कला

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका छन्। मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो।

१०२ वर्षीय जोशीलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँको शरीरमा अक्सिजन लेभल घटेपछि कोभिड–१९ को आशंकामा स्वाब संकलन गरी परीक्षण गर्न पठाएका छौं,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भने, ‘निमोनियाको संक्रमण देखिएको हुँदा एन्टिबायोटिक चलाएर उपचार गरिरहेका छौं। हाल उहाँ मेडिसिन विभागका चिकित्सकको निगरानीमा हुनुहुन्छ। तत्काल उहाँको स्वास्थ्य अवस्थालाई लिएर डराउनुपर्ने अवस्था छैन।’

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ २६ गते उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए। छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोलीले उपचार गरेर उनलाई ११ दिनमा डिस्चार्ज गरेको थियो।

प्रेसर, सुगर र दमजस्ता रोग नभएका उनको त्यस बेला सिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। किस्ट अस्पतालले नेपाली समाजमा पुर्‍याएको योगदानको कदर गर्दै जोशी र उनकी श्रीमतीको सम्मानस्वरुप निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्ने निर्णय २०७६ सालमा गरेको थियो।

पछिल्लो समय प्रत्येक महिना चिकित्सकको टोली जोशीको निवास पुगेर स्वास्थ्य जाँच गर्दै आएको थियो। सोही क्रममा उनलाई छातीमा समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। जोशी दम्पतीले गत वर्ष मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए। जोशीको मुहार अंकित १० रुपैयाँको हुलाक टिकट र नेपाल राष्ट्रबैंक टक्सार महाशाखाबाट उनको तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरिएको छ।

प्रकाशित: २६ माघ २०७८ ००:२६ बुधबार

संस्कृतिविद् सत्यमोहन जोशी किस्ट मेडिकल कलेज शिक्षण अस्पताल छातीमा समस्या अस्पताल भर्ना