कला

मिसकल

लघुकथा

आचार्य प्रभा

उता माइकल आधुनिक गेम खेल्दै थियो। घरीघरी आमाको मोबाइल पनि मागेर खेल्थ्यो। माइकलसँग मनिष पनि  खेलिरहेको थियो। मनिष भने प्लास्टिकको सस्तो हेलिकप्टर त्यो पनि नउड्ने, त्यहीं खेलिरहेकोथ्यो।  यत्तिकैमा अचानक माइकल रुँदै मम्मी नजिक आएर भन्न थाल्यो, ‘मम्मी, मनिषले मेरो गेम छोइदियो।’

मम्मी चाहिंले मनिषलाई हेर्दै भनी, ‘बाबा, मनिष दादाको गेम नचलाइदेऊ है।’

मनिषले भन्यो, ‘आन्टी, मैले चलाएको छैन। म त त्यस्तो गेम कहिल्यै छुन्न। त्यस्तो गेम चलाऊने बच्चा त बदमास हुन्छ रे। त्यस्तो गेम छोयो भने त पुलिसले लैजान्छ रे। त्यो गेम खेल्दा त आमाले छाडेर जानुहुन्छ रे। आमाले मलाई सधैं त्यसै भन्नुहुन्छ। त्यही भएर म त त्यस्तो गेम कहिल्यै आमासँग किनी माग्दिनँ। त्यस्तो गेम किनी माग्नेले त आफ्नी आमालाई माया गर्दैन रे। मलाई त मेरै आमासँगै बस्न मन लाग्छ। त्यही भएर आमाले सधैं मलाई यस्तै एरोप्लेन किनिदिनुहुन्छ।’ भन्दै प्लास्टिकको उस्को खेल्ने देखाउँछ।

मनिषको बालसुलभ कुरा सुनेर अलिक पर उभिएर टेबल सफा गरिरहेकी उसकी आमाको शिर नतमस्तक हुन्छ। यता माइकलकी आमा हातमा वाइनको ग्लास बोकेर हाँस्दै भन्छे, ‘मनिष, तिमीलाई तिम्री आमाले झुक्याएकी पो त! अहिले त बच्चाहरूले जत्ति आधुनिक गेमहरू खेल्यो उत्ति बच्चाहरूको दिमाग तेज हुन्छ रे। माइकलका त महँगामहँगा गेमहरूले नै उसको कोठा भरिएको छ। म त गेम मात्र होइन, यी आफ्नो सेलफोन पनि बाबुलाई दिन्छु। उसले यसबाट कति कुरा सिकिसकेको छ।

‘लौ माइकल यो फोन खेलेर मनिषलाई देखाउ त!’भन्दै आफ्नो छोरालाई अझ फुक्र्याउँदै आफ्नो फोन दिन्छिन् र वाइनको चुस्की लिन्छिन्।

केही क्षणमै एउटा मान्छे आत्तिंदै आएर भन्छ, ‘ए दिदी, हजुरलाई कैलेदेखि फोन गरेको, फोनै उठाउनु हुन्न। हेर्नुस् त कति मिसकल आएका छन्? घरमा भिनाजु एक्कासि हर्टएट्टयाक्ट् भएर लड्नुभयो।’

उक्त व्यक्तिको कुरा सुनेर आत्तिंदै हत्तपत्त छोराको हातबाट फोन खोस्छिन् र फोनमा आएको मिसकलहरू हेर्दै बाहिरिन्छिन् उक्त महिला। उसलाई त्यो समय आफ्नो छोराको पनि  हेक्का रहँदैन।

आफ्नी मम्मी आत्तिएको देखेर हातमा भएको खेलौना पनि  फ्याँकेर माइकल रुन थाल्छ र मनिषको हात समाउँदै मम्मी कुद्दै गएकी परसम्म हेरिरहन्छ।

प्रकाशित: २७ माघ २०७८ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App