जवाफ युगयुगले

किनकि सरिक हुँदै छ ऊ  

बादलहरुको जुलुसमा।

प्रकाशित: ५ चैत्र २०७८ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App