कला

आँखा लाग्ने कुरा

व्यंग्य

कृष्ण प्रधान

हामी आधुनिक सभ्यताको डिलमा पुगिसकेका छौं। हाम्रो रहनसहन, उठाइबसाइ, लवाइखुवाइ सबै नै आधुनिक भइसकेको छ। आधुनिक हुनै पनि पर्‍यो। किनभने जमाना बद्लिसकेको छ। हामी बस्ने घरलाई जति नै आधुनिक बनाउन सकियो उति नै समाजमा हाम्रो स्ट्याटस बढ्छ। त्यसैले हिजोआज ‘इन्टेरियर डेकोरेसन’ भन्ने कुरा खूबै चलनचल्तीमा आएको देखिन्छ। सानो एउटा कोठा। तीन हात बाई दुई हातको एउटा ‘सेन्टर कार्पेट’। त्यसपछि ‘ग्लास टप’ सेन्टर टेबल। त्यसको मुन्तिर इंगलिस म्यागेजिनका खात। नेपाली पत्रपत्रिकाको नामोनिसान देखिंदैन। खासमा नेपाली पत्रपत्रिका त्यसरी राख्नु पनि हुँदैन। प्र्रेिस्टजको प्रश्न छ।

–यो फेर्नुपर्छ–श्रीमानको हुकुम।

श्रीमती प्याच्चै बोल्छिन्–पर्दा आइतबार ता फेरेकी यी पर्दाहरू।

श्रीमानको नम्र स्वर – पर्दा होइन हौ लाटी! यी म्यागेजिनहरू पो फेर्नुपर्छ भनेको। यी सबै पुराना भइसकेका छन्। टु थाउजेन्ड ट्वेन्टी टुका म्यागेजिनहरू हेर ता कति पुराना भइसके।

श्रीमतीको जवाफ–खै कति खोजिसकें। यति राम्राराम्रा कभर डिजाइन भएका म्यागेजिनहरू पाएकै छैन। पुराना रद्दी कागत बेच्ने खातेहरूलाई भनिराखेकी छु। राम्रो खाले पायो भने ल्याइदिन्छु भनेको छ।

दुई खिड्की माझको देवालमा लाफिङ बुद्धको विराट चित्र टाँगिएको छ। श्रीमानको विरक्ती कोठाभरि छरिन्छ–खै तिमीले यो भित्तामा के राखेकी त्यस्तो? मलाई ता हेर्दै डर लाग्छ।

बारुलाको गोलामा हात हालेझैं हुन्छ। बस श्रीमतीको लम्बेतान भाषण सुरु– हजुरले बुझ्नुभएको छ यसको माने? यस्तो नक्सा राख्दै कसैको पनि आँखा लाग्दैन भन्छ। यो घरभित्र हजुरले जे जति पनि देख्नुहुन्छ, ती सबै विज्ञान हुन् विज्ञान। ऊ त्यहाँ हेर्नुस् तपाईको पछिल्तिरको भित्तामा एउटा चक्का झुन्डिरहेको छ। चक्का माने नै सभ्यता हो।

काँतर स्वर श्रीमानको–बङ्ङै झर्दैन जीउमाथि?

श्रीमतीको निर्धक्क जवाफ–त्यै ता भाग्य हो। भाग्यको चक्का एक न एक दिन घुम्छै घुम्छ पतिदेव महादय। अलिक जोगिएर बस्नुस्।

दाहिनेतिर अग्लो पाराले राखिएको टबमा क्याक्टस प्लान्ट। क्याक्टसको काँडाले हात कतिपल्ट घोचिसक्यो–घोचिसक्यो। त्यसको कुनै हिसाब छैन। यो कुरा भनिसक्नु छैन श्रीमतीलाई। अर्कै पाराले भनिपठाउँछ–यो टबमा अर्कै प्लान्ट राख्दा हुँदैन र?

ओठेजवाफ श्रीमतीको–अहँ त्यत्रो स्पेसमा, त्यस्तो लोकेसनमा अर्को प्लान्ट राख्न मिल्दैन। फेरि घरको कुनामा यसरी क्याक्टस प्लान्ट राख्दा ‘इभिल एफेक्टस्’ पर्छ भन्छ। विभिन्न प्रकारका मानिस विभिन्न मतलबमा आउँछन्।

श्रीमानको जिज्ञासा – के हुन्थे ता अन त?

श्रीमतीको उत्तर–यहाँ जो पनि आउँछन्। आहा क्या राम्रो घर भन्छन्! कतिको आँखा लागिहाल्छ।

पुनः जिज्ञासा श्रीमानको–घरको जीउमा पनि आँखा लाग्छ र?

प्याच्चै बोल्छे श्रीमती–लाग्दैन अन्त? देख्नुभएको छैन? ठूल्ठूला ट्रकको जीउतिर आँखा लाग्छ भन्छ। ट्रकको पछिल्तिर ‘बुरी नजरवाले तेरा मुहँ काला’ लेखिएको देख्नुभएको छैन हजुरले? त्यति मात्र कहाँ र ट्रकको अघिल्तिर वा पछिल्तिर फाटेका जुत्ता वा चपली झन्ड्याको हुँदैन? किन भन्नुस् ता, आँखा लाग्छ भनेर,थाहा छैन हजुरलाई?

श्रीमानको उटपटयाङ प्रश्न–त्यसो भए अब मैले पनि टाई नबाँधेर फाटेको एउटा जुत्ता घिच्रामा झुन्ड्याएर हिंड्नुप¥यो।

श्रीमतीको जिज्ञासा– किन नि?

– मेरो जीउमा पनि कसैको आँखा लाग्दैन नि – श्रीमानको हलुका जवाफ।

सामान्य चर्को स्वर कोठाभरि रुमलिन्छ–तपाईलाई कसले सक्ने? तपाईले कुनै कुरालाई पनि सिरियस्ली लिनु हुन्न। तपाईलाई थाहा छ? हाम्रो घरमा यति धेर काँक्रा फलेको थियो। गैरी गाउँकी धनसरी छ्यामा आएर–‘आहा! कति राम्रो काँक्रा सप्रेको हेरहेर परैको। खै हामीलाई ता काँक्रा भन्ने कुरा कहिल्यै फापेन’ भनेकी एक हप्तापछि काँक्राको बोटै सुक्यो अन्त। कलेज पढ्दा सविता भन्ने एउटी बहिनीले ‘आँ दिदीको स्किन कति सफ्ट हौ’ मात्र के भनेकी थिइन् भोलिदेखि अनुहारैभरि डन्डिफोरै डन्डिफोर निस्केर सर्वनाश पार्‍यो। मेरो अनुहार देख्नुभएन, कोत्रै कोत्रा परेको?

प्रसंग बद्ल्दै फेरि श्रीमती बोलिन्–तपाईको खुट्टाले हेर्नुस् ता कार्पेट कुच्चिएर कति घिनलाग्दो भएको। एस्ट्रे पनि आफ्नो ठाउँबाट सरिसक्यो। सोफाको कभर कच्याककुचुक भइसक्यो। सोफाभरि बिस्कुटको धुलो हेर्नुस् ता। यो मान्छेले खानु पनि जान्दैनन् हौ। घरको अवस्था यस्तो देखियो कि मेरो कन्सिरी तातिनु मात्र होइन रगत उम्लेर आउँछ। हेर्नुस् गति कोठाको! कोही मान्छे आए के भन्लान्?श्रीमानको सोधाइ – के भन्छन् र?

तुरुन्तै ओठे जवाफ श्रीमतीको–अन्सिभिलाइज्ड भन्छन् नि। तपाईलाई ता के भन्लान र। मलाई नै अन्सिभिलाइज्ड भन्छन् नि! अरे तपाई जुत्ता लाएरै सोफामा बस्नुभएको? कार्पेट मैला हुँदैन? फेरि जुत्ताले कति जर्म्स बोकेर ल्याउँछ। म ता साह्रै हेल्थ कन्सियस पो छ है हजुर। बाहिरबाट आउनेहरूले इन्फेक्सन बोकेर ल्याउँछन्। त्यसैले ता बाहिरबाट आउने तपाईका साथीहरूका निमित्त मैले थाल, बटुका, गिलास, कप–डिस्क सबै अलगै राखेकी छु। कसैले वासरुम व्यवहार गरे कि मेरो काम बढ्छ। यसैकारण ता म काम गर्ने केटीलाई तीतीनपल्ट कोठा पुछ्न लगाउँछु।

दीर्घ श्वास लिंदै श्रीमानको स्वर प्रक्षेपण–त्यसैकारण ता तिमी राउन्ड द क्लक काम गर्दिरहिछौ होकि?

श्रीमती जवाफ–हेर्नुस् देवालको त्यो चक्कालाई। त्यो नै हाम्रो जीवनको सिग्नल हो।

विरक्तिएको भावमा श्रीमानको स्वर फेरि एकपल्ट प्रेक्षेपण–खै पैसा र रासिन कार्ड देऊ। रासिन लिन जान्छु।

अत्तालिंदै श्रीमती बोलिपठाउँछे–सावधान,सावधान! सेन्टर टेबलको ग्लास टप डिट्याचेबल छ। तपाईको घुँडाले लागेर पल्टियो कि सर्वनाश।

प्रकाशित: २६ माघ २०७८ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App